जितपुरमा ट्याक्टर दुर्घटनाः यस्तो छ विस्तृत विवरण
जेठ २१, २०८३, बिहीबार | विहान ०६:४५ बजे | 95
भक्तपुर, जेठ २० — भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलामसीमा ढलान गर्ने मिक्स्चर जडित ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार साँझ करिब ७:२५ बजे नगरकोटबाट जीतपुरतर्फ आउँदै गरेको ना. ५ त. २८४७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनाका समयमा ट्याक्टरमा १३ जना सवार रहेका थिए। दुर्घटनामा १० जना घाइते भएका छन् भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिन्धुलीको भिमान नगरपालिका–१० घर भई हाल काठमाडौं सिनामंगल बस्ने २६ वर्षीय हेमबहादुर नेपाली र भोजपुरको दिम्ला नगरपालिका–२ घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३२ वर्षीय विजय राई रहेका छन्। उनीहरूको भक्तपुर अस्पताल दुधपाटीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांश काठमाडौंको सिनामंगल, जडीबुटी तथा टोखा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त ट्याक्टरका चालक सर्लाही हरिवन नगरपालिका–६ घर भई हाल काठमाडौं सिनामंगल बस्ने २४ वर्षीय वीरेन्द्र कुमार महत्तो सामान्य अवस्थामा रहेका छन्। उनलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
