विदेशमा बस्ने छोराको कथा


जेठ १८, २०८३, सोमबार | साँझ ०५:१८ बजे | 380


विदेशमा बस्ने छोराको कथा

सुनिता गाइसी
नेपालको एउटा सानो गाउँमा बुढा बा–आमा बस्नुहुन्थ्यो । उहाँहरूको एक मात्र छोरा थियो, साजन । बाल्यकालदेखि नै साजन पढाइमा तेज थियो। गाउँमा राम्रो पढाइ नपुग्ने भएकाले बा–आमाले ठूलो सपना देख्दै ऋण–धन गरेर उसलाई शहर पठाए, अनि पछि विदेश पनि पठाइदिए। साजन विदेश गयो। सुरुका दिनहरूमा ऊ धेरै व्यस्त रह्यो—काम, कमाइ, नयाँ देश, नयाँ साथीहरू। फोनमा बा–आमासँग कुरा हुँदा ऊ छिटो–छिटो बोल्थ्यो। “बा, ठीक छ, म व्यस्त छु... पछि कुरा गरौं,” भन्ने उसको सामान्य जवाफ हुन्थ्यो।उता गाउँमा बा–आमा भने दिन गन्दै बस्थे। आमा बिहानै ढोकातिर हेरेर भन्थिन्,“आज छोरोले फोन गर्छ कि?”बा भने चुपचाप बस्थे, तर आँखामा छोराको याद स्पष्ट देखिन्थ्यो। घरमा छोराको पुरानो किताब, फोटो, र उसका बाल्यकालका कपडा हेरेर दुवै जनाको मन भारी हुन्थ्यो। समय बित्दै गयो। साजन विदेशमा सफल भयो। पैसा पनि कमाउन थाल्यो। उसले सोच्थ्यो—“मैले त बा–आमाका सबै दुःख हटाइदिएँ, अब त उनीहरू खुशी हुनुपर्छ।”। तर गाउँमा वास्तविकता फरक थियो। बा बिरामी पर्न थालेका थिए। आमा एक्लै सबै काम गर्न सक्दिन थिइन्। उनीहरूलाई पैसाभन्दा पनि छोराको साथ चाहिएको थियो। एकदिन साजनलाई गाउँबाट फोन आयो—बा गम्भीर बिरामी छन्। साजनलाई अचानक भित्र केही चसक्क भयो। धेरै वर्षपछि उसले पहिलो पटक ढिलो गरेर सोच्यो—“मैले के गुमाइरहेको छु?”ऊ तुरुन्तै नेपाल फर्कियो। घर पुग्दा बा ओछ्यानमा कमजोर भएर पल्टिरहेका थिए। आमाको आँखामा धेरै दिनको आँसु जमेको थियो। बा कमजोर स्वरमा बोले “छोरा... तिमी ठीक छौ त?”साजन को आँखाबाट आँसु झ¥यो। ऊ नजिकै बसेर भन्यो,“बा, म ठीक छु... तर मैले तपाईंहरूलाई ठीक राख्न सकिनँ।”त्यही क्षण उसले पहिलो पटक महसुस ग¥यो—विदेशमा कमाएको पैसा भन्दा ठूलो कुरा बा–आमाको साथ रहेछ। आमा चुपचाप छोरोको टाउको सुम्सुम्याउँदै भनिन्,“छोरा, पैसा त आउँछ जान्छ... तर तिमी हाम्रो साथमा हुनु नै हाम्रो जीवन हो।” त्यस दिन साजनले बुझ्यो—विदेशमा हुँदा ऊ काममा व्यस्त थियो, तर घरमा बा–आमा मायाको लागि पर्खिरहेका थिए र साँचो माया भनेको केवल खर्च पठाउनु होइन, साथ दिनु रहेछ।
 

Comments