हात्तीवनमा देशका विशिष्ट विज्ञहरुको ऐतिहासिक भेला : "हाम्रो नेपाल हाम्रो गौरव"को अभियान थालनीमा एकमत
असार ७, २०८३, आइतबार | दिउँसो ०१:१९ बजे | 50
नबराज काफ्ले
ललितपुर, असार ०६ गते
नेपालको मौलिक पहिचान जोगाउँदै आरोग्य र आत्मनिर्भर अर्थतन्त्र सहितको समृद्ध राष्ट्र निर्माण गर्ने दृढ संकल्पका साथ देशका विभिन्न क्षेत्रका विशिष्ट विज्ञ, अनुभवी नेता र सामाजिक अभियन्ताहरू शनिवार ललितपुर महानगरपालिका वडा नं. १५ स्थित भेल्पा नगर विकास, हात्तीवनमा एकत्रित भए । पूर्व उपप्रधानमन्त्री तथा गृह एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको संयोजनमा आयोजित"नेपालको मौलिक पहिचान,आरोग्य नेपाल र आत्मनिर्भर नेपाल निर्माणका विभिन्न आयाम" विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमले "हाम्रो नेपाल हाम्रो गौरव" नामक राष्ट्रव्यापी अभियानको प्रारम्भिक आधारशिला खडा गर्यो । कार्यक्रममा योग तथा ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, जैविक तथा प्राकृतिक कृषि, नेपालको मौलिक प्रविधि र घरेलु उत्पादनको रक्षा, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, बाँझो रहित नेपाल निर्माण,आहार तथा भान्छा सुधार, पढ्दै कमाउँदै अभियान र विशिष्ट महत्त्वका समाज सेवा अभियान लगायत विविध विषयमा गहन छलफल भयो । सहभागीहरूले आ–आफ्नो सम्बन्धित क्षेत्रमा हाल भइरहेका कार्यहरू र भावी योजना, राज्यको यस सम्बन्धमा विद्यमान नीति तथा कार्यक्रमप्रति अपेक्षा र प्रस्तावित समन्वयात्मक अभियानका लागि ठोस सुझावहरू प्रस्तुत गरे । कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेल, डा. हरि प्रसाद पोख्रेल, एलपी भानु शर्मा, आनी छोईङ् डोल्मा,डा. चिन्तामणी गौतम, डा. भानु पोख्रेल, प्रा. डा. देव बहादुर रोका क्षेत्री, डा. निर्मल भुसाल, डा. अविश्राम गुरागाई,दिपक प्रकाश बास्कोटा, डा. जनक बहादुर वस्नेत, राम्जी अधिकारी,नबराज काफ्ले, गुरुदेव ओशो अखण्ड, रोमलाल पुरी, कृष्णचन्द्र महर्जन, डा. डिके, उचिता महर्जन, युक्त प्रसाद भेटवाल, डा. उमेश श्रेष्ठ, सोविता सिम्खडा, निराजन भण्डारी, देवप्रकाश त्रिपाठी, कविता दाहाल,कृष्ण प्रसाद पौडेल, नारायण प्रसाद सिग्देल र धन बहादुर श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहयो । उल्लेखित सबै महानुभावहरू लामो समयदेखि आ-आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका अनुभवी र समर्पित व्यक्तित्व हुन् । अभियानको मूल लक्ष्यबारे स्पष्ट पार्दै पूर्व मन्त्री गिरिराजमणी पोख्रेलले भन्नुभयो-"अहिले विभिन्न स्वरूपमा सञ्चालित अभियानहरूलाई अझ प्रभावकारी र विस्तारित रूपमा सञ्चालन गर्ने र त्यसका लागि सबैले एक अर्कालाई सुझाव, सहयोग र संलग्नताका माध्यमबाट मद्दत गर्ने सहमति भएको छ ।" उहाँले थप्नुभयो कि राज्य र सरकारलाई यस सम्बन्धमा सकारात्मक नीति, योजना र कार्यक्रम बनाउन संगठित रूपमा अनुरोध, सुझाव र आवश्यक दबाब दिने र राज्यले नै यी विषयलाई प्राथमिकताको कार्यसूचीमा राख्ने वातावरण सिर्जना गर्न सरकारसँग समन्वय गर्ने कार्य यस अभियानको अभिन्न अंग हुनेछ । कार्यक्रम संयोजक नारायणकाजी श्रेष्ठले सबै सहभागीले राखेका विचार र सुझावहरू समेट्दै भन्नुभयो- "जनस्तरमा व्यापक सुसूचना, जागरण र प्रचार अभियान सञ्चालन गरी नेपाली समाजलाई नै यस दिशामा व्यावहारिक रूपमा अभिमुख गराउनु आजको आवश्यकता हो ।" नेपाललाई मौलिक पहिचान, आरोग्य एवं आत्मनिर्भर अर्थतन्त्र सहितको समृद्ध र समुन्नत राष्ट्र बनाउन योगदान गर्नु नै यस सम्पूर्ण अभियानको केन्द्रीय उद्देश्य रहेको उहाँको भनाइ थियो । योग ध्यान आरोग्य सञ्जाल नेपालका महासचिव नबराज काफ्लेले यस कार्यक्रमलाई "अत्यन्तै उपलब्धिमूलक" भएको बताउनुभयो । देशको स्वास्थ्य, संस्कृति र आत्मनिर्भरताका क्षेत्रमा दशकौँ देखि कार्यरत विशिष्ट व्यक्तित्वहरू एकै मञ्चमा आएर एकीकृत अभियानको संकल्प गर्नु आफैंमा ऐतिहासिक महत्त्वको घटना भएको उहाँको भनाइ थियो । कार्यक्रमको अन्तमा सबै सहभागीहरूले "हाम्रो नेपाल हाम्रो गौरव" अभियान थालनी गर्ने विषयमा एकमत भई एकताबद्धता प्रदर्शन गरे । योग, आयुर्वेद, प्राकृतिक चिकित्सा, जैविक कृषि र सांस्कृतिक सम्पदा-यी सबै आयामलाई एकीकृत राष्ट्रिय अभियानमा समेट्ने यो संकल्पले नेपालको मौलिक पहिचान, परम्परागत ज्ञान र जनशक्तिलाई केन्द्रमा राखी समाजका सबै तहमा सकारात्मक परिवर्तन ल्याउने नयाँ अध्यायको सुरुआत गरेको छ ।
.jpg)