नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, निष्पक्ष छानबिनको माग


जेठ ३१, २०८३, आइतबार | राति ०८:३८ बजे | 75


नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, निष्पक्ष छानबिनको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले विदेशमा अध्ययनरत एक नेपाली छात्राको रहस्यमय मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका तर्फबाट प्रवक्ता क. कञ्चीरले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तिमा नेपाली नागरिकको जीवन सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै विदेशमा अध्ययन तथा रोजगारीका सिलसिलामा रहेका नेपालीहरू असुरक्षित बन्नु दुःखद भएको बताइएको छ। पार्टीले मृतक छात्राप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

माओवादीले घटनालाई सामान्य रूपमा लिन नसकिने भन्दै मृत्युसम्बन्धी सम्पूर्ण तथ्य सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, विदेशमा रहेका नेपाली विद्यार्थी तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारलाई प्रभावकारी पहल गर्न समेत माग गरिएको छ।

पार्टीले नेपाली जनताको जीवन र सुरक्षाको विषयमा सदैव संवेदनशील रहने उल्लेख गर्दै सत्य तथ्य बाहिर ल्याउन तथा दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायमाथि दबाब सिर्जना गरिने जनाएको छ। उक्त विज्ञप्तिमा नेपाली नागरिकमाथि हुने अन्याय, विभेद र असुरक्षाका घटनाविरुद्ध पार्टी निरन्तर आवाज उठाइरहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

Comments