लायन्स क्लब अफ काठमाडौ स्प्रीचुअलद्वारा ३३ पाउण्ड रगत संकलन


जेठ ३१, २०८३, आइतबार | राति ०९:३२ बजे | 120


लायन्स क्लब अफ काठमाडौ स्प्रीचुअलद्वारा ३३ पाउण्ड रगत संकलन

काठमाडौ, ०८३ जेष्ठ ३१

राजधानीको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय आइतबार 'मानवीय सेवा' को केन्द्र बन्यो । २२ औं विश्व रक्तदाता दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौं स्प्रिचुअलले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ पाउण्ड रगत संकलन भएको छ । ‘मानवताको एक थोपा, रक्तदान गरौं जीवन बचाऔं’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमकी प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य समिक्षा बास्कोटाले रक्तदानको महत्वबारे चर्चा गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले मानवीय सेवामा लायन्स क्लबले विश्वभर नै एउटा छुट्टै पहिचान बनाएको र यस्ता कार्यक्रमले समाजमा भाइचारा र सेवाको भाव जगाउने बताउनुभयो । कार्यक्रमको सञ्चालन गर्दै क्लबका सचिव नबराज काफ्लेले रक्तदानको महत्व र प्राविधिक पक्षबारे आफ्नो मन्तव्य राख्नुभएको थियो । उहाँले भन्नुभयो:-"हामीले संकलन गरेको यो ३३ पाउण्ड रगत केवल रगत मात्र होइन, यो ३३ जनाको उदारता र सयौँको जीवन बचाउने आशाको किरण हो । हाम्रो सानो प्रयासले कसैको रित्तिन लागेको संसार जोगिन्छ भने त्यो नै साँचो स्प्रिचुअलिटी (आध्यात्मिकता) हो।" उहाँले कार्यक्रमको व्यवस्थापन र सञ्चालनमा सक्रिय भूमिका निभाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष एवं लायन्स क्लब अफ काठमाडौं स्प्रिचुअलका अध्यक्ष नारायण प्रसाद अधिकारीले सबैलाई धन्यवाद दिँदै मानवीय सेवामा क्लब सधैं तत्पर रहने बताउनुभयो । त्यस्तै, प्रथम उपाध्यक्ष वैकुण्ठ पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य प्रष्ट पार्नुभएको थियो । योगमाण्डु र श्री रत्न पुस्तकालयको विशेष सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा डा. आनन्द गैरे,योगमाण्डुका सन्चालक अर्जुन रखाल मगर, लायन्स लिडर गोकुल प्रसाद प्रजापति एवम अग्नीबिलास अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा उपस्थित रक्तदाताहरूलाई उनीहरूको अमूल्य योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । देशभर विभिन्न कार्यक्रमका साथ विश्व रक्तदाता दिवस मनाइरहँदा बानेश्वरमा भएको यो कार्यक्रमले 'सेवा नै धर्म हो' भन्ने भावनालाई थप चरितार्थ गरेको सहभागीहरूले बताए ।

फाेटाेमा हेर्नुहाेस्...

लायन्स क्लब अफ काठमाडौ स्प्रीचुअलद्वारा ३३ पाउण्ड रगत संकलन

Comments