भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७७ सुरु भएको छ । खेलकुद सप्ताह अन्तर्गत १५ वटा विभिन्न खेलहरु सुरु गरिएका छन् । फुटवल, भलिवल, व्याटमिन्टन, एथलेटिक्स, टेवुलटेनिस, म्याराथुन, कपर्दी, डोरी तान्ने खेल, हाइजम्प, लङजम्पलगायतका १५ वटा खेलकुदहरु सुरु भएका हुन् ।
कलेजका प्राचार्य डा हरिकृष्ण श्रेष्ठले प्रतियोगितामा कलेजका दुई हजार विद्यार्थीहरुको सहभागिता रहने जनाए । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खेलकुद सप्ताह सुरु भएको कलेजले जनाएको छ । विगत वर्षहरुमा १४ वटा वटा प्रतियोगिताहरु हुने गरेकोमा यसवर्ष थप एक वटासहित १५ वटा प्रतियोगिताहरु भएको कलेजको खेलकुद सप्ताह २०७७ का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकललाप शाखाका प्रमुख शंकल्प पोखरेलले बताए ।
[[img2]]
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि दुई वटा समितिहरु गठन गरिएका छन् । कलेज व्यवस्थापन समिति र कलेज सञ्चालक समितिबाट दुई वटा समितिहरु गठन गरिएका हुन् । व्यवस्थापन समितिबाट बनेको समितिमा सोम प्रधान, नरेश खड्का, सन्तोष केसी र दिनेश खनाल रहेका छन् । त्यसैगरी कलेज सञ्चालक समितिबाट बनेको खेलकुद समितिमा संयोजक एसोसियट प्रोफेसर बाबुराम भटराई, सदस्यहरुमा शिक्षक संर्घष समितिका अध्यक्ष एवं एसोसियट प्रोफेसर दुर्गा भण्डारी, कर्मचारी संघर्ष समितिका अध्यक्ष मनोहर खनाल, प्रशाशन प्रमुख श्रीमति श्रीमा शर्मा र सदस्य सचिवमा शंकल्प पोखरले रहेका छन् ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई खेलकुद सप्ताहको अन्तिम दिन पुरस्कार प्रदान गरिने जनाइएको छ । उनीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कलेजका प्राचार्य डा श्रेष्ठले आइतबार विहान रिवन काटेर उदघाटन गर्नुका साथै फुटवल हानेर सप्ताहको शुभारम्भ गरेका थिए ।