नियात्रा, कुहिरोमा हराएको सैलुङ : वर्षा, वेदना र शिखरतर्फको यात्रा
जेठ २०, २०८३, बुधबार | विहान ०७:१७ बजे | 210
जीवनाथ अधिकारी
२०८३ वैशाख १९ गतेको त्यो बिहान आज पनि सम्झँदा कुनै पुरानो चलचित्रको आरम्भिक दृश्यझैँ आँखाभरि उभिन्छ । उज्यालले पृथ्वीलाई अझै पूर्ण रूपमा स्पर्श गरिसकेको थिएन । पूर्व आकाशमा प्रकाशको फिक्का धर्सा मात्र देखिएको थियो । ठिमी चोकमा उभिँदा लागिरहेको थियो– सहर निद्राबाट बौरिन खोज्दै छ, तर यात्रामा निस्कने मानिसको मन भने रातभरि नै जागिरहेको हुन्छ । म र देवी अधिकारी त्यही जाग्रत उत्सुकताका साथ गाडीको प्रतीक्षामा थियौँ । आजको गन्तव्य दोलखाको सैलुङ र कालिञ्चोक थियो । नाम उच्चारण गर्नासाथ मनमा हरिया लेकहरू, कुहिराले छोएका डाँडाहरू, तामाङ बस्तीहरू र टाढा हिमालका सेता शिखरहरू एकसाथ जागेर आउँथे । यात्रा सुरु हुनुअघि नै गन्तव्यले मनभित्र आफ्नो एउटा काल्पनिक भूगोल निर्माण गरिसकेको थियो ।
हामी लामो यात्रामा सकेसम्म अगाडिको सिट रोज्ने गर्छौँ । पछाडि बस्ता शरीर धेरै हल्लिने, वान्ता हुने र यात्राभरि असहजता हुने अनुभव धेरैपटक भोगिसकेकाले यात्रा सुरु हुनुअघि नै सिटको चिन्ता सुरु भइसकेको थियो । तर गाडी सञ्चालक रामहरि न्यौपानेले हामीलाई अगाडिको सिटको व्यवस्था गरिदिने वचन दिएका थिए । सडकमा मोटरसाइकलहरू फाट्टफुट्ट गुडिरहेका थिए । कतै दूधका क्यान बोकेका मानिसहरू हिँडिरहेका थिए। विपी राजमार्गबाट पूर्व जाने सानाठुला बसहरू भने निर्धारित यात्रुलाई टिप्तै पूर्वतिर हुइँकिरहेका थिए । चियापसलका धुवाँहरू बिहानसँगै उठिरहेका थिए । तर हाम्रो ध्यान भने आउने गाडीको दिशातिर मात्र थियो । प्रतीक्षा आफैँमा एउटा यात्रा हो भन्ने कुरा त्यतिबेला अझ स्पष्ट महसुस भइरहेको थियो । गन्तव्यमा पुग्नुअघि मानिस आफ्नो धैर्यको पनि यात्रा गरिरहेको हुन्छ ।
बिहानको ठिक पाँच बजेतिर रङ्गीन नयाँ गाडी हाम्रो अगाडि आएर रोकियो । ढोकाबाट सहचालकको मुस्कान झुल्कियो । ढोकाछेउमा बसेकी लक्ष्मीले हामीलाई देखेर हात हल्लाइन् । गाडीभित्र चढ्दा चालकको सिट पछाडिका एक र दुई नम्बरका सिट हाम्रै लागि छुट्याइएका रहेछन् । यात्राको सुरुवातमा प्राप्त हुने यस्ता साना सहजताहरूले कहिलेकाहीँ मनमा ठुलो आत्मीयता जन्माउँछन् । हामी बस्यौँ । सानो झोला सिटको माथिको तखताजस्तो खाली ठाउँमा राख्यौँ । केहीबेरमै सिर्जनानगरमा रुट परमिट लिइयो र गाडीले पूर्वतर्फको बाटो समात्यो ।
जगाती, साँगा, बनेपा, धुलिखेल हुँदै यात्रा अघि बढ्न थाल्यो । सहर बिस्तारै पछाडि छुट्तै गयो । कङ्क्रिटका संरचनाहरू क्रमशः खेतका हरिया गरा र पहाडका फैलिँदा काखहरूले प्रतिस्थापन गर्न थाले । धुलिखेल पार गरेपछि हावाको स्वाद नै बदलिएको अनुभव हुन्थ्यो । उपत्यकाको धुलो घट्तै जान्थ्यो, पहाडको गन्ध बढ्दै जान्थ्यो । सडकका दायाँबायाँ फैलिएका खेतहरू, ससाना बुट्यानहरू बिहानको घाममा चम्किरहेका थिए । कतै तल खेतमा किसानहरू काममा लागिसकेका देखिन्थे । कतै बारीमा झुकेका आकृतिहरू देखिन्थे । ती दृश्यहरू हेर्दा यस्तो लाग्थ्यो– नेपालको वास्तविक जीवन राजमार्गभन्दा केही तल वा माथि ती खेतका डिलहरूमा चलिरहेको छ ।
साढे छ बजेतिर हामी केराबारी पुग्यौँ । गाडी एउटा होटलअगाडि रोकियो । यतातिरको यात्रामा प्राय: हाम्रो गाडी चालक यही होटलमा गाडी रोकेर चियाखाजा खुवाउने गर्छन । यात्रुहरू आआफ्नो रोजाइको नास्तामा व्यस्त भए । कसैले पुरी मगायो, कसैले चिया, कसैले पराठा । हामीले भने लस्सी रोज्यौँ । मलाई यात्रामा लस्सी सधैँ प्रिय लाग्छ । त्यसको चिसोपनले शरीरलाई ताजगी दिन्छ भने बाक्लोपनले पेटलाई केहीबेर सन्तुष्ट राख्छ । गिलास हातमा लिएर सडकतिर हेर्दा त्यहाँको अर्को दृश्यले ध्यान खिच्यो । राजमार्गको तल्लो भागबाट पिल्लर उठाएर बनाइएका होटल र पसलहरू पहाडसँग मानिसले गरेको सम्झौताजस्ता लाग्थे । भूगोल साँघुरो भए पनि जीविका साँघुरो हुन सक्तैन भन्ने कुरा ती संरचनाहरूले बताइरहेका थिए ।
केराबारी छोडेपछि यात्रा फेरि पूर्वतिर बग्न थाल्यो । पाँचखाल, जिरोकिलो हुँदै हामी दोलालघाट पुग्यौँ । तल इन्द्रावती र सुनकोसीको दोभान देखियो । दोभानहरू मलाई जहिल्यै आकर्षक लाग्छन् । नदीहरू भेट्ने ठाउँमा पानी मात्र मिसिँदैन, भूगोल पनि मिसिन्छ, इतिहास मिसिन्छ र कहिलेकाहीँ संस्कृतिहरू पनि मिसिन्छन् । इन्द्रावतीको नीलिमामय जल र सुनकोसीको फराकिलो प्रवाह एकअर्कामा समाहित भइरहेका थिए । त्यस दृश्यले जीवनकै कुनै गहिरो सत्य सम्झाइरहेको जस्तो लाग्यो । मानिस पनि अन्ततः आआफ्ना बाटाहरू हुँदै कुनै साझा प्रवाहमा मिसिन जन्मेको होइन र ?
