चैत मसान्तासम्म पुननिर्माण सम्पन्न हुन्छः मेयर शाक्य


2021-03-19 07:07:20

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा कार्य भैरहेको जानकारी दिएको छ । पोखरीमा केही दिनमै लबालब (टनाटन) पानी भर्ने पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिनुभयो । ‘पोखरी पुननिर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ । केही दिनमै हामी कमलपोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारीमा छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ । अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौ ।’
प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै  उनीहरुलाई डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो । उहाँले पोखरीको बिचमा पनि हल्ला गरे जस्तो कंक्रिटको कमलको फूल नरहेको जानकारी दिनुभयो । पोखरी सत प्रतिशत बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि उहाँले स्मरण गराउनुभयो ।
उहाँले केही व्यक्तिहरुले भ्रम छर्न खोजेको आरोप समेत लगाउनुभयो । शाक्यले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने पनि जानकारी दिनुभयो । ‘पोखरी पुननिर्माण गर्दा पोखरीको आकारमा एक इन्च पनि नमिचिने गरी डिजाइन तयार पारिएको छ,’ ‘पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक  र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका छौँ । हामीले डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएर बनाएका छौँ । संघीय र प्रदेश सांसद तथा स्थानीयको सल्लाह अनुसार नै हामीले कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना भत्काएका हौँ । त्यसकारण पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै हो ।’   
त्यसैगरी शाक्यले काठमाडौँमा मानव निर्मित सम्पदा रहेको भन्दै ती सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्दै आएको पनि स्मरण गराउनुभयो ।  ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान हो,’ उहाँले भन्नुभयो, ‘त्यहि अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको हौँ । यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ ।’
उहाँले आफ्नो कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण सम्पदा निर्माण–पुननिर्माण गर्ने कार्यलाई तिव्रताका साथ अघि बढाइरहेको र  त्यहि अनुरुप मुर्त–अमूर्त सम्पदाको संरक्षण गर्दै अघि बढ्ने कुरालाई प्राथमिकता दिएको उहाँको भनाई छ ।  ‘अहिले धेरै गुठियारले हजारौँ वर्षदेखि संरक्षण गर्दै आएका मूर्त– अमूर्त सम्पदाहरु पनि काठमाडौँ महानगरपालिकाले संरक्षण गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘बहाः, बहिः, पाटी–पौवा, मठ–मन्दिरदेखि जात्रा, चाड–पर्वलाई पनि संरक्षण गरेर अघि बढेको कुरा पनि सबैलाई विदितै छ । त्यो बाहेक पनि सार्वजनिक जग्गाहरुको संरक्षण गरेर हरियाली प्रवदद्र्धन गर्ने कार्य अन्तरगत काठमाडौँ महानगरपालिकाले पार्कहरु निर्माण कार्यलाई पनि अघि बढाइरहेको छ ।’
कतिपय स्थानमा व्यक्तिहरुले अतिक्रमण गरेर व्यक्तिगत रुपमा प्रयोग गरेका जग्गाहरुलाई पनि सार्जजनिक गरेर त्यो ठाउँमा समेत महानगरपालिकाले पार्कहरु बनाई रहेको उहाँले जानकारी दिनुभयो । ‘विगतमा भएका पोखरीहरुलाई समेत संरक्षण गरेर मौलिक रुपमा पुर्ननिर्माण गर्दै रहेक सम्पदालाई पर्यटनसँग जोड्ने अभियानमा हामी लागिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
कसैले व्यक्तिगत स्वार्थ राख्दै अवरोध नगर्ने हो भने यहि चैत भित्रमा पोखरी पुननिर्माणको पहिलो चरण सम्पन्न हुने उहाँले बताउनुभयो ।  ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ,’ उहाँले भन्नुभयो, ‘कमलपोखरीमा केहीले राजनीतिक मिसन चलाउने ढंगले महानगरपालिकाले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्यो भनी आरोप लगाए । म फेरि भन्न चाहन्छु । त्यो आरोप मिथ्या हो । अरुलाई भ्रमित पार्न चलाएको राजनीतिक मिशन बाहेक केही होइन । कंक्रिटको पोखरी बनाउने भन्ने महानगरपालिकाको कुनै योजना छैन र डिजाइनमा पनि त्यस्तो कतै छैन ।’
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेम श्रेष्ठले उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाएको बताउनुभयो ।  करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी महानगरपालिकाको दाबी छ । कमलपोखरी  नौ वटा चैत्य रहने छन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ  । पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी  विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाको तयारी छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *