सम्पदा क्षेत्रका अनधिकृत व्यापारिक प्रयोजनबारे पुरातत्वको आलटाल
चैत १७, २०७७, मङ्गलबार | विहान ०६:५५ बजे | 50
काठमाडौँ । विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौँ महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ । ‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्र्यौ तर, उहाँहरुले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापार–व्यवासायीहरुलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ,’ ‘काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख धनपती सापकटाले भन्नुभयो, ‘वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन् । हामीले उहाँहरुले आफै हटाउन मान्नु भएन भने हामी हाम्रो ढंगबाट अघि बढ्छौँ ।’
सम्पदा बचाउने सबै भन्दा जिम्मेवार निकाय पुरातत्व रहेको र विश्व सम्पदा सूचिमा सूचिकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने भन्दैे.(काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) प्रमुखज्युले.नै निर्देशन दिए अनुसार प्रक्रिया अघि बढाएको सापकाटोको भनाई छ । ‘स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको भन्दै प्रमुखज्युले स्थायनीको समेत मागलाई ध्यानमा राखेर अघि बढ्न आग्रह गरेपछि हामीले त्यहाँ माइकिङ गर्दै खाली गर्न आग्रह गरेका हौँ,’ सापकोटाले भन्नुभयो, ‘स्थानीयको समेत माग सम्वोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको र त्यो ताकेतालाई पनि बेवास्था गरेपछि हामी अघि बढेका हौँ ।’
काठमाडौँ महानगरपालिकाकाले यहि माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो । त्यसपछि अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएको थियो ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले काठमाडौँ महानगरपालिकाको प्रयासलाई सकारात्मक रुपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको जानकारी दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाले पठाएको पत्र प्राप्त भएपछि हामीले प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेका छौँ,’ गौतमले भन्नुभयो, ‘त्यो क्षेत्र हनुमान ढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको र पर्यटन सचिव त्यसको प्रमुख हुने भएकाले हामीले उहाँहरुसँग समेत समन्वय गरेर आज–भोलि नै बैठक बसी तत्काल समाधानको प्रयास गर्ने तयारी गरेका छौँ ।’
पुरातात्विक र विश्व सम्पदा सूचिमा रहेको त्यहाँको सम्पत्तिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा काठमाडौँ महानगरपालिकाले लिएको पहल सकारात्मक रहेको भन्दै प्रमुख शाक्यको प्रयासमा समर्थन रहेको जानकारी दिनुभयो । ‘त्यहाँ भएका पसल–कवलमा स्थानीय उत्पादनको प्रर्वद्धन गरी आर्थिकस्तर उकास्नुपर्छ र पुरातात्विक र विश्व सम्पदा सूचिमा रहेका स्थानको संरक्षण गर्नुपर्छ भन्नेमा हाम्रो विमती छैन,’ उहाँले भन्नुभयो, ‘पहिला त्यहाँ केही कमजोरी भएको रहेछ भने पनि सुधार गरेर जानुपर्छ भन्नेमा हामी सकारात्मक छौँ ।’