शिक्षाको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक


जेठ २७, २०८३, बुधबार | दिउँसो ०३:५५ बजे | 25


शिक्षाको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक

शिक्षकहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न

भक्तपुर, जेठ २७ । शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि तथा विद्यालय शिक्षालाई अझ प्रभावकारी बनाउन भक्तपुर नगरपालिकाले आज शिक्षक प्रतिनिधिहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले शिक्षकहरूबाट प्राप्त अनुभव र सुझावले शिक्षा क्षेत्रको सुधार तथा विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै शिक्षाको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।  शिक्षकहरूबाट प्राप्त सुझावहरूले नगरपालिकाको शैक्षिक योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा उच्च शिक्षाको विकासका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “अब भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र मात्र होइन, अनुसन्धानको केन्द्रका रूपमा पनि विकास गर्नुपर्छ ।”
कार्यक्रममा सहभागी शिक्षकहरूले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले गरेका प्रयासको प्रशंसा गर्दै विद्यालय र कलेजमा अनुसन्धानमूलक अध्ययन, प्रविधिमैत्री शिक्षण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए । सहभागी शिक्षक प्रतिनिधिहरूले राय सुझाव प्रस्तुत गर्दै स्थानीय पाठ्यक्रमलाई प्रभावकारी बनाउन सांस्कृतिक केन्द्र निर्माण गर्नुपर्ने, सामाजिक विषयमा विद्यार्थीलाई बलियो बनाउन शिक्षकहरूलाई विशेष तालिम प्रदान गर्नुपर्ने, प्रयोगशाला (ल्याब) नभएका विद्यालयहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने, विद्यालयमा सूचना प्रविधि (आईटी) विकासका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने, दिवा खाजा कार्यक्रमका लागि उपलब्ध रकम अपुग भएकाले बजेट वृद्धि गर्नुपर्ने, विद्यालय नर्स कार्यक्रम प्रभावकारी रहेकोले नर्सहरूको क्षमता अभिवृद्धिसँगै स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, जिल्लान्तर सरुवाको समस्या समाधानका लागि नगरपालिका तथा सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँहरुले परीक्षामा उत्कृष्ट नतिजा हासिल गराउने शिक्षकहरूलाई सम्मान तथा प्रोत्साहन गर्नुपर्ने, विद्यालयलाई प्रदान गरिने भौतिक निर्माणसम्बन्धी बजेट समयमै निकासा गर्नुपर्ने,  विद्यालय नर्स नभएका विद्यालयहरूमा पनि नगरपालिका मार्फत नर्सको व्यवस्था गर्नुपर्ने, एआई र आईसीटीसम्बन्धी तालिम शिक्षकहरूलाई समेत उपलब्ध गराउनुपर्ने, शिक्षकहरूको तलब मासिक रूपमा नियमित निकासा गर्नुपर्ने,  संस्थागत विद्यालयका शिक्षकहरूलाई पनि शिक्षण विधि तथा पुनःताजगी तालिम प्रदान गर्नुपर्ने, रैथाने बाजा प्रशिक्षणलाई शैक्षिक कार्यक्रमका रूपमा सञ्चालन गर्न प्रशिक्षक व्यवस्था गरी विद्यालयमा पठाउन बजेट छुट्याउनुपर्ने, विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि विद्यालयस्तरमा नियमित स्वास्थ्य तथा परामर्श शिविर सञ्चालन गर्नुपर्ने, संस्थागत विद्यालयहरूलाई सरसफाइ उपकरण उपलब्ध गराए विद्यालय वरपरका सम्पदा क्षेत्रको सरसफाइमा सहयोग पुग्ने, “एक विद्यालय–एक नर्स” कार्यक्रमको सुविधा संस्थागत विद्यालयहरूमा पनि विस्तार गर्नुपर्ने, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रका कक्षाकोठाहरूको भौतिक अवस्था सुधार गर्नुपर्नेलगायत सम्बन्धित विविध विषयमा आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति, सामूहिक परीक्षा समिति, आधारभूत विद्यालय संघ, सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ  नेपाल, इसान, प्याब्सन, एन प्याब्सन, जेन्यून, सैनिक आवासीय महाविद्यालय र समता स्कूल, राजश्री गुरुकुलका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comments