जेष्ठ नागरिक एवं विद्यार्थीहरुलाई ताम्रकार समाजको सम्मान


बैशाख ६, २०७८, सोमबार | विहान ०५:४० बजे | 25


मातृभाषाको संरक्षण बिना आफ्नो पहिचानको जर्गेना हुन नसक्ने कुरा हालै एक कार्यक्रममा ब्यक्त गरीयो । नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्रकारले ताम्रकार समाजद्वारा आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर जावलाखेलमा आयोजित जेष्ठ नागरिक एवं शैक्षिक सम्मान कार्यक्रममा अहिलेको विद्यार्थी वर्गले आफ्नो पहिचान बचाइ राख्ने हो भने आफ्नो मातृभाषाको रक्षा गर्न सक्नुपर्ने बताउनु भयो । उहांले नेवाःहरुको मुद्दा तथा आन्दोलनमा ताम्रकार समूदायको योगदान उच्च रहेको भन्दै प्रशंशा गर्नुभयो । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले कोरोना भाइरसका कारण समाजबाट स्वर्ण जयन्तीको अवसरमा धेरै कार्यक्रमहरु गर्न नसकिरहेको बताउनुभयो । उहांले अग्रजहरुको त्याग परिश्रम मिहिनेतकै कारण समाजले आफ्नो स्वर्ण जयन्ती मनाउन सफल भएको बताउंदै उहांले भाषा, कला, संस्कृति सम्पदा संरक्षण सम्बद्र्धनमा ताम्रकार समाज सदा लागी परेको बताउनु भयो ।
सो कार्यक्रममा ताम्रकार समाजबाट ज्या जंक्वः (७८ वर्ष) पूरा गरेका करिब ३५ जेष्ठ नागरिकहरुलाई देय् दबूका अध्यक्ष एवं समाजका अध्यक्षले दोसल्ला ओढाई विशेष सम्मान गरीएको थियो । त्यस्तै समाजबाट एस.ई.ई, उच्च मावि, स्नातक, स्नातकोत्तर तह उतीर्ण गर्नुहुने करीब १२५ विद्यार्थीहरुलाई समाजका पूर्व अध्यक्षहरु धर्मकृष्ण ताम्रकार, श्याम गोविन्द ताम्रकार, निवर्तमान अध्यक्ष अच्युत कृष्ण ताम्रकार तथा अध्यक्ष रविन्द्र राज ताम्रकारले ट्रफी, कदर पत्र एवं नगद पुरस्कारबाट सम्मान गरीएको थियो । सो अवसरमा शिक्षा उपसमितिका संयोजक प्रवल ताम्रकार, जेष्ठ नागरिक सम्मान उपसमितिका सदस्य रसन्तलाल ताम्रकारले मन्तव्य राख्नु भएको थियो ।

Comments