सकियो भक्तपुर बचतमा आठदिने वाककला तालिम
जेठ २०, २०८३, बुधबार | राति ०८:०७ बजे | 215
भक्तपुर, २० जेष्ठ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा जेठ १२ गतेदेखि भएको आठ दिने वाककला तालिम बुधबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले एउटा न एउटा विषयमा विशेषज्ञ भए कोही पनि भोकै बस्न नपर्ने बताउँदै वाककलाको तालिमले गन्तव्यमा पु¥याउने बताउनुभयो । हरेक राजनीतिक दलले आफ्नो कुरा स्पष्ट रुपमा राख्न स्पष्ट बोल्ने प्रवक्ताको व्यवस्था गर्ने बताउँदै उहाँले सिप र तालिमको निरन्तर प्रयासले स्पष्ट वक्ता बनाउने औंल्याउनुभयो । उहाँले सबै नेतासँग वाककलाको गुण नहुने बताउँदै वाककला कठिन विषय भएकाले प्रयास जारी राख्नुपर्ने बताउनुभयो । साथै वाककलाले श्रोताको मन जित्न सक्ने भएकाले यो अल्प आकर्षित कला रहेको बताउँदै उहाँले कलाको खाँचो भक्तपुर बचतले मेटाएको स्पष्ट पार्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले शारीरिक हाउभाउ र आवाजलाई संयोजन गरी वाककलाको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै यस तालिमले व्यक्तित्व र नेतृत्व शक्ति वृद्धि गर्ने बताउनुभयो । समाजसँग संस्था जोडेमात्र पूँजी निर्माण हुने बताउँदै उहाँले संस्थाले गर्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमले सदस्य र समाजसँग जोडेको बताउनुभयो । उहाँले राम्रो श्रोता मात्र राम्रो वक्ता बन्ने भएकाले अरुले बोलेका कुरालाई पनि धैर्य गरी सुन्न सक्नुपर्ने औंल्याउनुभयो ।
तालिमका प्रशिक्षक शरद राईले कठिन परिस्थितिमा पनि हार नमानी डर र मनलाई नियन्त्रणमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेकले सपनालाई मेहनतमा परिणत गरेमात्रै साकार हुने यथार्थ बताउँदै राम्रो र सफल बक्ता बन्नका लागि तालिमले सार्थक तुल्याएको बताउनुभयो ।
प्रशिक्षार्थीहरु श्रीप्रसाद त्यात, रोशनी कार्की, राकेश सैंजू र सम्झना भण्डारीले अनुभव सुनाएको उक्त कार्यक्रममा आयोजक समितिका संयोजक कृष्णश्वरी दुवाल, सदस्य विकल कोजू लगायतले बोलेको थियो । तालिममा २१ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।
