८ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि खुकुरी प्रहारबाट घाइते


जेठ २१, २०८३, बिहीबार | विहान ०७:०१ बजे | 80


८ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि खुकुरी प्रहारबाट घाइते

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिक डेरामा बस्दै आएका एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई हाल उक्त स्थानमा डेरा गरी बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादका क्रममा आफ्नी ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मामाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना रोक्न खोज्ने क्रममा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि खुकुरी प्रहारबाट घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारपछि डिस्चार्ज गरिएको र आवश्यक संरक्षणका लागि प्रहरीको बालमैत्री कक्षमा राखिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायव उपरीक्षक सूर्यबहादुर खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गर्न प्रयोग गरिएको खुकुरी बरामद गरेको छ भने आरोपित विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Comments