नपुखु छेउमा मेला सुरुः भोलिसम्म चल्ने
असार ६, २०८३, शनिबार | साँझ ०४:०६ बजे | 120
भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना, भक्तपुर पर्यटन विकास समितिको सहकार्य तथा ‘गो लोकल’ अभियानको संयोजनमा असार ६ र ७ गते भक्तपुर नगरपालिका–२ स्थित नःपुखु परिसरमा सम्पन्न “हेरिटेज मार्केट एण्ड कल्चरल किचेन” मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन नगर प्रमुख प्रजापतिले गमलामा पानी हालेर गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीय स्रोत, साधन र सीपमा आधारित घरेलु उत्पादनलाई प्राथमिकता दिन सके रोजगारीका अवसर वृद्धि हुने, युवाहरू आत्मनिर्भर बन्ने तथा वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरूको संख्या समेत घटाउन सकिने बताउनुभयो ।
उहाँले घरेलु उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि मेला, उत्सव तथा प्रदर्शनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले स्थानीय उत्पादनलाई व्यापक रूपमा चिनाउन सहयोग पुग्ने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले विभिन्न विषयमा युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आएको र तःकाः, तपुली, जुजु धौलगायत स्थानीय उत्पादनको राष्ट्रिय सूचिकरण प्रक्रियालाई अगाडि बढाएको जानकारी दिनुभयो ।
उहाँले ताइचिन च्युरा, हाकुपतासीलगायत स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि नगरपालिकाले घरेलु उद्योग व्यवसायीहरूसँग समन्वय र सहकार्य गर्दै आएको पनि बताउनुभयो । साथै घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले सहुलियत ब्याजदरमा ऋण तथा अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै भक्तपुर नगरपालिकाले सीपमूलक तालिमसँगै युवा उद्यमशीलता ऋण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो भने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रममा घरेलु उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फाेटाेमा हेर्नुहाेस्...
