‘‘कलाकौशलले भरिपूर्ण भक्तपुरमा हाम्रो यात्रा’’
जेठ १८, २०८३, सोमबार | साँझ ०४:२९ बजे | 85
प्रजापति तिमिल्सिना
रचनाकार
कोटेश्वर
९८४१०४६५१३
मित्र पदम दाहाल र मेरो डा इन्दुल केसीसँगको सम्बन्धको शुरुआत केही समयको फरकमा भएको हो जस्तो लाग्दछ । यतिथोरै समयमा पनि हामीले उहाँसँगको सम्बन्धलाई अत्यन्त गाढा बनाउन सक्यौँ । तर त्यो सम्बन्ध के को लागि थियो भनेर सोध्नुभयो भने म भन्न सक्दिनँ, के कालागि थियो ? यति भन्न सक्छु कि, हाम्रो सम्बन्धमा कुनै आशा र अपेक्षामा रचिएको छैन । त्यसैले यो सम्बन्धको यात्रा यहाँसम्म आइपुग्दा हामी तीनै जनाको अन्तरर्आत्मासँग जोडिन पुगेकोछ । यसमा थपगरेर म यतिमात्र भन्न सक्छु यो समयले हामीलाई दिएको आशीर्वाद मात्र थियो । त्यसैले पनि होला त्यो सम्बन्धको सम्झनाले हाम्रा सम्बन्धका आग्रहहरू थपिरहने गरेका । तर ती आग्रहहरूले थाहैनपाई गाढा बनेको यो सम्बन्धमा नवीन श्रृङ्खलाहरूका सुखपूर्ण अध्यायहरू पनि थपिदै जाऊन्, अनन्त बनून् हार्दिक कामना ।
यो सम्बन्धले गर्दा नै डा इन्दुल केसीका आयामका आँगन आँगनमा घुमायो । वहाँको भजनमा पु¥यायो । भजनका डबलीमा बसायो । हार्मोनियमको साथमा उहाँको भजन गायनको उस्तादीपन मनले सम्झिरहन्छ । यो सम्बन्धले वहाँसँग प्राकृतिक उपचार गर् भनेर अरायो, वहाँको क्लिनिकसम्म पनि पु¥यायो । दुखेको घाँटी एलोपेथी उपचारले सन्चो पार्न नसकेको, सन्चो पा¥यो । यो वहाँको उपचारको विशेषताका शब्दहरू मुखबाट निस्कदा मनले सम्झिरहन्छ वहाँको ‘उपचार’ । फेरि वहाँको साहित्यिक व्यक्तित्वले लेखेका कविता र लेखहरू पढिरहँदा म आफैले वहाँका विषयहरू खोजेर आख्यान लेखिरहे जस्तो लाग्छ । यस्तै यस्तै वहाँका थुप्रै आयामहरू छन् । वहाँ कुशल योग शिक्षक हुनुहुन्छ । वहाँ दक्ष प्रशासक पनि हुनुहुन्छ । थुप्रै सामाजिक संघसंस्थामा आबध्द हुनुहुन्छ । यस्ता वहाँका थुप्रै आयामहरूसँग पनि हाम्रो सम्बन्ध आकषर््िात भइरहनेगर्छ । हामी बिचको यो सम्बन्धको शुरुआत शब्दयात्रा प्रकाशनको कार्यकक्षमा भएको थियो । यो सम्बन्धले विस्तारो बिस्तारो जराहाल्दै अब छहारी दिनसक्ने परिपक्क बृक्ष बनिसकेको देख्दा, ममा सन्तोषको सीमा नै रहँदैन । तर यो सम्बन्ध कुन कौतुकमा बाँधिएको छ, त्यो मलाई थाहाछैन । यस्तो सम्बन्धको शुरुआत गरिदिने शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिनैपर्छ । धन्यवाद,‘शब्दयात्रा प्रकाशन ।’ फेरि मलाई शब्दयात्रासँग परिचय गराउने भेट गराउने मित्र, पदम दाहालजीलाई पनि हार्दिक हार्दिक धन्यवाद ।
डा इन्दुल केसीको जन्मस्थान नेपालको प्राग ऐतिहासिक नगरी भक्तपुर हो । यो ऐतिहासिक नगरी, भैरवको भूमि अर्थात भैरवको नगरी, आध्यात्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाहरूले भरिपूर्ण मानिन्छ । यी पुरातात्विक सम्पदाका विषयहरूमा लेखिएका आख्यानहरू पढ्दा सुन्दा, हतारका उकुसमुकुसता आफैभित्र नअटाएर निस्कन्छन् । यस्तो हाम्रो सम्बन्धको समय चलिरहँदा वहाँ पनि भनिरहनु हुन्थ्यो,‘आउनुहोस् न तपाइँहरू मेरो नगरीका सम्पदाहरू घुम्न । म पथ प्रदर्शन गरिहाल्छु‘नि ।’ आग्रह भरिएको वहाँको व्यवहार देख्दा मन पानी पानी हुन्छ ।
भक्तपुर सहर यसका कलाकौशल, मठमन्दिरहरू, आध्यात्मिकता र यिनको अन्तरव्यापी विषयमा सुन्दा मात्रै पनि जीवनमा भइरहने सामाजिक उल्कापातका श्रृङ्खलाहरूको तनावबाट मुक्ति दिलाउने आशा बोक्ने मनले सोचिरहन्थ्यो,‘ यहाँका मठमन्दिरहरूमा प्रवाहित भइरहने भागवत तत्वले दिने शान्ति , शक्ति र आध्यात्म चेतना अरु कसैले दिन सक्छ जस्तो मलाई लागेन । मेरो अन्तस्करणले भागवत के हो भन्ने बुझ्नै नसकेर हो कि, किन हो ? मेरो हृदय घरिघरि ताते जस्तो भइरहन्थ्यो । मन त्यहाँ जान मन लालायित भइरहन्थ्यो । त्यो लालायित मनले बोलिरहन्थ्यो, यो जगत्मा जुनरुपमा भएपनि पापपुण्य त छ ,कसले भन्छ छैन भनेर ? पापपुण्य छ ,त्यसैले ईश्वर छ ।’ अनि, इन्दुलजीका ‘ईश्वरहरूको वासस्थान हेर्न आउनुहोस् न’ भन्ने शब्द, सुन्दै झनै लोभिन थालँे । मलाई लाग्यो,‘ उहाँ भक्तपुरका आध्यात्मिक लगायतका कलाकृतिहरूको वारेमा जानकारी बाँड्न हामीलाई मात्र हैन हामी जस्ता जो कसैको पनि अग्रदर्शक बन्न तयार हुनुहुन्छ भने हामी किन नजाने ?
मानिसले पछिल्लो उमेरमा भोगिरहेका वा देखिने वा देखिरहने दृश्यहरू हेरिरहँदा, जलसागर बाट उठेको वाफ बादलको आकार लिएर उड्दै जाँदा पहिला जलसागरमा नै छायाँ पार्दै जान्छ । सायद वर्तमान समाजले प्रौढतालाई दिएको उपहारको प्रकृति पनि यस्तै छ होला । उमेरको प्रौढतामा आत्मा शान्तिको शब्द ‘भगवान्’को श्रध्दामा समर्पित मनको आदेशमा चलेका पाइलाले हामीलाई आध्यमत्मिकताले टौटक्याउँदो उज्यालो बनेको भक्तपुर सहरमा भगवान्को वासस्थान हेर्न घुम्न तत्पर बनायो ।
वहाँको अनुरोधसँग जोडिन पुग्दा मलाई कहिलेकाहीँ लागिरहन्थ्यो, यो नगरीका उच्च सम्पदाहरूलाई म मेरा लेखन यात्रामा सामेल कसरी गरुँ ? अनि, मेरा अन्तस्करणको केन्द्रबाट हुर्केको चाहनाले भनिरहेको थियो, पुस्तक ‘श्येन दूत’मा यहाँका सम्पदाका प्रसङ्गहरू जोड्दा उचित होला ।’ तब मैले मित्र पदम दाहालस्ाँग सल्लाह गरेर वहाँलाई अनुरोध गरँे, म र मित्र पदम दाहाल आउँछौ है त, चाँगुनारायण लगायतका–सम्पदाहरू हेर्न ? वहाँले वडो सौहार्द्रताका साथ स्वीकार्नुभयो । त्यही सौहाद्र्रतामा दिन यकिन गरेर हामी दुई जना भक्तपुरतिर लाग्योँ । त्यो दिन थियो २०७९ सालको बैशाख २ गते ।
