मेयर शाक्यले गरे अनुगमन
चैत २२, २०७७, आइतबार | दिउँसो ०३:५२ बजे | 40
करीब १ करोड ८० लाखको लगानीमा निर्माण भैरहेको सुविधासम्पन्न वडा भवनको अवलोकनपछि प्रमुख शाक्यले सामूहिक तस्बिर खिच्दै प्रत्येक वडाको विकास निर्माणका लागि महानगरपालिकाले बजेट पठाउने गरेको र केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो, कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि अनुगमन गरेको जानकारी दिनुभयो । उहाँले यस्ताखाले अनुगमन ३२ वटै वडामा समय–समयमा गर्दै आएका पनि स्मरण गराउनुभयो ।
वडाध्यक्ष लामाले पनि निर्माणाधिन भवनतिर देखाउँदै भन्नुभयो, ‘मेयरज्युकै पहलमा सुविधा सम्पन्न भवन बन्दै छ । अब छिट्टै मयेरज्युलाई नै बोलाएर भव्य उद्घाटन गरेर यही भवनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न आतुर छौँ ।’ लामाले १७ हजार मतदाता रहेको वडा–६ मा करीब १ लाख बढी बसोबास गर्ने भएकाले सेवाग्राहीका लागि निर्माण हुँदै गरेको वडा भवनबाट सुलभ सेवा प्रदान गर्न सकिनेमा आशावादी रहेको बताउनुभयो ।
वडाध्यक्ष लामाको उक्त भनाइपछि मेयर शाक्यले पनि मुस्कुराउँदै भन्नुभयो, ‘हामी निर्वाचित भएर आएपछि सबै जनप्रतिनिधि हौँ, म नेकपा, काँग्रेस वा अरु दल भनेर हेर्दिन । मेरालागि ३२ वटै वडा वरावरी हुन् । चुनावी प्रतिवद्धता अनुसार हाम्रै कार्यकालमा सबै वडाका वडा भवन सुविधा सम्पन्न निर्माण गर्ने अभियान निरन्तर अघि बढेको छ ।’
उहाँले अनुगमनपछि ०७८ असार १५ सम्ममा सम्पन्न गर्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । प्रमुख शाक्यले नगर कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, वडा सदस्यहरु जयराम पुडासैनी, नरेन्द्र कुमार थापा र कमला बयलकोटीले पनि प्रमुख शाक्यसहितको टोली वडा अनुगमनमा आउँदा खुशी लागेको भन्दै यस्ता अवलोकन भ्रमण समय–समयमा हुनुपर्ने बताउनुभयो । ‘यस्ता अनुगमनले वडामा भै रहेका विकास निर्माणका कामलाई दू्रत गतिका साथ अघि बढाउन सहयोग पुग्छ,’ वडा सदस्य श्रेष्ठले भन्नुभयो, ‘ठेकेदारहरुलाई पनि समयमा काम सम्पन्न गर्न दबाव दिन हामीलाई सजिलो हुन्छ ।’
पुरानो वडा भवनमा केहीबेरको चियापानपछि प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले केही महिना अघि मात्रै निर्माण सम्पन्न गरेको अत्याधुनिक महानगर बारुण यन्त्र तथा तालिम केन्द्रका बारेमा चासो व्यक्त गर्नुभयो । अध्यक्ष लामाले महांकाल, चुच्चेपाटीलगायतका स्थानमा पुर्ननिर्माण गर्ने पार्कहरुको अवलोकनपछि बारुण यन्त्र तथा तालिम केन्द्रको भवनको अवलोकनमा जाने तालिका रहेको जानकारी गराउनुभयो ।
त्यही सिलसिलामा प्रमुख शाक्यको टोली चुच्चेपाटी पुग्दा केही स्थानीय मागका पन्तुरा खोल्न तम्तयार देखिए । स्थानीय मध्येका युवा दिवाकर न्यौपानेले प्रमुख शाक्य विकास निर्माणबारे चासो राख्दै आफ्नो टोलसम्म आएकोमा खुशी लागेको बताउनुभयो । उहाँले प्रमुख शाक्य र वडाध्यक्ष लामालाई छेउमै राखेर चुच्चेपाटी, तीनचुले क्षेत्रमा बढी चोरीको घटना हुने गरेको र चोर पत्ता लगाउन समस्या भएको भन्दै सीसी क्यामेराको तत्काल व्यवस्था गर्न आग्रह गर्नुभयो । चुच्चेपाटी पार्क पुननिर्माण गर्नुपर्ने, हरियाली प्रवद्र्धन गर्नुपर्ने जस्ता माग त्यहाँका स्थानीयले राखेपछि प्रमुख शाक्यले पनि आफुसँगै रहनु भएका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापालाई समस्या बारे टिप्न र तत्काल समाधानको प्रयास अघि बढाउन निर्देशन दिनुभयो ।
करीब चार घण्टाको अनुगमनपछि बारुण यन्त्र पुग्दा मध्यान्हको १२ बज्न लागेको थियो । बारुण यन्त्रमा सशस्त्र प्रहरीको सहीको नेतृत्वमा ८ र महानगर प्रहरीको इनिस्पेक्टरको नेतृत्वमा रहेका ५ गरी १३ जनाको कमाण्डमा एउटा ल्याडर, एउटा दमकललगायतले सेवा दिइरहेका रहेछन् । करीब एक घण्टाको अनुगमनका क्रममा प्रमुख शाक्यले सेवा प्रवाहमा देखिएका समस्याका बारेमा जिज्ञासा राख्नुभयो । केही समय त्यहाँका स्टाफलाई हौसला प्रदान गर्न टेनिस पनि खेल्नुभयो ।
त्यसपछि प्रमुख शाक्यको टोली वडा–६ कै भुवलडाँडाको सडक तथा ढल निर्माण र व्लक छाप्ने कार्यको अनुगमनका लागि निस्कियो । करीब १ करोड ८५ लाखको लगानीमा निर्माणधिन उक्त सडकको अनुगमनका क्रममा स्यानीयका गुनासा समेत सुन्न भ्याउनुभयो । ‘लामो समयदेखि हिलो र धुलो खाएर कष्टकरण जीवन भोगिरहेका यहाँका स्थानीयको अवस्था बत्तीमुनीको अध्याँरो जस्तै थियो,’ वडा सदस्य पुडासैनीले भन्नुभयो, ‘अहिले यहाँका स्थानीयको मुहारमा मुस्कान छाएको छ ।’
प्रमुख शाक्यले वडा–६ को अनुगमन अघि वडा–७ को गौरीघाटमा निर्माण भएको मचाका पार्कको पनि अवलोकन गर्नुभएको थियो । करीब २१ लाखको लगानीमा निर्माण भएको सो पार्क निर्माण हुनु अघि त्यहाँका ४ सय ५० घरको फोहोर मिल्काउने डम्पिङ बनेको रहेछ । ११ आना क्षेत्रफलमा रहेको बाल उद्यानको अवलोकनपछि प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गा संरक्षण अभियानमा रहेको भन्दै त्यस्ता जग्गामा पार्क निर्माण गर्ने र हरियाली प्रर्वद्धन गर्ने कार्यलाई जारी राख्ने बताउनुभयो । उहाँले करीब ६ घण्टाको अनुगमनपछि छुट्ने बेलामा दुबै वडाका अध्यक्ष र सदस्यहरुलाई सेवाग्राहीले कुनै पनि गुनासोे गर्ने वातावरण सिर्जना नहोस भन्दै असल जनप्रतिनिधिका रुपमा आफूलाई अब्वल बनाउन आग्रह गर्नुभयो ।