दोलालघाटबाट माथि उक्लिँदै जाँदा चौतारातिर छुट्टिने बाटो देखियो । तर हाम्रो यात्रा त्यता मोडिएन । हामी खाडीचौरतर्फ लाग्यौँ । केहीबेरमै बलेफी पुगियो । यहाँ ब्रह्मायणी र सुनकोसीको अर्को सङ्गम रहेछ । त्यही दोभानमा कपिलेश्वर महादेवको मन्दिर । हामी गाडीबाट झर्यौँ । हरिया पहाडका काखमा बसेको त्यो मन्दिरको वातावरण असाध्यै शान्त थियो । नदीको कलकल ध्वनि, घण्टीको मधुर नाद र बिहानको शीतल हावाले त्यो ठाउँलाई ध्यानस्थलजस्तो बनाएको थियो । हामीले महादेवको दर्शन गर्यौँ। तर मन्दिरभन्दा बाहिर बगिरहेको नदीको स्वरले बढी आकर्षित गरिरहेको थियो । प्रकृति स्वयम् मन्दिर बनेपछि ढुङ्गाको मन्दिर पनि उसको एउटा विस्तार मात्र रहन्छ भन्ने अनुभूति त्यहाँ भइरह्यो ।
खाडीचौर पुगेपछि यात्राको स्वरूप फेरियो । यहाँसम्म सडकले मानिसलाई पहाडतिर ल्याएको थियो, अब पहाडले मानिसलाई आफ्नो काखभित्र तान्न थालेको थियो । सुनकोसी पार गरेपछि गाडी उकालिँदै गयो । घुम्तीहरू बाक्लिँदै गए । तल नदी सानो रेखाजस्तो देखिन्थी । माथि हेर्दा पहाडहरू अझै उचाइ मागिरहेका जस्ता लाग्थे । दस बज्न लाग्दा हामी शिलढुङ्गा पुगेका थियौँ । एउटा धारो कलकल बगिरहेको थियो । त्यहीँ खाना पकाउने निर्णय भयो ।
यात्राको सबैभन्दा आत्मीय पक्ष यस्तै सामूहिक भोजनमा प्रकट हुन्छ । त्यहाँ कोही पाहुना हुँदैन, सबै सहभागी हुन्छन् । कोही तरकारी काटिरहेका थिए । कसैले चामल पखालिरहेको थियो । कसैले चुलो बालिरहेको थियो । केही महिलाहरूले गुरुजीलाई पकाउन सघाइरहेका थिए । उता एकजोडी यात्रु टिकटक भिडियोमा रमाइरहेका थिए । ती जोडीकी महिलाले एकै छिनमा सारी फेरेर अर्क्कै रूपमा देखा परेकी थिइन् । कोही फोटो खिच्तै थिए । कोही धारोछेउ बसेर गफ गर्दै थिए । त्यो दृश्य हेर्दा लाग्थ्यो– यात्रा भनेको केवल गन्तव्यतर्फको गति होइन, बाटामा निर्माण हुने अस्थायी समाज पनि हो ।
केहीबेरमै भात, दाल, तरकारी, अचार र पापड तयार भयो । स्टिलका थाल लिएर हामी सडकछेउको नालीको डिलमा बस्यौँ । भोक लागेको बेला साधारण भोजन पनि पर्व बन्छ । त्यही भयो । त्यो भोजन पाँचतारे होटलका परिकारभन्दा स्वादिलो लागिरहेको थियो । किनकि त्यसमा मसला मात्र थिएन, सामूहिक श्रम मिसिएको थियो । थाल आफैँले माझ्नुपर्ने नियम पनि यात्राको अर्को सुन्दर अनुशासन थियो । बराबरीको भावना त्यहीँ प्रकट हुन्थ्यो ।