१) चाँगुनारायणतिर
मेरो ज्ञानमा भक्तपुर नगरी , उपत्यकाको जेठो नगरी,आध्यत्मिक नगरी, कलाकौशलले भरिपूर्ण नगरी, वास्तु विधिबाट बसाइएको नगरी, भैरवको नगरी, तन्त्रसाधनाको नगरी । यो नगरी भित्रका सम्पदाहरू हेर्न हामी दुईभाइ मनभरी उत्साह बोकेर भक्तपुर पुग्यौँ । निर्दिष्ट ठाउँमा हामीलाई लिन हामी भन्दा पहिले नै इन्दुलजी आइपुग्नु भएको रहेछ । बडो उत्साह साथ उहाँसँग आत्मियता साट्यौँ । केही छिनको रमाइलो कुराकानी गरेपछि हामी बस चढेर चाँगुनारायणतिर लाग्यौँ ।
अन्न आत्माको पोषक हो । यस्तो पोषकतत्व उब्जनीहुने मलिला फाँटहरू मासेर बनाइएका घरैघरको बिचमा बनेको सडक । अनि, सडकको दायाँवायाँ बनेका घरहरू हेर्दै गयौँ । केहीवेर पछि हामी चढेको बस पहाडमा फेरोमार्दै चढ्न थाल्यो । अघि सामने देखिएको बस्ती अब तलतल देखिदै जानथाले । दृश्यहरू हेर्दै अचम्मै लाग्नथाल्यो । माथि आध्यात्मिकता बोकेको शिखर तल उपत्यकाका उब्जाउ फाँट, अराजक निर्माण झै बनेका घरैघरले भरिएको दृश्य ।
केही छिनको चढाइपछि बस आफ्नो गन्तव्यमा पुगेर रोकियो । बस सहायकको, ‘ल आयो चाँगुनारायण’को हल्लासँगै हामी तल झ¥यौँ । दुई ससाना पहाड बिचको द्यौरालीबाट (घाँटी ) वरिपरि हेर्दा वरिपरिको दृश्य हाँसिरहेजस्तो देखिने कस्तो कृडामय स्थान । दक्षिणतिर हेर्दा अग्लो स्थानमा घरैघरले भरिएको पुरातात्विक सहर भक्तपुर । पूर्वमा पहाडको छेउछेउबाट देखिने भूमिमा भरिएका घरैघरको अचम्मैलाग्ने निर्माण । उत्तर मूलपानीको फाँटमा मस्यौदा शैली बिना बनाइएका घरैघर, कत्रो बस्ती ? पश्चिम राजधानी काठमाडौ सहर, जहाँ रहरेको खहरेमा उछेपी खेल्न देशका विभिन्न ठाउँबाट आइरहेकाहरूले बास राख्ने ठाउँ । यसरी बढिरहने जनघनत्वले सकृय बनाएको प्रदुषण प्रयुक्त मृत्युसास फेर्दै मानिसहरू छट्पटिए जस्तै देखिन्छन् पनि । तर सुदुर उत्तरभने सदाहाँसिरहने हिमालका प्रकृति प्रेमी छटाहरूको त्यो अनुपम सौन्दर्य हेरिरहँदा भने नजरहरू रमाइरहे ।
त्यो घाँटी जहाँबाट पश्चिमतिर देखिएको पहाडको शैल शिखर पुग्न प्रस्तरका सुन्दर सिँढीहरू देखिइरहेका थिए । हामी तिनै सिँढी पछ्याउन थाल्यौँ । सिँढी पछ्याइरहँदा लाग्यो, हामी भिन्दै प्रकारको जीवन अवकाश खोज्न आएका त हैनौ ? आफै अति जाँगरिलो इन्दुलजी सिँढी चढिरहँदा जाँगर पोखाइ पोखाइ जोगाइ राखेका अनुहारमा कतै मुजा देखिएका थिएनन्, टलक्क टल्केको । टल्केको अति प्रसन्न तर गम्भीर मुखमुद्रा हँसाउँदै हामीलाई हेर्ने गर्नुहुन्थ्यो । हामी पनि वहाँलाई हेरेर मुस्कुराइरहन्थ््यौँ । फेरि सबै हाँस्दैहाँस्दै सिँढी चढिरह्यौँ ।
