मनैदेखि बिरामीको सेवा गर्ने भावना नर्सिङ शिक्षाको मूल आधार


असार ११, २०८३, बिहीबार | दिउँसो १२:३४ बजे | 60


मनैदेखि बिरामीको सेवा गर्ने भावना नर्सिङ शिक्षाको मूल आधार

असार ११

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङ संकायको २३औँ ब्याचमा नयाँ भर्ना भएका नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूले मनैदेखि बिरामीको सेवा गर्ने भावना विकास गर्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले नर्सहरूको शिष्ट व्यवहार, नम्र बोली र सेवामुखी सोचले बिरामीहरू खुशी हुने तथा अस्पताल र स्वास्थ्य संस्थाप्रति जनविश्वास बढ्ने बताउँदै स्वास्थ्य सेवामा प्राविधिक ज्ञानसँगै मानवीय संवेदनशीलता र सेवाभाव उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले नर्सिङ कलेज भक्तपुरका जनताको लामो र कठिन संघर्षको परिणामस्वरूप स्थापना भएको स्मरण गराउँदै यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले योग्य र जिम्मेवार नर्स बनेर समाजको सेवा गर्नुपर्ने बताउनुभयो । “तपाईंहरू राम्रो नर्स बनेर जनताको सेवा गर्न सक्नुभयो भने त्यसले भक्तपुरका जनतालाई खुशी र गौरवान्वित बनाउनेछ,” उहाँले भन्नुभयो ।

प्रमुख प्रजापतिले कुनै पनि काम सहज नहुने भन्दै अध्ययन र पेशागत जीवनमा विभिन्न चुनौती तथा अप्ठेरा अवस्थाहरू आउने उल्लेख गर्दै यस्ता कठिन परिस्थितिमा निराश नभई आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले देश र समाजको विकास अरू कसैले गरिदिने नभई हामी आफैले जिम्मेवारीबोधका साथ काम गरेर सम्भव हुने बताउँदै “देश र समाज बनाउने जिम्मेवारी हाम्रो आफ्नै हो भन्ने भावना लिएर काम गर्नुपर्छ,” भन्नुभयो ।

आत्मनिर्भरता नै सम्मानपूर्ण जीवन र समुन्नत समाज निर्माणको आधार भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले सीप, ज्ञान र मेहनतका माध्यमबाट आत्मनिर्भर बन्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । साथै उहाँले विदेशीको सेवा गर्ने उद्देश्यले मात्र अध्ययन नगरी आफ्नै देश, आफ्नै माटो र आफ्नै समुदायको सेवा गर्ने भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नर्सिङ पेशा केवल रोजगारीको माध्यम नभई मानव सेवाको उत्कृष्ट क्षेत्र भएकाले विद्यार्थीहरूले अनुशासन, लगनशीलता र सेवाभावलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कलेजका प्राचार्य डा. रत्नसुन्दर लासिवाले विद्यार्थीहरू संस्थाका वास्तविक राजदूत भएको उल्लेख गर्दै नर्सिङ शिक्षामा प्राविधिक दक्षतासँगै व्यवहारिक ज्ञान र सकारात्मक आचरणको पनि उत्तिकै महत्व रहेको बताउनुभयो। अध्ययनका क्रममा कुनै समस्या वा जिज्ञासा उत्पन्न भए लुकाएर नराखी सम्बन्धित निकाय वा शिक्षकसँग खुलस्त रूपमा राख्न उहाँले सुझाव दिनुभयो।

त्यसैगरी, नर्सिङ विभाग प्रमुख इश्वरी डंगोलले नर्सिङ पेशामा सेवाभावसँगै अनुशासन, नैतिक आचरण तथा प्रभावकारी सञ्चार सीप अपरिहार्य हुने बताउनुभयो। उहाँले सैद्धान्तिक अध्ययनपछि प्रयोगात्मक अभ्यासका लागि विभिन्न अस्पतालमा जानुपर्ने भएकाले विद्यार्थीहरूलाई कलेजमा नियमित उपस्थित भई अध्ययनमा सक्रिय रहन आग्रह गर्नुभयो।

कार्यक्रममा शिक्षिका मुना लवजुले समेत बोल्नुभएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

मनैदेखि बिरामीको सेवा गर्ने भावना नर्सिङ शिक्षाको मूल आधार

Comments