विश्व वातावरण दिवस, नेपाली संस्कृति र वातावरण संरक्षण


जेठ २२, २०८३, शुक्रबार | साँझ ०६:५२ बजे | 105


विश्व वातावरण दिवस, नेपाली संस्कृति र वातावरण संरक्षण

सुनिता गाइसी
उपप्राध्यापक, समाजशास्त्र,
ख्वप कलेज
हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ। यस दिवसले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने, प्रकृतिप्रति जिम्मेवार बन्न प्रेरित गर्ने तथा वातावरणीय चुनौतीहरूको समाधानका लागि सामूहिक प्रयासको सन्देश दिने गर्दछ। सन् २०२६ को विश्व वातावरण दिवसको नारा “प्रकृतिबाट प्रेरित, जलवायु, हाम्रो भविष्यका लागि” रहेको छ। यस नाराले प्रकृति संरक्षण, जलवायु परिवर्तनको सामना र भावी पुस्ताको सुरक्षित भविष्यबीचको अन्तरसम्बन्धलाई उजागर गर्दछ।मानव जीवन र वातावरणबीच अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको छ। स्वच्छ हावा, शुद्ध पानी, उर्वर माटो, वनजंगल तथा जैविक विविधता मानव अस्तित्वका आधारभूत आवश्यकताहरू हुन्। मानिसले दैनिक जीवनमा प्रयोग गर्ने अधिकांश प्राकृतिक स्रोतहरू वातावरणबाट नै प्राप्त गर्दछ। वातावरण स्वस्थ र सन्तुलित भएमा मात्र मानव जीवन स्वस्थ, सुरक्षित र समृद्ध हुन सक्छ। वातावरणीय असन्तुलनले मानव स्वास्थ्य, कृषि, जैविक विविधता तथा समग्र जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।

नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश हो। हिमाल, पहाड, तराई, नदी, ताल, वनजंगल तथा विविध जीवजन्तुले नेपालको वातावरणीय सुन्दरता र समृद्धिलाई झल्काउँछन्। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, वन विनाश, प्लास्टिकजन्य फोहोर, जल तथा वायु प्रदूषण र जलवायु परिवर्तनका कारण वातावरणीय चुनौतीहरू बढ्दै गएका छन्। हिमालमा हिउँ पग्लिने, अनियमित वर्षा, बाढी, पहिरो तथा खडेरीका घटनाहरूले नेपाली जनजीवनमा प्रत्यक्ष असर पुर्याइरहेका छन्। नेपालको संस्कृति र परम्पराले वातावरण संरक्षणलाई विशेष महत्व दिएको पाइन्छ। हाम्रा पुर्खाहरूले प्रकृतिलाई केवल उपयोगको वस्तु नभई जीवनको आधार र देवत्वको प्रतीकका रूपमा सम्मान गरेका थिए। धार्मिक तथा सांस्कृतिक विश्वासका कारण पीपल, बर र तुलसीजस्ता वनस्पतिहरू संरक्षण हुँदै आएका छन्। हिन्दू धर्ममा पीपललाई भगवान विष्णुको प्रतीक मानिन्छ भने तुलसीलाई पवित्र वनस्पतिको रूपमा पूजा गरिन्छ। घरघरमा तुलसी रोप्ने तथा पीपलको संरक्षण गर्ने परम्पराले वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यी वनस्पतिहरूले अक्सिजन उत्पादन, जैविक विविधताको संरक्षण तथा वातावरण शुद्धीकरणमा सहयोग पुर्याउँछन्।

त्यसैगरी, नेपालका आदिवासी तथा जनजाति समुदायहरूको वातावरणमैत्री परम्परा पनि अत्यन्त महत्वपूर्ण छ। विशेषगरी नेवार समुदायले मनाउने सिथि नखः पर्व वातावरणीय सचेतनाको उत्कृष्ट उदाहरण हो। वर्षायाम सुरु हुनुअघि इनार, कुवा, ढुंगेधारा, पोखरी तथा पानीका स्रोतहरूको सरसफाइ गर्ने परम्पराले जलस्रोत संरक्षण, स्वच्छता र सार्वजनिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँछ। यसले सामुदायिक सहभागितामार्फत वातावरण संरक्षण गर्ने नेपाली ज्ञान र अभ्यासलाई उजागर गर्दछ। त्यसैगरी चेपाङ समुदायको परम्परागत अभ्यास पनि वातावरण संरक्षणसँग गहिरो रूपमा जोडिएको छ। चेपाङ समुदायले च्युरी (स्थानीय वनस्पति÷रुख) को संरक्षण गर्दै त्यसलाई आफ्नो जीवन, संस्कार र प्राकृतिक स्रोतसँग जोडेर जोगाउँदै आएका छन्। उनीहरूले वनजंगल र प्राकृतिक वनस्पतिलाई जीवन निर्वाहको आधार मानेर संरक्षण गर्ने परम्परागत ज्ञानले जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको छ। विश्व वातावरण दिवसको अवसरमा नेपालभर वृक्षारोपण, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, विद्यालय तथा कलेजस्तरीय गतिविधि, गोष्ठी तथा अन्तरक्रियाहरू आयोजना गरिन्छन्। यस्ता कार्यक्रमले नागरिकहरूलाई वातावरणप्रति उत्तरदायी बन्न प्रेरित गर्दछन्। विशेषगरी सरसफाइ कार्यक्रमले फोहोर व्यवस्थापन, रोग नियन्त्रण तथा स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ।

आजको आवश्यकता आधुनिक वातावरणीय ज्ञानलाई हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडेर अघि बढ्नु हो। हाम्रा पुर्खाले प्रकृतिसँग सहअस्तित्वमा बाँच्ने जीवनशैली अपनाएका थिए। पीपल, तुलसी, वनजंगल, जलस्रोत तथा जैविक विविधताको संरक्षण गर्ने सांस्कृतिक अभ्यासहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। चेपाङ जस्ता आदिवासी समुदायका परम्परागत ज्ञानले पनि दिगो वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले वृक्षारोपण, जलस्रोत संरक्षण, फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरणमैत्री व्यवहारलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्छ।

 वातावरण संरक्षण केवल सरकार वा कुनै संस्थाको जिम्मेवारी मात्र होइन, यो प्रत्येक नागरिकको साझा दायित्व हो। विश्व वातावरण दिवसले हामीलाई प्रकृतिप्रति कृतज्ञ रहँदै वातावरण संरक्षणका लागि सक्रिय बन्न प्रेरित गर्दछ। नेपाली संस्कृति, परम्परा र सामुदायिक अभ्यासहरूबाट प्रेरणा लिँदै “प्रकृतिबाट प्रेरित, जलवायु, हाम्रो भविष्यका लागि” भन्ने नारालाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो। स्वच्छ वातावरण, स्वस्थ जीवन र दिगो भविष्यका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्छ।
 

Comments

ताजा खबर