मन्दिर पुग्ने श्रध्दालुहरूलाई डो¥याइरहने पत्थरका कलात्मक सिँढीहरू, तिनै सिँढी पछ्याइरह्यौँ । उत्तरका हिमश्रृङ्खला हेरेर हाँसिरहने त्यो शिखर शैलमा पुग्न इन्दुलजीलाई अलि गारो परेजस्तो देखिन्थ्यो । दुईचार सिँढी चढ्दै फर्कदै लामो सास लिदै फेरि चढ्दै गर्नुभयो । तर अनुहार प्रसन्नताले हँसाइरहेको थियो । हामीलाई हेर्दै हाँसिरहने वहाँका आँखासँग हाम्रा आँखा वात मारिरहन्थे, रमाइलो लाग्थ्यो । चढिरहँदा ,देख्थ्यौँ वहाँको सहाससँग शारीरिक अशक्तता हारिरहेको । उमेरको उज्वलनले होला अनुहारमा चहकको कमी थिएन । तर पनि शारीरिक संलयनका कारण बिस्तारेै चढिरहनु भयो । हामी पनि सँगै सिँढी चढिरह्यौ । सिँढीको दायाँवायाँ चिटिक्क परेका सफाघर । घरका आँगन आँगनमा, पिढीँ पिढीँमा टोकरी टोकरीमा विभिन्न रङ्का चहकिला फूलहरू र पूजा सामाग्रीले सजाइएको अवस्था देख्दै मन रमाउने । फूलको सुन्दरताको मादकताले हामीलाई सहजता दिइरहेको छ जस्तो पनि लाग्थ्यो । हामी चढिरह्यौ चढ्दाचढ्दै कलात्मक द्वारको सामु पगेछौ । एक लाइनमा खडाभएर द्वारमा शिर टेकाउँदै भित्र प्रवेश ग¥यौ । मनको आध्यात्मिक अनुभूतिमा शरीरका पत्रापत्राले हलुका अनुभव गरिरहे ।
भगवान् देवीदेवताहरूको समुहमा रहने गर्छन् भनिन्छ । विष्णु भगवान् पनि देवी देवताहरूको साथमा रहने गर्नुहुन्छ । मन्दिर प्रवेश गर्दै यस्तै दृश्य देख्याँै । अनि, मित्र पदम दाहाल र मलाई समुहमा रहेका देवीदेवताको स्पर्शमात समेल्न मनलाग्यो, समेल्ने कोसिस तिर लाग्यौँ । तर हाम्रा अग्रदर्शक डा इन्दुल केसी मूल मन्दिरतिर लाग्नु भयो ।
२)चाँगुनारयण मन्दिर परिसर
त्यो सानो मन्दिर प्रवेश गदै समुहमा रहेका छिन्नमस्ता,वैष्णवी, उमामाहेश्वरी,ब्रम्हायणी,कुमारी, सरस्वती देवीहरूको सुवासयुक्त सान्निध्यमा रमाइरहेका कान्ति भैरव, सङ्कटा र वराह भगवान्हरू सबैलाई क्रमैले पूजा अर्चना ध्यानमन ग¥यौँ । कर्माचार्य थरका पुजारीबाट भगवान्को वारेका केही जानकारी लियौँ । पुजारीको हातबाट तिलक टीका ग्रहण ग¥याँै । आध्यात्मिक आनन्दमा उठिरहे आत्मिक अशेष अभिलाषाहरू । यो भगवान्को करुणामयी प्रदत्तता हो कि जस्तो पनि लागिरह्यो ।