साढे एघारतिर यात्रा फेरि अघि बढ्यो । मुढे बजार पुगेर खरिढुङ्गा–चरिकोटतर्फको बाटो छोडी हामी सैलुङतिर मोडियौँ । अब सडक साँघुरो हुँदै गयो । कतै कालोपत्रे, कतै ग्राभेल । धुलो, ढुङ्गा, उकालो र घुम्तीहरूबिच गाडी अघि बढिरहेको थियो । तर दृश्यहरू भने झन् सुन्दर हुँदै गएका थिए । आलुबारीहरू हरिया गलैँचाजस्ता फैलिएका थिए । घँघरुका बुट्यानहरूले डाँडाका काख सजाइरहेका थिए । सल्लाका रूखहरू लामो ध्यानमा बसेका साधुहरूजस्ता उभिएका थिए । तामाङ बस्तीका साना चिटिक्क घरहरू पहाडका काखमा टाँसिएका सपनाजस्ता देखिन्थे । सैलुङ क्षेत्र तामाङ संस्कृतिमा अत्यन्त पवित्र मानिन्छ र “सय थुम्काको भूमि” का रूपमा परिचित छ । ‘सै’ अर्थात् सय र ‘लुङ’ अर्थात् थुम्का भन्ने व्युत्पत्तिसँग यसको नाम जोडिएको मानिन्छ । यहाँका लेकहरू, धार्मिक विश्वास र विस्तृत हिमदृश्यका कारण यो क्षेत्र विशेष महत्त्व राख्छ ।
एक बजेतिर हामी कालापानी पुग्यौँ । यो ठाउँ सैलुङ जाने यात्रुका लागि गाडीको अन्तिम गन्तव्य रहेछ । अब त्यहाँबाट पैदल यात्रा सुरु भयो । सुरुमा ढुङ्गाका फराकिला सिँढीहरू थिए । दायाँबायाँ अग्ला पर्खालहरू । साँच्चिकै कुनै ‘मिनी ग्रेट वाल’ जस्तै । हामी, लक्ष्मी दम्पती र अरू साथीहरू आफ्नै लयमा उकालिँदै थियौँ । कोही फोटो खिच्तै, कोही हाँस्तै, कोही गफ गर्दै । माथिबाट तल झर्ने यात्रुहरूको पनि भिड थियो । झर्नेहरूको अनुहारमा गन्तव्य प्राप्तिको सन्तोष थियो । चढ्नेहरूको आँखामा आशा थियो । तर केही थकित अनुहारहरूले यात्राको अर्को सत्य पनि देखाइरहेका थिए– शिखरको मूल्य सधैँ पसिनाले तिर्नुपर्छ ।
अलि माथि पुगेपछि हामी महादेव गुफातर्फ लाग्यौँ । गुफाभित्र श्रद्धालुहरूको सामान्य भिड थियो । धूपको सुगन्ध, चिसो ढुङ्गा र मन्त्रहरूको अस्पष्ट गुञ्जनले वातावरण रहस्यमय बनाएको थियो । हामीले दर्शन गर्यौँ । तर बाहिर निस्कँदा आकाश बदलिइसकेको थियो । कालो बादलले डाँडाहरू निल्न थालेको थियो । केही क्षणमै पानी पर्यो । अलि तलतिर छिर्ने गुफा रहेछ । तर पानी पर्न थालेको र समय पनि अलि बढी लाग्ने भएकाले हामी त्यतातिर लागेनौँ । निर्धारित गन्तव्य माथि सैलुङतिरै हाम्रो ध्यान बढी खिचिइरहेको थियो ।
त्यसपछि यात्राले नयाँ रूप लियो ।
अब हामी घुम्न निस्केका पर्यटक थिएनौँ । हामी सङ्घर्षरत यात्रु बनिसकेका थियौँ ।
कुहिरो यति बाक्लो हुन थाल्यो, जसले गर्दा वरिपरिका दृश्यहरू सेतो पर्दाभित्र हराए । हामीसँग छाता थियो । लक्ष्मी दम्पतीसँग थिएन । कहिले उनीहरू हाम्रो छातामुनि आउँथे, कहिले भिज्दै अघि बढ्थे । उकालो त्यति कठिन थिएन तर कुहिरो र पानीले त्यसलाई कठिन बनाइदिएको थियो । बाटो हराइरहेको थियो । आकाश र पृथ्वीबिचको सीमारेखा मेटिइरहेको थियो । वरिपरि केही नदेखिने भएपछि मानिसको दृष्टि बाहिरबाट भित्रतिर फर्किन थाल्छ । मलाई त्यही भइरहेको जस्तो लाग्यो ।
