चिन्ता
असार ४, २०७७, बिहीबार | दिउँसो ०१:३९ बजे | 105
चिन्ता
आफ्नो सौर्न्दर्यपूर्ण देशभन्दा
विदेश नै राम्रो लाग्छ,
आफ्नो पौष्टिक खानाभन्दा
अरूको बासी सडेका परिकार नै
मीठो लाग्छ,
आफ्नो घरेलु सामग्रीभन्दा
अरूकै सामान मात्रै सजिलो लाग्छ
आफ्नो मौलिक परम्पराभन्दा
अरुको चाडपर्व रमाइलो लाग्छ,
किनकि, उनीहरूलाई
संस्कार सिकाउन जानेनौं ।
हाम्रा सन्ततिलाई किन,
परिश्रममा भन्दा भाग्यमा
विश्वास लाग्छ,
आफ्नो पौरख र बहादुरीमा भन्दा
चमत्कार र जादुमा
भर लाग्छ,
मिहिनेत गरेर कमाउनुमा भन्दा
एकैदिन दशदिनको पारिश्रमिक
भित्र्याउन मन लाग्छ,
किनकि, उनीहरूलाई
हामीले आत्मविश्वास सिकाउन सकेनौं ।
हामी हाम्रा सन्ततिलाई
सिकाउने कुरामा धेरै चुकेका छौं,
अनुशासन दिन जानेनौं
बन्धुत्व सिाउन जानेनौं
स्वार्थी र व्यक्तिवादी बन्न
सिकाइ रहेका छौं,
आधुनिक बनाउने नाउँमा
मानव बन्न होइन
दानव बन्न सिकाइ रहेका छौं ।
चिन्ता लाग्छ मलाई,
भोलि मेरो आफ्नै सन्ततिले
आफ्नो सुखसुविधाका लागि
कतै मेरी आमालाई पो बेचिदिने हुन कि ?
आफ्नो जीवन आवाद पार्न
मेरो सान र मानलाई नै
बन्धकी राखि दिने हुन कि ?
म आशा राख्छु,
भोलि मेरो सन्ततिको मनमा
आफ्नो स्वारथका लागि
डोकोमा राखी
मलाई भीरबाट खसाल्ने
बुद्धि नउब्जियोस् !
बाबुकाजी सुवाल विकेश निराशी’
चाँगुनारायण नपा २, झौखेल, भक्तपुर ।