१२ औ विश्व योग दिवसको पहिलो समीक्षा बैठकबाट राष्ट्रिय योग शिक्षा परिषद् गठनको सिफारिस


असार ११, २०८३, बिहीबार | विहान ११:१२ बजे | 45


१२ औ विश्व योग दिवसको पहिलो समीक्षा बैठकबाट राष्ट्रिय योग शिक्षा परिषद् गठनको सिफारिस

काठमाडौं, असार

नबराज काफ्ले

१२ औं विश्व योग दिवसको सफल आयोजनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले नेपालको इतिहासमा पहिलोपटक १२ औ विश्व योग दिवस कार्यक्रमको विधिवत् समीक्षा बैठक आयोजना गरेको छ। मन्त्रालयका सहसचिव शिव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले आगामी दिनहरूमा नेपालमा योग प्रवर्द्धनलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले गरेका निर्णय अनुसार, आगामी आर्थिक वर्षदेखि राष्ट्रिय योग दिवसमा सरकार नेतृत्वमा र संस्था सहजीकरणमा रही कार्यक्रम सञ्चालन गरिनेछ । विश्व योग दिवस, विश्व ध्यान दिवस र आरोग्य दिवसजस्ता अन्य दिवसहरूमा भने संस्था नेतृत्वमा र सरकार सहजीकरणमा रहने व्यवस्था मिलाइनेछ । सरकारको नेतृत्वमा मनाइने राष्ट्रिय कार्यक्रमको तालिकासँग जोडिएर अन्य संस्थाहरूले समानान्तर रूपमा आ-आफ्नै कार्यक्रम सञ्चालन गर्ने व्यवस्था पनि सुनिश्चित गरिनेछ। साथै आगामी दिनमा राष्ट्रिय समारोह बढीमा दुई घण्टाको, बढीमा पाँचवटा प्रदर्शन र भरमग सामूहिक प्रदर्शन गर्ने गरी कार्यक्रम तय गर्ने निर्णय पनि भएको छ। यसैगरी राष्ट्रिय योग शिक्षा परिषद् गठन गर्न मन्त्रालयलाई विधिवत् सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। आगामी वर्षको राष्ट्रिय योग दिवसको मूल समारोह तयारीका लागि समिति गठन गरी सो समितिका सदस्यहरूलाई सिंहदरबार प्रवेशका निमित्त अस्थायी प्रवेशपत्र प्रदान गर्ने व्यवस्था मिलाइनेछ । १२ औं विश्व योग दिवसमा सहभागी संस्थाहरूलाई पनि प्रशंसापत्रको व्यवस्था गर्ने तथा मूल समारोहमा प्रयोग गरिएका तीनवटा ब्यानर योगिक संस्थाहरूको साझा सञ्जाललाई हस्तान्तरण गर्ने निर्णयहरू पनि बैठकले एकमतले पारित गरेको छ। बैठकमा योग, ध्यान र आरोग्य क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैठकको समापनमा योग ध्यान आरोग्य सञ्जाल नेपालका महासचिव नबराज काफ्लेले उपस्थित सबै सहभागी तथा मन्त्रालयका अधिकारीहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यस्तो समीक्षा बैठक नेपालको इतिहासमा पहिलोपटक आयोजना हुनु आफैंमा एक ऐतिहासिक उपलब्धि भएको बताए । उनले राष्ट्रिय योग शिक्षा परिषद् गठनको निर्णयलाई विशेष रूपमा स्वागत गर्दै यो कदमले नेपालमा योग शिक्षालाई संस्थागत एवं मानकीकृत बनाउने दिशामा निर्णायक भूमिका खेल्ने दृढ विश्वास व्यक्त गरे। उल्लेखनीय छ कि नेपालले सन् २०१५ देखि प्रत्येक वर्ष विश्व योग दिवस मनाउँदै आएको छ, तथापि यस वर्ष पहिलोपटक कार्यक्रमको विधिवत् समीक्षा बैठक आयोजना गरिनु सरकार र योग क्षेत्रबीचको सहकार्यको नयाँ र सकारात्मक अध्यायको सूचना मानिएको छ।

Comments