भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर


साउन २, २०८३, शनिबार | राति ०७:०० बजे | 1025


भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर

भक्तपुर, साउन २ गते। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित एस.एस. चोकमा शुक्रबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार दिउँसो १२ः३५ बजे एस.एस. कलेजबाट बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँठिमी चोकबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको तीनकुने बस्दै आएका १६ वर्षीय कबिर कार्कीको दिउँसो २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकलमा पछाडि सवार काठमाडौं सिनामंगल बस्ने १९ वर्षीया अलिया विक गम्भीर घाइते भएकी छन्। उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अर्को मोटरसाइकलका चालक खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थायी घर भई हाल भक्तपुर बालकोटमा बस्दै आएका २४ वर्षीय मनिष राई सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। उनी हाल प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेका छन्।

दुवै मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी परिसर, चुनदेवी भक्तपुरको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ

Comments