भक्तपुरमा कुकुरहरुको गणणा
चैत १०, २०७७, मङ्गलबार | विहान ०६:५६ बजे | 35
भक्तपुर । मानिसको जनगणणा भए जस्तै कुकुरहरुको पनि गणणा सुरु भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर भक्तपुरमा भने घरघरमा रहेका कुकुरहरुको गणणा सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका वडाहरुबाट कुकुरहरुको गणणा सुरु गरिएको हो । त्यहाँं कुकुरको गणणा कार्यसमेत सम्पन्न भइसकेको छ ।
संकलित तथ्यांक अनुसार यो वडामा मात्र दुई सय २३ वटा कुकुरहरु पालिएका छन् । वडामा भाले कुकुर एक सय १९ र पोथी एक सय चार वटा पालिएको जनाइएको छ । यो वडामा माघ २१ देखि ककुरको तथ्यांक लिन थालिएको थियो ।
सर्वेक्षणको क्रममा १० जातिका कुकुरहरु पालिएको देखिएको सर्वेक्षणमा सहभागी डा प्रणबराज जोशीले बताए । वडामा पालिएका कुल दुई सय २३ कुकुरहरुमध्ये ४३ वटालाई कुकुर धनी आफैंले रेविजविरुद्धको भ्याक्सिन लगाइदिएको पाइएको डा जोशीले सुनाए । बाँंकीमध्ये एक सय ५३ वटालाई आफूहरुले भ्याक्सिन लगाइदिएको डा जोशीले बताए । जोशीले बाँकीमध्ये २७ वटा कुकुर धनीले आफनो कुकुरलाई भ्याक्निसन लगाउन नचाहेको बताए । साथसाथै पाँंच वटा कुकुरलाई बन्ध्याकरण नै गरिदिएको पाइएको जोशीले जनाए ।
भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका वडा अध्यक्ष उकेश कवाँंले ककुरका कारण भक्तपुर नगरबासीलाई रेविजललगायतबाट जोगाउन मद्धत गर्न आफनो वडाबाट कुकुरको तथ्यांक लिन सुरु गरेको बताए । नगरका प्रत्येक घरहरुमा रहेका घरपालुवा कुकुरहरुको नामसहितका सम्पूर्ण तथ्यांक लिएर कुकुरका कारण हुनसक्ने सम्भावित खतराबाट जोगाउन भक्तपुर नगरपालिकाले यो काम थालेको उनले स्पष्ट गराए । नगरमा १० वटा वडाहरु छन् । गल्लीहरुमा हुनसक्ने भुस्याहा कुकुरको नियन्त्रणका लागि पनि कुकुरको गणणा तथा तथ्यांक लिने काम थालेको वडा अध्यक्ष कवाँंले बताए । कुकुरको तथ्यांक लिएपछि अव कसैले घरको कुकुर गल्लीमा छोडेको पाइएको त्यो कसको कुकुर हो भनी थाहा पाएर त्यस्ता व्यक्तिमाथि कारबाही गर्न सकिने भएको उनले उल्लेख गरे । साथै कुकुरले कसैलाई टोके कसको कुकुरले टोकेको हो भन्ने कुरा सजिलै थाहा पाउन सकिने उनी बताउँछन् ।
तथ्यांक संकलनमा जुटेका डाक्टर पंकज खनालले सबै वडाहरुमा तथ्यांक संकलन गरिसकेपछि योजना अन्तर्गत नगरभरिका भुस्याहा कुकुरहरुलाई पनि व्यवस्थापन गर्ने सोच रहेको बताउँछन् । उनले भने, ‘यसपछि कुकुरलाई कसरी पाल्ने, कुकुरको फोहर कसरी व्यवस्थापन गर्ने विषयमा तालिम पनि दिने योजना छ ।’ जिल्लाकै सूर्यविनायकस्थित भेट फर एयर पेट क्लिनिकको सहकार्यमा भक्तपुर नगरपालिकाबाट यो काम भइरहेको उनले जानकारी गराए ।
कुकुरको तथ्यांक संकलनमा जुटेका अर्का डाक्टर मिलन खनालले केही वर्षदेखि सडकमा भएका कुकुरहरुलाई रेविजको सुई लगाउने काम भइरहेको बताए । उनले सडकमा छोडिने कुकुरहरु घरमा पालेर पछि मन नलागेपछि वा अशक्त भएपछि छाड्ने गरिएको बताए । त्यसैले यसवर्ष घरमा पालेका कुकुरहरुको तथ्यांक संकलन गर्ने र ट्याग लगाइदिने कार्य सुरु गरेको उनले बताए । अर्को चरणमा वडा नं ७ पछि भक्तपुर नगरपालिका वडा नम्बर ९ मा यो काम सुरु हुने उनले जनाए ।