वैदेशिक रोजगार क्षेत्रमा व्यापक सुधारको माग : केशव प्रसाद बास्तोलाको १६ बुँदे प्रस्ताव
जेठ ३१, २०८३, आइतबार | राति ०९:५५ बजे | 310
काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा श्रमिकको अधिकार, सुरक्षा र पारदर्शितालाई सुनिश्चित गर्नुपर्ने माग गर्दै केशव प्रसाद बास्तोलाले १६ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्।
बास्तोलाले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा सम्बन्धित सरकारी निकायको मान्यता र नेपालमै सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने, श्रमिकको मानवअधिकार तथा श्रमिक अधिकारको पूर्ण ग्यारेन्टी हुनुपर्ने र श्रमिकको भिसा नेपालबाटै जारी हुने व्यवस्था अनिवार्य गर्नुपर्ने माग गरेका छन्।
उनले वैदेशिक रोजगारमा जाने सबै श्रमिकको जीवन, स्वास्थ्य, काम गर्ने वातावरण र सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्ने तथा न्यूनतम तलब, कामको समय, साप्ताहिक बिदा, ओभरटाइमलगायतका सुविधाहरू श्रम सम्झौतामै स्पष्ट उल्लेख हुनुपर्ने बताएका छन्।
बास्तोलाले विदेश जानुअघि सीपमूलक तालिम, भाषा तालिम र कानुनी सचेतना कार्यक्रम अनिवार्य गर्नुपर्ने, म्यानपावर कम्पनीमार्फत हुने ठगी, शोषण तथा नियम उल्लङ्घनविरुद्ध कडा अनुगमन र कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। विदेशमा समस्यामा परेका श्रमिकका लागि सक्रिय दूतावास, श्रम सहचारी र २४ घण्टा आपतकालीन सेवा उपलब्ध गराउनुपर्ने उनको माग छ।
उनले स्वास्थ्य, दुर्घटना र मृत्यु बीमा अनिवार्य गरी दाबी प्रक्रिया सरल बनाउनुपर्ने, अवैध शुल्क पूर्ण रूपमा निषेध गरी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने तथा रोजगारदाताले श्रमिकको पासपोर्ट, करारपत्र तथा अन्य व्यक्तिगत कागजात नियन्त्रणमा राख्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने बताएका छन्।
महिला श्रमिकको सुरक्षालाई विशेष प्राथमिकता दिँदै बास्तोलाले कुवेत, बहराइन, साउदी अरेबिया, कतार, क्रोएसिया लगायतका देशमा घरेलु कामका लागि जाने महिलाले आफ्ना श्रीमानसँगै जान पाउने व्यवस्था हुनुपर्ने, अन्यथा त्यस्ता श्रमिक पठाउने कार्य रोक्नुपर्ने माग गरेका छन्। साथै लैङ्गिक हिंसा, यौन शोषण, मानसिक तथा शारीरिक दुर्व्यवहारविरुद्ध विशेष सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ छ।
स्वदेश फर्केका श्रमिकका लागि पुनःएकीकरण कार्यक्रम, रोजगारी, सीपको उपयोग तथा लगानीका अवसर सिर्जना गर्नुपर्ने र वैदेशिक रोजगारसम्बन्धी नीति, नियम तथा सम्झौता निर्माणमा श्रमिक, पीडित र सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि बास्तोलाले गरेका छन्।
केशव प्रसाद बास्तोलाले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, पारदर्शी र श्रमिकमैत्री बनाउन सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाले आवश्यक सुधार र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
.jpg)