प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-अब सुधारको अभियान सुरु गर्छौँ
जेठ २६, २०८३, मङ्गलबार | राति ०७:४७ बजे | 170
नबराज काफ्ले
भक्तपुर, जेष्ठ २६
"हाम्रो रहर सफा र स्वच्छ शहर"- यही मूल नाराका साथ चाँगुनारायण नगरपालिका वडा नं. २ को कार्यालयले मंगलबार दुवाकोट स्वास्थ्य चौकी परिसरमा "वातावरण संरक्षणमा स्थानीय सरकारको भूमिका र नागरिक समाजको दायित्व" विषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो । वडा भित्रका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न यो कार्यक्रमले वातावरण संरक्षणप्रति सामूहिक चेतना जगाउने महत्त्वपूर्ण काम गर्यो ।
कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष सोम प्रसाद प्रधानले वातावरण संरक्षणलाई वडाको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने-"आजको कार्यक्रम एउटा सुरुवात मात्र हो। हाम्रो वडालाई हरित र स्वच्छ वडा बनाउने लक्ष्यमा हामी अडिग छौँ । नगरपालिका र नागरिक समाजको साझेदारीमा यो सपना पूरा हुन्छ ।" कार्यक्रमका प्रमुख प्रशिक्षक तथा वातावरणविद् भोला भट्टराईले वायु प्रदूषणका कारण, असर र समाधानका उपायबारे विस्तृत प्रशिक्षण प्रदान गरे । उनले प्रस्तुत गरेका तथ्यांकले सहभागीहरूलाई चकित पार्यो । विभिन्न तथ्य सामाग्रीको आधारमा वातावरणविद भट्टराईले नेपालमा वायु प्रदूषणका कारण वर्षेनी ४८,५०० जनाको मृत्यु हुन्छ, जसमा काठमाडौँ उपत्यकामा मात्रै ५ हजार भन्दा बढी छ,विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा नेपालको वायु प्रदूषण १० गुणा बढी छ,वायु प्रदूषणका कारण नेपालमा हुने मृत्युमध्ये झण्डै १९ प्रतिशत प्रदूषणजन्य छन्, सन् १९९८ देखि २०२१ को बीचमा नेपालको औसत वायु प्रदूषण ७५ प्रतिशतले वृद्धि भएको औल्याए । भट्टराईले थपे — यदि नेपालको वायु प्रदूषणलाई WHO को मापदण्डभित्र ल्याउन सकिए,हरेक नेपालीको आयु औसतमा ४.६ वर्षले बढ्ने थियो। मधेश प्रदेशमा यो सुधार ७ वर्षसम्म पुग्ने अनुमान छ । चाँगुनारायण नगरपालिका कार्यालयको वास शाखाकी मेनुका थापाले नगरपालिकाले वातावरणीय क्षेत्रमा अहिलेसम्म गरेका कार्यक्रमहरू र आगामी योजनाका बारेमा प्रस्तुति दिइन् ।
आतिथ्य मन्तव्य राख्दै पूर्व वडा अध्यक्ष शिवहरि केसीले दीर्घकालीन अनुभवका आधारमा भने-"म यो वडामा वर्षौं देखि काम गर्दै आएको छु। पहिलाका तुलनामा आज हाम्रो वातावरण कति बिग्रिएको छ भन्ने कुरा हामी आफ्नै आँखाले देख्दैछौँ। खोला-नाला फोहोर भए, हावा दूषित भयो, रुखहरू घटे। यो अवस्था उल्टाउन अब ढिला गर्न हुँदैन-स्थानीय सरकार र नागरिक समाज एकजुट भएर लाग्नुको विकल्प छैन ।" प्लाष्टिकमुक्त वडा निर्माण अभियान समितिका उपाध्यक्ष एवं स्वच्छ हावा सञ्जाल भक्तपुरका अध्यक्ष नबराज काफ्लेले वायु प्रदूषण नियन्त्रण र प्लाष्टिकमुक्त वडा निर्माण अभियानलाई जनस्तरसम्म पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै भने-"प्रदूषणको समस्या टाढाको कुरा होइन, यो हाम्रो घरआँगनकै समस्या हो । एकल प्रयासले मात्र हुँदैन, तर हरेक घरबाट एउटा सचेत कदम उठ्यो भने परिवर्तन निश्चित छ । आजको यो कार्यक्रमले हामीलाई त्यही दिशामा अग्रसर गराउनेछ भन्ने विश्वास छ ।"
कार्यक्रमको सञ्चालन गर्दै राममाया रानामगरले उपस्थित सहभागीहरूलाई स्वागत गर्दै भनिन्-"आज हामी एउटा साधारण कार्यक्रममा भेला भएका होइनौँ, हामी आफ्नो वडा, आफ्नो सन्तानको भविष्य र आफ्नै स्वास्थ्यको लागि भेला भएका हौँ । स्वच्छ हावा पाउनु हाम्रो अधिकार हो र त्यो अधिकार जोगाउन हामी आफैँले पहल गर्नुपर्छ ।" उनले कार्यक्रमका विभिन्न सत्रहरू व्यवस्थित रूपमा सञ्चालन गर्दै सहभागीहरूलाई सक्रिय बनाइरहिन् । कार्यक्रममा सहभागी एक स्थानीय महिला प्रतिनिधिले भनिन्-"आज थाहा भयो कि हाम्रो भान्छाको धुँवाले पनि हाम्रै परिवारलाई बिरामी पार्छ । अब घरमा गएर सबैलाई बताउँछु र चुलोको धुँवा कम गर्ने उपाय अपनाउँछु।" एक युवा प्रतिनिधिले जोड दिँदै भने-"वायु प्रदूषणले आयु घटाउँछ भन्ने तथ्यले मलाई धेरै सोच्न बाध्य पार्यो । सार्वजनिक यातायात प्रयोग गर्ने साथीहरूलाई पनि प्रेरित गर्ने संकल्प गरेको छु ।" स्थानीय एक संस्थाका प्रतिनिधिले भने-"यस्ता कार्यक्रम नियमित हुनुपर्छ । ज्ञान भयो भने मान्छे आफैँ सचेत हुन्छ। आजको प्रशिक्षण धेरै व्यावहारिक र उपयोगी भयो ।" वडा नं. २ का जनप्रतिनिधि सिता मिजारले प्रशिक्षक, अतिथि, आयोजक र सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरिन् । उनले भनिन् -"आजको कार्यक्रमले हामीलाई सिकाएको सबैभन्दा ठूलो कुरा भनेको-स्वच्छ हावा सरल छ, सम्भव छ। बस् हामीले चाहनुपर्छ ।" कार्यक्रमले "स्वच्छ हावा सरल छ, सम्भव छ" भन्ने सकारात्मक सन्देशका साथ सहभागीहरूमा नयाँ उत्साह र संकल्पको भावना जागृत गराउँदै सम्पन्न भयो ।
फाेटाेमा हेर्नुहाेस्...
