योजना छनौट तथा बजेट तर्जुमा कार्यक्रम सम्पन्न
जेठ २७, २०८३, बुधबार | साँझ ०४:४९ बजे | 65
भक्तपुर, २६ जेठ । गःपली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं को लागि आर्थिक बर्ष २०८३÷०८४ को लागि योजना छनौट तथा बजेट तर्जुमा कार्यक्रम वडाध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यतामा गःपली साइनिङ्ग स्टुडेण्ट एकेडेमीमा मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारी तर्फ तालिममा जोड दिएको गतिविधि सुनाउँदै खेलकुद गतिविधि समेत चुनावको घोषणापत्र अनुसार कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले भक्तपुरका जनता सचेत नागरिक हुनुका साथै शिक्षा–स्वास्थ्य मा अब्बल, सँस्कारी तथा सु–सँस्कृत र असल इमानदार नागरिक हुँदै जानुका साथै विकास निर्माणमा जनताको सहभागीमा राम्रैसंग अगाडि बढेकोमा वडाबासीहरुलाई धन्यवाद दिनुभयो । उहाँले हाडा छेँ निर्माण कम लागतमा जनतसहभागितामा सम्पन्न गरेको बताउँदै खोला सुधार, करिडोर निर्माण, मंगलतिर्थमा लामोपाटी निर्माणमा यसपालीको बजेतमा राख्ने बताउनुभयो । उहाँले गःपली क्षेत्रमा अव्यवस्थित पार्किङ्ग र फुटपाथमा पसलले गर्दा सवारी जामको समस्या देखिएकोले सोको लागि वडाबासीहरु जगरुक भई समाधान गर्नुपर्ने साथै ढल निकास र गल्लीबाटोमा ईट्टा छपाईमा छिमेकीको अवरोधले बेमेल देखिने भएकोले स्थानीयबासीहरु एकजुत भए समस्या समाधान हुने बताउनुभयो । उहाँले प्रजग कोरियाली(उत्तर कोरिया) जनता एकजुत भएकै कारण गरिब र पिछ्डिएको भनिएको देशले अभतपूर्व विकास गर्दै आणविक हतियार समेत उत्पादन गरी विश्वमा साम्राज्य फैलाई रहेका अमेरिकालाई समेत हाँक दिन सक्ने गरी आफ्नै खुट्टामा उभिएको कुराबाट हामीले पाठ सिक्नुपर्ने बताउँदै हाम्रो विकास निर्माण हामी आफैले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले भक्तपुर नगरपालिकाले भक्तपुरलाई आर्दश समाज बनाई यहाँका जनताहरुलाई सुसँस्कृति बनाई शोषण र व्दन्द रहित समाज निर्माणको लागि समाजवाद उन्मुख दिशा तर्फ अगाडि बढिरहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका वडा नं ४ को योजना छनौट तर्जुमा नगरस्तरीय योजनामा सूर्यविनायक चोकदेखि रामदेवी कम्पलेक्सबाट बाराही पुलसम्मको बाटोमा रहेको विजुलीको नाङ्गो तार हटाई बाटोको बीचबीचमा परेको बिजुलीको खम्बाहरु हटाउनुपर्ने बताउनुभयो । उहाँले सूर्यविनायक चोकदेखि डोकाफल्चासम्मको राजमार्गको उत्तर तर्फको सबट्रयाक खोली सो बाटो पिच गर्न सडक विभागलाई ताकेता गर्नुपर्ने देखिएको, सूर्यविनायक चोकदेखि राममन्दिर पुलसम्मको पिच बाटो खाल्डाखुल्डी भएकोले पिच गर्नुपर्ने देखिएको, राममन्दिर र बाराहीमा बर्षामा बर्षेनी बाढीले दुवान हुने भएकोले खोला सुधारको कार्यक्रम ल्याई नापिनक्सा अनुसार खोला सुधार गरी खोलाको दुई तिर हरियाली व्यवस्थापन र करिडोर निर्माण गर्नुपर्ने, सूर्यविनायक चोकदेखि राममन्दिर पुलसम्मको पिच बाटो, सूर्यविनायक चोकदेखि रामदेवी कम्पलेक्सबाट बाराही पुलसम्मको बाटो र गपली गणेश मन्दिरदेखि डोकाफल्चासम्मको बाटोमा सडकबत्तिको व्यवस्थापन र सीसी क्यामेराको व्यवस्था गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले वडास्तरीय योजनामा गपली गणेश मन्दिरदेखि डोकाफल्चासम्मको बाटो भुमिगत विधुतीय तार विछ्याउने क्रममा ढुङ्गा छपाई बाटो विग्रेको पुनःनिमार्ण गर्नुपर्ने र दाँयाबाँया पेटीको सामानहरु हटाई खुल्ला गरी गमला राखी हरियाली कायम गरी वातावारण जोगाउनुपर्ने बताउनुभयो । उहाँले गपली गणेश मन्दिरदेखि डोकाफल्चासम्मको बाटो दुई इन्चको ढुङ्गा छपाई गरेको बाटोमा हेभिगाडी प्रवेश निषेध बोर्ड दुईवटा पूर्व तर्फ र पश्चिम तर्फ राख्नुपर्ने र सानो सानो गाडीमात्र छिर्न मिल्ने गरी ट्रिपर गाडी छिर्न नमिल्ने गरी पूर्व र पश्चिम तर्फ पोल दुई दुई वटा गाड्नु पर्ने देखिएको, सूर्यविनायक चोकदेखि राममन्दिर पुलसम्मको पिच बाटो र गपली गणेश मन्दिरदेखि डोकाफल्चासम्मको बाटोमा अव्यस्थित पार्किङ्ग हटाई सःशुल्क पार्किङ्गको व्यवस्था गर्नुपर्ने, सूर्यविनायक चोकदेखि डोकाफल्चा(बाराही छिर्ने बाटो)सम्मको राजमार्गको उत्तर तर्फमा फुटपाथ पसल व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम संचालन कोषाध्यक्ष रविन छुस्याकी, सचिव रविन्द्र श्रेष्ठ र पूर्व जिल्ला शिक्षा अधिकारी धुर्व नारायण जोन्छेले पनि टोल विकासमा नगरपालिका र वडाको योगदान भावि योजना र विकास निर्माणमा गर्नुपर्ने विषयमा बोल्नुभयो ।
कार्यक्रममा स्थानीय वडाबासीहरुले विभिन्न सुझाब र स्थानीयमा देखिएको समस्याहरु राख्नेहरुमा दिनेश बहादुर धौबञ्जार, अस्तलक्ष्मी श्रेष्ठ, तुल्सीमाया नागा, संगिता शुद्धकार, रमेश मानन्धर, सुमन मानन्धर र सरोज शाहीले पनि बोल्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)