यस्तो अनुभूति गर्दै हामी नारायण भगवान्को मन्दिरतिर लाग्यौँ । मन्दिर परिक्रमा ग¥यौँ । परिक्रमा गर्दा वरिपरि घना हरिया बृक्षहरू देखिन्थे । ती बृक्षहरूमा बसेका विविध पन्छीहरू मिठो स्वर निकालेर बोलेका प्रष्ट सुनिने, कस्तो आनन्दमयी वातावरण । यही आनन्दमयी वातावरणमा रहने नारायणलाई स्थानीयहरू चाँगुनारायणको नामले पुकार्ने गर्दछन् । इतिहासअनुसार लिच्छवी कालमा यो स्थानलाई दोला शिखर भन्ने गरिन्थ्यो पनि । यहाँ रहने नारायणलाई दोलाशिखर स्वामी भनिन्थ्यो । पछि मल्लकालमा आएर यहाँ रहने नारायणलाई चाँगुनारायण भन्ने गरियो । नेपाल भाषामा चाँको अर्थ चाँप र गँुको अर्थ वन हुन्छ । त्यो समयमा उक्त स्थान चाँपैचाँपको जङ्गल थियो । चाँपैचाँपैको जङ्गलमा बस्ने नारायणलाई चाँगुनारायण भन्ने गरियो । आज यो स्थान देशको प्रमुख तीर्थस्थान बनेकोछ ।
यो परिसरको बिचमा चाँगुनारायण भगवान्को मन्दिर रहेकोछ । यो सुन्दर उपत्यकालाई असमान्य ऊर्जाबाट जोगाइ राख्न उपत्यकाको चार दिशाका चार स्थानमा भगवान् नारायण रहनुहुन्छ । यो स्थान पनि तिनै नारायणको विशेष रोजाइमा परेको मानिन्छ । भनिँदो रहेछ पनि नारायण भगवान् यहाँ त्यसै रहनुभएको होइन, उपत्यकाको रक्षार्थ रहनु भएको हो । भगवान्ले आफू रहने स्थानको छनौटले पनि अर्थ राखेको हुन्छ ।
प्यागोडा शैलीमा निर्मित यो मन्दिर लिच्छवीकालीन वास्तुकलाको सवातर््ेकृष्ट नमुना मानिन्छ । यस मन्दिरमा विष्णु भगवान्का दश अवतारका मुर्ति पनि देख्न सकिन्छ । यो मन्दिर अत्यन्तै कलात्मक ता छदैछ । यसमा रहेका यी मूर्तिरहरू पनि उस्तै कलात्मक छन् । यो मन्दिर राजा हरिदत्त वर्माले निर्माण गरेको मानिन्छ भने बि स ५२१ मा राजा मानदेवले यो मन्दिरको मर्मत सम्भार गरी, मन्दिरको अगाडि गरुड भगवान्को मूर्ति राखी शिलालेख राख्न लगाएका थिए भन्ने भनाइ पाइन्छ । मन्दिर नजिकै रहेको यो शिलालेख र गरुडको मूर्ति हामीलाई पनि हेर्ने सौभाग्य मिल्यो ।
अनि हामी भगवान्को द्वार नजिकै गएर खडाभयौँ । चारहात भएका नारायण भगवान विशाल कायामा पश्चिम मुख गरेर विराजमान हुनुहुँदो रहेछ । अत्यन्तै तेजोमय स्वरुप भएका नारायण भगवान्लाई हेरिरहँदा भागवत श्रेयमा नुहाइरहेजस्तो लाग्यो । चरणतल अनन्त प्रकाशित दियो जलिरहेको थियो । सायद यो जीवन ज्योत र जाँगर जगाउन जलिरहेको होला । नमन गर्दै केहीवेर आफूलाई समर्पण गरिरह्यौँ । यसरी भगवान्का चरणमा आफूलाई सर्मपण गरिरहँदाको क्षणबाट बिउँझे झैँ गरेर आँखा खुल्दा केहीवेर यही अलौकिक सौन्दर्य निखारको आध्यात्मिक आलोकमा रमाइरहेको अनुभूति ग¥यौँ । त्यहाँ चलिरहने मन्द हावाका लघुतरङ्गले दिइरहने शीतलतामा पनि अनिन्द्य आनन्द प्राप्त भइरह्यो । गज्जवको अनुभूति, कस्तो सुरम्य स्थान ? वेदनाले जलाइरहेको मनलाई शान्ति दिन सक्ने । यो अनुभूतिमा रमाउँदै फेरि नारायण भगवान्को मन्दिर परिक्रमा गर्दैगर्दा मनले भनिरह्यो, यो लोकमा केवल सत्य भनेको भगवान् मात्र होलान् । अर्थात् भगवान्ले मात्र सत्यको बोध गराउँदछन् होला । यही अनुभूति लिदै किलेश्वर महादेव मन्दिरतिर लाग्यौ ।
