सिद्धापोखरीमा स्काउटद्वारा वृहत् श्रमदान
असार ६, २०८३, शनिबार | विहान ११:४७ बजे | 100
भक्तपुर, असार ५ – नेपाल स्काउटको ७५ औँ स्थापना दिवस तथा सिथी नखा: पर्वको अवसरमा भक्तपुरस्थित सिद्धापोखरीमा वृहत् श्रमदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल, प्रसादी, समता र जोरपाटी स्काउट ट्रूपको संयुक्त आयोजनामा तथा स्काउट मास्टर जीवन सुवालको संयोजनमा आयोजित कार्यक्रममा ६२ जना स्काउट र ८ जना स्काउट मास्टरको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सिद्धापोखरी परिसरको सरसफाइ गर्दै सार्वजनिक सम्पदाको संरक्षण तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ श्रमदान गरेका थिए। कार्यक्रममा बोल्दै स्काउटर निर्जला प्रजापतीले स्काउटले युवाहरूमा सेवा, अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने बताउँदै यस्ता गतिविधिले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल स्काउट जिल्ला संयोजक पवन कुमार बलले नेपाल स्काउटको ७५ वर्षे गौरवपूर्ण यात्राको चर्चा गर्दै सामाजिक सेवा र वातावरण संरक्षणमा स्काउटको योगदान उल्लेख गर्नुभयो। उहाँले सार्वजनिक सम्पदाको संरक्षणमा युवाहरूको सहभागिता अपरिहार्य रहेको बताउनुभयो। त्यसैगरी हरि गोविन्द श्रेष्ठ,सोहन रन्जित, रुबिना छुस्यावाग र सुलोचना प्रजापतीले सिथी नखा: पर्वले पानीका स्रोत, पोखरी तथा सार्वजनिक सम्पदाको संरक्षण गर्ने सन्देश बोकेको उल्लेख गर्दै सिद्धापोखरीमा गरिएको श्रमदान कार्यक्रम समयानुकूल र उदाहरणीय रहेको बताउनुभयो। कार्यक्रमका संयोजक जीवन सुवालले स्थापना दिवस र सिथी नखा: पर्वलाई सेवामूलक कार्यमार्फत मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले वातावरण संरक्षण र सामाजिक सेवाका क्षेत्रमा स्काउटहरूको भूमिका थप प्रभावकारी बन्दै गएको बताउनुभयो। सहभागीहरूले श्रमदानमार्फत स्वच्छ वातावरण निर्माण, सार्वजनिक सम्पदाको संरक्षण तथा समुदायप्रति आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले समाजमा सरसफाइ, वातावरण संरक्षण र सेवाभावको सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
