ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धन बिहीबार
असार ३०, २०८३, मङ्गलबार | राति ०८:५७ बजे | 130
भक्तपुर, असार ३० — भक्तपुरको ऐतिहासिक तथा विश्वप्रसिद्ध ङातापोल्हँ (न्यातापोल) मन्दिरको ३२४औँ वर्षबन्धन बिहीबार विशेष कार्यक्रमका साथ मनाइने भएको छ।
नेपाल संवत् ८२२ आषाढ शुक्ल प्रतिपदा (सन् १७०२) मा निर्माण सम्पन्न भएको पाँचतले ङातापोल्हँ मन्दिर तीन शताब्दीभन्दा बढी समयदेखि प्राकृतिक विपत्ति र विभिन्न भूकम्पको सामना गर्दै आजसम्म पनि अविचलित रूपमा उभिएको छ। यस मन्दिरमा शक्तिकी अधिष्ठात्री देवी सिद्धिलक्ष्मी विराजमान रहेको धार्मिक विश्वास छ।
भोलि मिति २०८३ असार ३१ गते बिहीबार, नेपाल संवत् ११४६ दिल्लाथ्व प्रतिपदा (आषाढ शुक्लपक्ष) का दिन मन्दिरको ३२४औँ वर्षबन्धनका अवसरमा शुभकामना आदान–प्रदान तथा पूजाआजा गरी दिवस मनाइने जनाइएको छ।
मल्लकालीन राजा भूपतिन्द्र मल्लको शासनकालमा निर्माण गरिएको ङातापोल्हँ मन्दिर नेपालको कला, संस्कृति, वास्तुकला तथा इन्जिनियरिङ कौशलको उत्कृष्ट नमुनाका रूपमा परिचित छ। पाँच तलाको यो मन्दिर भक्तपुर दरबार क्षेत्रको प्रमुख आकर्षण मात्र नभई स्वदेशी तथा विदेशी पर्यटकका लागि समेत महत्वपूर्ण गन्तव्य बनेको छ।
स्थानीय संस्कृतिप्रेमी तथा सरोकारवालाहरूले ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धनका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै यस ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा सबै पक्षको साझा दायित्व रहेको बताएका छन्।
तीन सय चौबीस वर्षको इतिहास बोकेको ङातापोल्हँ मन्दिर नेपालको सांस्कृतिक पहिचान, धार्मिक आस्था र परम्परागत वास्तुकलाको अनुपम प्रतीकका रूपमा भविष्यका पुस्तासम्म सुरक्षित रहिरहोस् भन्ने कामनासहित यस वर्षबन्धन मनाइँदैछ।