किलेश्वर भगवान्को मन्दिर परिक्रमा गर्दै पूर्वमुखको द्वारमा उभिएर चारैतिर नजर घुमायाँै । हाम्रा नजरले आजका हाम्रा अग्रदर्शक इन्दुल केसीजीलाई खोजिरहे । वहाँ धर्मिक अनुष्ठान भइरहेको स्थानमा एकजनासँग गफमा मस्त हुनुहुँदो रहेछ । पछिमात्र थाहाभयो उहाँ त चाँगुनारायण मन्दिरका मूल पुजारी धरानन्द राजोपाध्या पो हुनुहुँदोरहेछ ।
मन्दिरभित्र शिवलिङ्ग स्वरुपमा रहनु भएका किलेश्वर महादेवका चरणमा पनि केही वेर आफूलाई समर्पण प्रयासमा लागिरह्यौँ । सदानन्द शिव शैवत्वमा रमाउदा रमाउँदै हामी धार्मिक अनुष्ठान भइरहेको स्थानतिर लाग्यौँ ।
डा इन्दुल केसीले यहाँका भगवान्को विषयमा थप केही जानकारी लिन सकिन्छ कि ? भनेर ती मूल पुजारीसँग समय लिइसक्नु भएको रहेछ । वहाँको प्रतीक्षाको समयमा केहीवेर हामी इन्दुलजीसँग रमाउँदै भगवान्को यो सर्वोच्चता अनि आत्मा अर्तीय खोज्दै भगवान्वादका बिषयमा मिठामिठा कुरा गरी बस्यौँ ।
केही कालमा नै उद्भट् व्यक्तित्व, हँसिलो चेहरा भएका धरानन्दजी आइपुग्नु भयो । इन्दुलजीले बडो ठट्यौली पारामा उहाँसँग हाम्रो परिचय गराउनु भयो । केहीवेर सबैको मुखबाट अट्टाहास हाँसो निस्क्यो । त्यसपछि हामी भगवान्को उत्पत्ति र स्थापनाको बिषयतिर लाग्याँै । पदम दाहालजी र म पत्रकारका झैँ कापीकलम निकालेर टिपोट गर्नथाल्यौँ ।
भगवान् चाँगुनारायणको उत्पत्तिसँगै काठमाडौ उपत्यको उत्पत्ति बारे कुरा चल्यो । तर उपत्यकालाई बस्ती निर्माण योग्य बनाउने क्रममा मञ्जुश्रीले चोभार काटेर पानी बगाएको हो भनी आजसम्म अनुमोदन पाएको ऐतिहासिक तथ्यलाई वहाँको कथन्ले स्वीकार गर्दैगरेन । वहाँको कथन थियो,‘ यो उपत्यकाको पानी अरु कसैले नभै स्वयं श्रीकृष्ण भगवान् आएर आफ्नो सुदर्शन चक्रले चोभार काटेर बगाउनु भएको हो । अनि मात्र उपत्यकामा बस्ती बिस्तार गरिएको हो ।’ यो कुरा सुनिरहनु भएका इन्दुल जीको मुखमा हे¥यौँ । हामीले हेरिरहँदा वँहा भन्नुहुन्छ,‘हो मेरा पिताजी केदारनाले पनि मलाई धेरै पटक भन्नुभएको छ, ‘हो बाबु श्रीकृष्ण भगवान् स्वयं यहाँ आएर चोभारको गल्छी आफ्नो सुदर्शन चक्रले काटेर उपत्यकाको पानी बगाउनु भएको हो । त्यसपछि मात्र यहाँ बस्ती बसाएको हो ।’
उपत्यका उत्पत्तिका यी कुरा सुनिरहँदा लाग्या,े ऐतिहासिक तथ्यको पनि अनुसन्धान भइरहनु पर्ने रहेछ । यो ऐतिहासिक तथ्यमा पनि थप अनुसन्धान हुन अझै बाँकी पो छ कि ?
