भक्तपुरका यी व्यक्तिहरु सहकारी ठग हुन् ? छानविनको माग
जेठ ३१, २०८३, आइतबार | राति १०:३० बजे | 230
भक्तपुर । सहकारी ठगको आरोप केही वर्षयता धेरैको टाउकोमाथि छ । तर भक्तपुरका ७ जना समाजसेवी व्यवसायीहरुलाई भने यसमा नखाएको विषय लागेको छ । कुनै सहकारी संस्थाको सञ्चालक, सदस्य वा ऋणीसमेत नभएका उनीहरु सहकारी ठगको आरोप खेप्न बाध्य भएका छन् ।
उनीहरुका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हिमालयन बचत तथा ऋण सहकारी संस्थामा ठगिएका बचतकर्ताको रकम फिर्ता गराउन पहल थालेका थिए । बचतकर्ता, सहकारी सञ्चालक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाबीच संवाद गराई रकम फिर्ताको वातावरण बनाउन सहयोग गरेका थिए उनीहरुले । तर यसकै आधारमा उनीहरुमाथि सहकारी ठगको आरोप लागाउन थालेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा बदनाम गराउने अभियानको सिकार बनेका छन् अहिले उनीहरु । सञ्चालक पनि स्थानीय नै अनि वचतकर्ता पनि स्थानीय नै भएकाले स्थानीयवीचको समस्या समाधानका लागि आफूहरुले सहजकर्ताको भूमिका खेलेको उनीहरुको भनाई छ । सहकारीमा बचतकर्ताको रकम फिर्ता हुन नसकेको अवस्थामा स्थानीयस्तरमा समस्या समाधानका लागि केही आफूहरूले सहजीकरणको भूमिका निर्वाह गरेको उनीहरुले बताए ।
सहकारी ठगको आरोप खेपेका सातमध्येका एकजना नवीन प्रजापतिका अनुसार एक वर्ष अगाडि आफू भक्तपुर उद्योग वाणिज्य संघको महासचिव हुँंदा संघले उक्त सहकारीको वचतकर्ताको रकम फिर्ताका लागि सहजीकरण गरिदिने भूमिकामा रहन आफूलाई पत्र दिइएको थियो । संघको त्यही पत्र र निर्देशनको आधारमा आफूले त्यहाँं विना स्वार्थ सहजकर्ताको भूमिका निभाइरहेको तर पछिल्ला समय यही कारण आफू सहकारी ठगको पगरी पहिरिन बाध्य भएका प्रजापतिले सुनाए । आज आइतबार विहान पनि उठन पाएको थिएन, एकजना शुभचिन्तक घरमै पुगेर के भएको हो भनेर चिन्ता व्यक्त गर्न आए, उनले भने, मैले सहजकर्ताको भूमिका निर्वाह गर्दा धेरैजनामा मैले सहकारी ठगेको हो कि भन्ने सन्देश गइरहेको छ ।
यही कारण प्रजापतिसहितका सातै जना पीडितहरूले जिल्ला प्रहरी परिसर भक्तपुरमा आफूहरुलाई सहकारी ठगको विल्ला भिराउनेमाथि कारबाही गर्न संंयुक्त निवेदन हालेका छन् । उनीहरुले दिएको निवेदनअनुसार उनीहरू कुनै पनि सहकारी संस्थाका सञ्चालक, कर्मचारी वा सदस्य नभएर सामाजिक उत्तरदायित्वका आधारमा मात्रै सहजीकरणमा संलग्न भएका थिए । बचतकर्ताको पीडा सम्बोधन गर्न विभिन्न पक्षसँग समन्वय गरी रकम फिर्ताको प्रक्रिया अगाडि बढाउन भूमिका खेलेका थिए । तर पछिल्लो समय केही अपरिचित व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत उनीहरूलाई नै ‘ठग’ को संज्ञा दिँदै फोटोसहित अपमानजनक सामग्री सार्वजनिक गर्न थालेको निवेदनमा उल्लेख गरिएको छ । यस्ता गतिविधिबाट उनीहरूको सामाजिक प्रतिष्ठा र व्यवसायिक छविमा नकारात्मक असर परेको भन्दै कानुनी कारबाहीको माग उनीहरुले गरेका छन् ।
निवेदकहरूको भनाइमा सहकारी पीडितलाई राहत दिलाउने उद्देश्यले गरिएको प्रयासलाई गलत रूपमा प्रचार–प्रसार गरी व्यक्तिगत चरित्रहत्या गर्ने काम भएको छ । उनीहरूले सामाजिक सद्भाव खलबल्याउने र तथ्यहीन आरोप लगाउने व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान तथा कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेका छन् ।
यसरी अनुरोध गर्नेहरुमा नवीन प्रजापतिसहित राजेन्द्रप्रसाद प्रजापति, रोशन भोयद्य, सुरेन्द्र प्रजापति, जितेन्द्र खायमली, शिव अवाल र नरेन्द्र सैंजू रहेका छन् ।
सहकारी संकटका कारण हजारौं बचतकर्ता प्रभावित भइरहेका बेला रकम फिर्ताका लागि मध्यस्थता र सहजीकरण गर्ने व्यक्तिहरूमाथि समेत आरोप–प्रत्यारोप बढ्न थालेको यो घटनाले समस्या समाधानभन्दा विवाद थप जटिल बन्न सक्ने सरोकारवालाहरूको भनाइ छ ।
