भैरव अर्याल उर्फ हास्यव्यङ्ग्य’ को लोर्कापण
असार ७, २०८३, आइतबार | साँझ ०५:५३ बजे | 90
असार ०७, काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा कल्पतरु प्रज्ञा प्रतिष्ठनद्वारा प्रकाशित कृति ‘भैरव अर्याल उर्फ हास्यव्यङ्ग्य’ को आइतवार राजधानीमा लोर्कापण गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल लगायतले संयुक्त रुपमा कृतिको विमोचन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले साहित्यको विकासबाट मात्र सभ्य समाजको निर्माण गर्न सकिने भन्दै गोकर्णेश्वर नगरपालिकाले साहित्यलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । अन्य पालिकाहरूले समेत साहित्यको विकासका लागि गोकर्णेश्वर नगरपालिकाको सिको गर्न थालेकोमो आफूलाई गर्वबोध भएको उहाँले बताउनुभयो । विमोचित कृतिको समीक्षा गर्दै साहित्यकार कालिकाप्रसाद तिमल्सिनाले लोर्कापित कृतिले भैरव अर्याललाई अझ जीवन्त बनाएको बताउनुभयो । अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेले लगायतले हास्यव्यङ्ग्य साहित्यमा भैरव अर्यालको नाम अजर अमर रहेको धारणा राख्नु भयो । प्रतिष्ठानका उपाध्यक्ष डा. विदुला घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार देविका तिमिल्सिनाले भैरव अर्यालको स्मृतिमा महत्वपूर्ण ग्रन्थ तयार पारी प्रतिष्ठानले महत्वपूर्ण कार्य गरेको टिप्पणी गर्नुभयो । प्रतिष्ठानका सदस्य सचिव राजन पुडासैनीले भैरव अर्यालका हास्यव्यङ्ग्य अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । लोर्कापित कृतिमा कञ्चन पुडासैनी, रोचक घिमिरे, मधुवन पौडेल, रामकुमार पाँडे, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, बाजुराम पौडेल, निर्मल अर्याल लगायतको रचना समाविष्ट छन् ।
