मासु व्यवसायीहरुको भेला


चैत २६, २०७७, बिहीबार | दिउँसो १२:५६ बजे | 35


भक्तपुर । भक्तपुर नगरपालिका कृषि समिति र बजार अनुगमन समितिको संयुक्त आयोजनामा मासु व्यवसायीहरुको भेला नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षमा बिहिबार सम्पन्न भयो।
प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिस्पर्धात्मक युगमा गुणस्तर बिना व्यवसायीहरु टिक्न नसक्ने बताउनुभयो। उहाँले विस्का जात्रा व्यवस्थित, सभ्य, भव्य र शान्तपूर्वक सम्पन्न गर्नको लागि विधुत, खानेपानी, टेलिकम र रेडक्रस लगायत सरोकारवालाहरुको बैठक राखेको बताउँदै यसले भक्तपुर नगर बाहिरका व्यक्तिहरु गन्यमान्यजनहरुले राम्रो मुल्याङ्कन भई राखेको जानकारी दिनुभयो । उहाँले गलत र बेइमानीपूर्वक कार्य गरे एक पटकलाई मात्र हुने र इमान्दार पूर्वक व्यवसाय संचालन गरे इज्जतका साथ आय आर्जन गर्न सक्ने बताउनुभयो । उहाँले पैसाको निम्ति खराब काम गर्न नहुने बताउँदै जनताको स्वास्थ्यमा खेलवाड कुनै हालतमा गर्न नहुने गरे कानुनी दायरामा ल्याउनु पर्ने हुनाले सकेसम्म त्यस्तो खराब काम नगर्न अनुरोध गर्नु भयो । उहाँले व्यवसायीहरुले सरसफाई, गुणस्तर, तौलमा खुल्ला हृदयले इमान्दारपूर्वक स्वच्छ मासु बेचे विज्ञापन नै त्यहि हुने बताउनुभयो । उहाँले भक्तपुरको विकास निर्माण लगायत स्वास्थ्य र शिक्षामा गरेको कार्यले भक्तपुर अवलोकन गर्न र भेटघाट गर्न आउनेहरुको उदाहरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रम कृषि समिति र अनुगमन समितिका संयोजक एवम् ३ नं वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा भएको कार्यक्रममा उहाँले विस्केट जात्रा नजिकिदैँ गर्दा भोजसंग मासुको खपट बढी हुने भएकोले उपभोक्ताहरुलाई स्वच्छ र स्वस्थ्य मासु खुवाउन अनुरोध गर्नु भयो साथै स्वरोजगारको निम्ति सानो व्यवासय गरिरहेकाहरुलाई ठुलो माछाले सानो माछालाई खान्छ त्यसैले उपभोक्ता र व्यवसायी नङ्ग र मासु जस्तै मिलेर काम गर्नु पर्ने बताउनुभयो ।
कृषि समितिका सदस्य एवम् १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले कोभिड १९ मा जसरी व्यवस्थित रुपमा काम गर्यौं त्यस्तै शिक्षा स्वास्थ्यमा जस्तै मासु व्यवसाय पनि राम्रो बनाउन अनुरोध गर्नु भयो ।
अनुगमन समितिका सदस्य एबम् ६ नं वडाका वडाध्यक्ष हरिराम सुवालले इटापाके मिवा आवास योजनाको गुनोसबारे जानकारी दिनुभयो । कार्यक्रममा अनुगमन समितिका सदस्य रोशनमैया सुवाल र वडा निरिक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नु भएको थियो ।

Comments