मेलै भोट हालेर जितेको केन्द्रिय प्रतिनिधि कसरी वैधानिक ?
असार ३, २०७७, बुधबार | विहान ०९:३० बजे | 20
भक्तपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष गौतम सुजखूले आफू अध्यक्ष रहेको जिल्ला कार्यसमिति अवैधानिक हुने तर आफूले भोट हालेर केन्द्रमा जितेको केन्द्रिय एन्फा र त्यसका पदाधिकारी कसरी बैधानिक भयो भनी प्रश्न गरेको छन् । आफनो नेतृत्वको अखिल नेपाल फुटवल संघ (एन्फा) भक्तपुर कार्यसमिति केन्द्र एन्फाले मंगलबार अवैधानिक भनेर विघटन गरेपछि उनले आफूले केन्द्रिय एन्फाको चुनावमा कसरी भोट हाल्न पाएको र त्यो कसरी वैधानिक भयो पनि प्रश्न उठाए ।
उनले केन्द्रको अनियमितता भ्रष्टाचारको कुरा उठाउँंदा प्रतिशोध लिएर जिल्ला कार्यसमितिलाई विघटन गरेको दावी गरे । बुधबार पत्रकारहरुसँंग कुराकानी गर्दै विघटित संघका अध्यक्ष सुजखूले राजनीतिक प्रतिशोध सोध्न आफ्नो अध्यक्षतामा रहेको भक्तपुर कार्यसमितिलाई एन्फा केन्द्रले विघटन गरेको दावी गरे ।
एन्फा केन्द्रमा भएको अनियमितता भ्रष्टाचारलाई यही हप्ता हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगतमा मुद्धा गरेका थियौं, विघटित अध्यक्ष सुजखूले भने, त्यही रिसइवीमा मेरो अध्यक्षतामा रहेको एन्फा भक्तपुरलाई विघटन गरेको हो । उनले एन्फाका विविध अनियमितता भ्रष्टाचारलाई लिएर आफूहरुले अख्तियारमा मुद्धा दर्ता गरेको जनाए ।
यसअघि पनि एन्फा भक्तपुरले खेलकुद मन्त्रालयमा भ्रष्टाचारको विषयमा उजुरी दर्ता गराएको थियो । ‘तर त्यसको छानविनमा खेलकुद मन्त्रीले आफनै मान्छे संयोजक राखी छानविन गराए र भ्रष्टाचारीलाई उन्मुख गराए’, विघटित अध्यक्ष सुजखूले जनाए ।
एन्फा केन्द्रले २०७४ माघ २ गते भएको एन्फा भक्तपुरको चौथौ अधिवेशनलाई पनि अवैध भनेको थियो । ‘त्यहीबेलाको म जितेको अधिवेशनलाई पनि एन्फा केन्द्रले अहिले आएर अवैध भनियो, सुजखूले थपे, जब कि त्यो बेला एन्फा केन्द्रले चार जना केन्द्रिय प्रतिनिधि पठाएर चुनाव गराएको थियो ।’ त्यो बेला एन्फा भक्तपुरको चुनावी अधिवेशनका लागि एन्फा केन्द्रले सञ्जीव मिश्र, रमेश रायमाझी, सुजीव केसी र सुदर्शन देवकोटालाई केन्द्रिय प्रतिनिधिको रुपमा पठाएको थियो ।
मंगलबारको एन्फा केन्द्रको बैठकले गौतम सुजखु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १३ सदस्यीय तदर्थ कमिटीसमेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदनको आधारअनुसार विधान र नियमावली विपरीत कार्य गरेकाले भक्तपुर जिल्ला संघको कार्यसमितिलाई भंग गर्दै तदर्थ कमिटी गठन गरिएको एन्फाले जनाएको थियो । एन्फा विधानको धारा ५४ अनुसार जिल्ला फुटबल संघको वर्तमान कार्यसमिति भंग गरी किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ कमिटी गठन गरिएको एन्फाले उल्लेख गरिएको छ ।