श्रीहरि सेल्फ रियलाइजेशनल फाउन्डेसनको दोस्रो वार्षिकोत्सव सम्पन्न
जेठ २७, २०८३, बुधबार | विहान ०७:०१ बजे | 380
"एक विश्व, एक आध्यात्मिक परिवार बनाऔँ" अभियानमा सबैलाई सहभागी हुन आह्वान
भक्तपुर, असार २३।
मानव जीवनलाई स्वस्थ, सुखी, आनन्दमय र शान्तिमय बनाउने उद्देश्यका साथ स्थापित श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेसन ले आफ्नो दोस्रो वार्षिकोत्सव भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारमा भव्य एवं प्रेरणादायी वातावरणमा सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूर्यविनायक नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्री सानुकाजी कायस्थ, विशेष अतिथिका रूपमा वडा नं. २ का वडा अध्यक्ष श्री प्रदीप कार्की, पतञ्जली योग समिति नेपालका केन्द्रीय सहप्रभारी श्री ललितशंकर योगी तथा प्रेरणादायी वक्ता श्री विकास देव योन्जन लामा को गरिमामय उपस्थिति रहेको थियो।
यस अवसरमा पतञ्जली योग समिति भक्तपुरका पूर्व अध्यक्ष श्री केदार खड्का, वरिष्ठ गायक तथा संगीत प्रशिक्षक श्री बद्रीनारायण ताम्राकार, विभिन्न संघ–संस्था तथा सहकारीका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार, स्थानीय सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विद्यालयका प्रतिनिधिहरू तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फाउन्डेसनका प्रमुख सल्लाहकार एवं सिरु बौद्धिक समाजका उपाध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठ ले आफ्नो मन्तव्यमा आजको समाजमा आध्यात्मिक चेतना, नैतिक मूल्य, सकारात्मक सोच र निःस्वार्थ सेवाको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै यस्ता अभियानमा सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
फाउन्डेसनले विगत दुई वर्षमा नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी ध्यान, योग, आध्यात्मिक चेतना तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिसकेको जनाएको छ। त्यस्तै १५० भन्दा बढी अन्तरक्रिया, बैठक तथा सामाजिक–आध्यात्मिक गतिविधिहरूमार्फत हजारौँ व्यक्तिसम्म सकारात्मक सन्देश पुर्याउन सफल भएको जानकारी दिइएको छ।
संस्थाका अनुसार यसको सेवा र चेतनामूलक अभियान नेपालमा मात्र सीमित नरही भारत, चीन, थाइल्याण्ड, भियतनाम, जापान तथा बेलायत लगायत विभिन्न देशहरूमा समेत विस्तार भइरहेको छ। मानव जीवनमा आन्तरिक शान्ति, प्रेम र आत्मबोधको महत्वबारे विश्व समुदायलाई प्रेरित गर्ने प्रयास निरन्तर जारी रहेको फाउन्डेसनले जनाएको छ।
"एक विश्व, एक आध्यात्मिक परिवार बनाऔँ" भन्ने मूल नाराका साथ अघि बढिरहेको फाउन्डेसनको विश्वास छ कि विश्वमा स्थायी शान्ति स्थापना गर्न प्रत्येक व्यक्तिले सर्वप्रथम आफ्नो मन, विचार र चेतनालाई शुद्ध र सकारात्मक बनाउन आवश्यक छ। आत्मपरिवर्तनबाटै परिवार, समाज र अन्ततः विश्व परिवर्तन सम्भव हुने संस्थाको धारणा रहेको छ।
वार्षिकोत्सवको अवसरमा फाउन्डेसनले ध्यान, योग, स्वास्थ्य साधना, आध्यात्मिक प्रशिक्षण तथा सेवामूलक गतिविधिहरू सञ्चालन गर्न एक शान्त र प्राकृतिक वातावरणयुक्त आध्यात्मिक आश्रम स्थापना गर्ने महत्त्वपूर्ण योजना समेत सार्वजनिक गरेको छ। यसका लागि उपयुक्त जग्गा वा भवनको खोजी भइरहेको जानकारी दिइएको छ।
फाउन्डेसनका अध्यक्ष चन्द्रहरि कायस्थ (श्रीहरि) ले आश्रम स्थापना तथा समाज रूपान्तरणका विविध कार्यक्रम सञ्चालनका लागि आर्थिक, भौतिक, प्राविधिक तथा नैतिक सहयोग गर्न इच्छुक सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई हार्दिक आह्वान गर्नुभएको छ।
उहाँले भन्नुभयो,
"आश्रम केवल भवन निर्माणको परियोजना होइन, यो स्वस्थ शरीर, शान्त मन, सकारात्मक सोच, करुणामय हृदय र जागृत चेतनासहितको नयाँ समाज निर्माणको साझा अभियान हो। जब हामी आफूलाई चिन्ने यात्रामा अघि बढ्छौं, तब जीवनमा प्रेम, आनन्द र उद्देश्य स्वतः प्रकट हुन्छ।"
फाउन्डेसनले समाजका शुभेच्छुक, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, जनप्रतिनिधि तथा सम्पूर्ण मानव समुदायलाई यस पुण्य अभियानमा सहभागी भई स्वस्थ, सुखी, आनन्दमय, समृद्ध र शान्तिमय विश्व निर्माणको यात्रामा सहयात्री बन्न हार्दिक अनुरोध गरेको छ।
यदि तपाईं पनि आफ्नो जीवनमा सकारात्मक परिवर्तन, आन्तरिक शान्ति र मानव सेवाको भावनालाई आत्मसात् गर्दै समाजका लागि केही अर्थपूर्ण योगदान गर्न चाहनुहुन्छ भने, श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेसनको यस अभियानमा सहभागी हुन सक्नुहुन्छ।
"आफू बदलिऔँ, परिवार बदलिऔँ, समाज बदलिऔँ, विश्व बदलिऔँ।"
– एक विश्व, एक आध्यात्मिक परिवार बनाऔँ।
.jpg)