किस्पाङ र म्यागङ गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकपको क्वाटरफाइनलमा प्रवेश
चैत २२, २०७७, आइतबार | दिउँसो ०२:२५ बजे | 85
नुवाकोट । शिवपुरी अध्यक्ष गोल्डकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । आइतबार भएको पहिलो खेलमा म्यागङ गाउँपालिकाले लिखु गाउँपालिकालाई २–१ गोलले पराजित ग¥यो । खेलमा अग्रता भने लिखुले लिएको थियो । मनिष राईले ११ औं मिनेटमा गोल गर्दै लिखुलाई अग्रता दिलाए । तर खेलको २८ औं मिनेटमा अजय वाइबाले र ३९ औं मिनेटमा रबि गुरुङले गोल गरेपछि म्यागङ जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । खेलमा म्यागङका चतुरमान तामाङ म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी आइतबारको दोस्रो खेलमा किस्पाङ गाउँपालिकाले तादी गाउँपालिकालाई १–० ले पराजित गरेको छ । यो जीतसँगै किस्पाङ समूह डि को उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । किस्पाङका लागि एक मात्र गोल खेमान तामाङले ५७ औं मिनेटमा गरे । उनी नै म्यान अफ द म्याच घोषित भए ।
अब क्वाटरफाइनलमा शिवपुरी गाउँपालिका र ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र सुर्यगढी गाउँपालिका, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिका तथा विदुर नगरपालिका र म्यागङ गाउँपालिकाबीच खेल हुनेछ ।