अलि माथि एउटा प्लास्टिकको छानो भएको सानो टहरा भेटियो । त्यहाँ चिया, बिस्कुट, चाउचाउ र केही जडीबुटी बेचिँदा रहेछन् । साथीहरूले प्लास्टिक मागेर ओढे, फर्कँदा त्यो प्लास्टिक फिर्ता दिने सर्तमा । पछि एउटा वृद्धले रेनकोट बेचिरहेको भेटिएपछि उनीहरूले रेनकोट किनेर लगाए । त्यसपछि केही राहत मिल्यो । तर कुहिरो झन् बाक्लिँदै गयो, पानी बढ्दै गयो माथिबाट पानीको भल ठुलै बगिरहेको थियो । हाम्रा जुत्ता भिजेर लोथ भएका थिए । शिखर कतै देखिँदैनथ्यो । पुग्न सकिएला कि नसकिएला भन्ने अन्योल पनि बढ्दै थियो । तल झर्नेहरू “नजिकै छ” भन्थे तर त्यो नजिकै हत्तपत्त नजिकिएन ।
झन्डै दुई बजे हामी शिखर पुग्यौँ ।
त्यो क्षणको आनन्द शब्दले बयान गर्न गाह्रो छ । सायद सगरमाथाको टुप्पो चुम्दा तेन्जिङ नोर्गेले अनुभव गरेको विजयको कुनै सानो प्रतिध्वनि हामीले पनि महसुस गरेका थियौँ । माथि एउटा सानो बौद्ध स्तूप रहेछ । वरिपरि प्रार्थनाका ध्वजापताकाहरू फर्फराइरहेका थिए । केही मानिस पूजा गरिरहेका थिए । केही नाचगानमा रमाइरहेका थिए । स्तूपभन्दा बाहिर सेतीदेवीको मन्दिर पनि रहेछ । हामीले त्यहाँ पनि दर्शन गर्यौँ । नजिकै भ्युटावर थियो । तर कुहिरोले संसार नै ढाकेकाले त्यसमा चढेर पनि केही देखिने अवस्था थिएन । खुला मौसममा यहाँबाट एभरेष्ट, गौरीशङ्कर, रोल्वालिङ, लाङटाङ, गणेश हिमाललगायतका हिमशृङ्खलाहरू देखिने रहेछन् तर त्यो दिन प्रकृतिले हामीलाई दृश्य होइन, अनुभव दिन चाहेकी थिइन् ।
पानी परि नै रहेको थियो । कुहिरो बाक्लिएकै थियो अनि हामी सबै छाता, रेनकोट आदिमा गुम्सिरहेकै थियौँ । यस्तैमा पनि मैले १० मिनेटको समय लिएर मोबाइलमा एउटा कविता रचना गरेँ । कविता त वाचन गर्नै पर्ने थियो । सो कविताको भिडियो रेकर्ड देवीलाई गर्न लगाएर छाता ओडी ओडी एउटा भिडियो बनाइयो । कविता यस्तो थियो :
थुम्का लिएर अझ सैलुङ हाँस्न खोज्छ
सौन्दर्यका सय मुहान सदैव रोज्छ ।
उचाइ नाप्न गुरुतुल्य सिकाउँदै छ
आनन्द मोहन सदैव झिकाउँदै छ ॥ १ ॥
मुस्कान फुल्छ हिमको नव दृश्य बोकी
खिचेर तस्बिर सधैँ प्रमदा नछोपी ।
सौन्दर्यका लहर नेत्र भिजाउँदै छन्
घुम्टो उघार्न द्वय हात फिँजाउँदै छन् ॥ २ ॥
चौँरी सुरम्य रसपान गरी रमाए
नौला मुना, चउरमा मन मुस्कुराए ।
यात्रु असाध्य लहडी नयनाभिरामी
फुरुङ्ग बन्छ मन जत्तिसुकै बिरामी ॥ ३ ॥
बहन्छ रे पवन स्वच्छ सुगन्ध बोकी
नौलो कलात्मक कथा क्रमशः नरोकी ।
चरक्क घाम जब लाग्दछ छोप्छ मेघ
तरक्क विन्दु जल झर्दछ एक एक ॥ ४ ॥
सयौँ विशिष्ट चुचुरा जब अङ्कमाल
गरेर एक सुरमा नटझैँ कमाल ।
तरङ्ग रङ्ग नभस्पर्श गरेसमान
उमेर वृद्ध सब बन्दछ रे जवान ॥ ५ ॥
तर वास्तविक परीक्षा भने अब सुरु हुँदै थियो ।
ओरालो झर्न सुरु गर्नेबित्तिकै मेरो देब्रे घुँडाले विद्रोह गर्यो । यस्तो पीडा सुरु भयो, प्रत्येक पाइला सजायजस्तो लाग्न थाल्यो । जुत्ताभित्र बुढीऔँला अगाडिको भागमा थिचिन थालेपछि समस्या झन् बढ्यो । भुईँमा पाइला टेक्नु पनि कठिन बन्न थाल्यो । त्यस क्षणमा म दृश्य हेर्ने मानिस रहिनँ । म केवल पीडासँग सम्झौता गर्दै तल पुग्न खोजिरहेको एउटा निरीह शरीर मात्र थिएँ । देवीले बिस्तारै पर्खिँदै साथ दिइन् । लक्ष्मीका श्रीमान्ले एउटा लठ्ठी दिए । त्यसले केही राहत त दियो । त्यो लठ्ठी काठ मात्र थिएन, सहयात्राको मौन हात थियो ।
त्यही क्रममा एउटा सेतो चौँरी देखियो कुहिरोभित्र उभिएएर चर्दै गरेको । मानौँ बादलको कुनै टुक्रा पृथ्वीमा झरेर घाँस चरिरहेको हो । नजिकै एउटा कालो कुकुर पनि थियो । त्यो कुकुर कहिले अगाडि, कहिले पछाडि, कहिले छेउमा हुँदै हामीसँगै झर्दै गयो कालापानीसम्मै । त्यसपछि त्यो कता लाग्यो याद गर्न सकिएन । मलाई त्यो कुकुर साधारण जनावर लागेन । उसले मानौँ पहाडकै मौन करुणा बोकेको थियो । हामीलाई सुरक्षित तल पुर्याउन पठाइएको अदृश्य पथप्रदर्शकजस्तो ।
ठिक चार बजे हामी कालापानी आइपुग्यौँ । शरीर थाकेको थियो । घुँडा दुखिरहेको थियो । औँला पोलिरहेको थियो । कपडा भिजेका थिए । तर मनभित्र एउटा अनौठो सन्तोष थियो । हामी हिमाल हेर्न गएका थियौँ, हिमाल देखिएन । दृश्य खोज्न गएका थियौँ, कुहिराले सबै ढाकिदियो । सजिलो यात्रा सोचेर गएका थियौँ, वर्षाले कठिन बनाइदियो । तर आज फर्केर सम्झँदा के सबैभन्दा धेरै याद आउँछ भने, न त नदेखिएको हिमाल, न त भ्युटावर, न त स्तूप । बरु त्यो कुहिरो, त्यो वर्षा, त्यो घुँडाको पीडा, त्यो कालो कुकुर, त्यो सामूहिक भोजन, त्यो सङ्घर्ष ।
सायद यात्राको वास्तविक सौन्दर्य पनि यही हो । सजिलो यात्राले स्मृति बनाउँदैन, कठिन यात्राले बनाउँछ । सैलुङले त्यस दिन हामीलाई दृश्यभन्दा ठुलो कुरा दिएको थियो– अनुभव । त्यसैले आज पनि सम्झँदा लाग्छ, हामी सैलुङ पुगेका मात्र थिएनौँ, हामी आफ्नै सहनशीलताको एउटा शिखर पनि चढेर फर्किएका थियौँ ।
सैलुङलाई “सय थुम्काको भूमि” अर्थात् “Land of Hundred Hills” का रूपमा चिनिन्छ । यो दोलखा–रामेछाप सीमाक्षेत्रमा अवस्थित करिब ३,१४६–३,१५० मिटर उचाइको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्व बोकेको क्षेत्र हो, जहाँबाट खुला मौसममा विभिन्न हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । यस यात्राले धेरै कुरा दियो र पनि फेरि अझै एकपटक सहज वातावरणमा जसरी पनि आउनू है भन्ने अन्तर्हृदयबाट निमन्त्रणा पनि दियो ।
२०८३ जरेठ १७