यस्तै केही ऐतिहासिक तथ्य, केही कथ्य केही सत्य खोज्ने प्रयास अनुसार केही जानकारी पाए मुताबिक पहिले यो शिखर चापैचाँपको जङ्गल भरिएको जङ्गल थियो । यही चाँपको जङ्गलमा बस्नेलाई स्थानीयहरू चम्पक नारायण भन्न थाले । चम्पक नारायण बाट अपभ्रंश हुदै भगवान्को नाम चाँगुनारायण बन्न पुग्यो । जुन नाम अहिलेसम्म प्रचलित छदैछ ।
यो उपत्यका दहको रूपमा रहँदा दहमा मदन नामको राक्षस जलकी्रडा गर्ने गर्दथ्यो । श्रीकृष्ण भगवान् आएर चोभार काटी दहको पानी बगाएपछि उपत्यका जलाशयबाट स्थलमा परिणत भयो । अब भने दहमा जलक्रीडा गरिरहने मदन नामको राक्षसले जलक्रीडा गर्न पाएन । जलकी्रडा गर्न नपाउँदा खुबै रिसाउँछ । रिसको झोँकमा उसले निर्णय गर्छ , पौडीखेल्न जसरी पनि मैले फेरि जलाशय बनाउनै पर्छ । अनि, त्यो काटिएको भाग पुर्न उपुयुक्त ठाउँ खोज्दै हिँड्छ । खोज्दै हिँड्दा यही शैलशिखर देखेर लाग्छ,यो शिखर उखेलेर लग्न सकेँ भने काटिएको भाग पुर्न सकिन्छ भन्ने लाग्छ । अनि, शिखर उखेल्न भनी हल्लाउन थाल्छ ।
यो शिखर जोडतोडले हल्लिदा यही शिखरमा शयन आनन्दमा लिइरहेका भगवान् विष्णु बिउँझनु हुन्छ । नारायण भगवान्लाई डर हुन्छ, कतै यो शिखरै उखेलेर त लग्दैन यो राक्षसले ? यसले त महादेवबाट अमरत्व र दिग्विजयको आशीर्वाद पाएको छ । योसँग लडेर जित्न सकिदैन होला भन्ने लागेर भगवान् विष्णु महादेवका शरणमा पुग्नुहुन्छ । स्थितिको सबै वास्तविकता अवगत गराउँनु हुन्छ । भगवान् महादेव आश्वासन दिदै भन्नुहुन्छ,‘ भगवान्, जानूहोस तपाईँ आनन्दसँग रहनूहोस । म किलो बनेर त्यो पर्वतमा गाडिएर पर्वतलाई अड्याउने छु । अनि, त्यसले हल्लाउन सक्नेछैन ।’
भगवान् महादेव यही शिखरमा किलो बनेर गाढिइरहनु भयो । भगवान् महादेव किलो बनेर गाढिएपछि मदन राक्षसल योे पर्वत हल्लाउन सकेन अनि, ऊ छाडेर गयो । भगवान् महादेवले आँफू किलो बनेर यो पर्वतलाई अड्याउनु भएको सम्झना र सम्मानमा किलेश्वर महादेव स्वरुप शिवलिङ्ग स्थापना गरी मन्दिर निर्माण गरिएको बताइन्छ ।
भगवान् नारायण किन त्यो पर्वतमा शयन गर्नुभयो त ? भन्ने प्रसङ्गको कथनमा, यो जङ्गल चरनक्षेत्र भएकाले यहाँ गाईवस्तुहरू चर्न आउने गर्थे । एकजना सुदर्शन नाम गरेको ब्राह्मणका गाईहरू पनि उसको चरवाहले यही जङ्गलमा चराउन ल्याउने गर्दोरहेछ । त्यो बथानमा एक सुन्दर गाई थिइन् । जसले सबैभन्दा धेरै दूध दिनेपनि गर्थिन् । चरवाह त्यही गाईको दूध दुहेर ब्राह्मण कहाँ पु¥याइदिने गथ्र्यो । ब्राह्मण आफ्नो दैनिक पूजाकर्ममा त्यही गाईको दूध र दूधमा पकाइएका पक्वानहरू भगवान्लाई चढाउने गथ्र्यो । अकस्मात् चरवाहले दूध पु¥याइदिन छाड्छ । अनि, दूध नपाएपछि ब्राह्मण को दैनिक पूजाकर्म रोकिन पुग्छ । पूजा रोक्नु परेकोमा ब्राह्मण अत्यन्तै क्रुध्द हुँदै चरवाह कहाँ पुग्छन् । चरवाहबाट गाईले दूध नदिएपछि म के गरूँ ? भन्ने जबाफ पाएपछि झन् आक्रोशित हुन्छन् । आक्रोशमा उग्रबन्दै हातमा तरवार हल्लाउँदै ्,‘मेरो गाईको दूध चोरेर खाने ? जसले चोरेर खाएको छ , त्यसलाई फेलापारे भने यही तरवारले गिँडिदिन्छु’ भन्दै उच्च आक्रोश पोख्दै हिँड्छ ।
उसको आक्रोश यतिले मात्र शान्त हुँदैन । अनि, ऊ गाईको चियो गर्न थाल्छ । चियो गर्दैजाँदा देख्छ, बथानसँग चरिरहेको गाई दूध दिने समय भएपछि बथान छाडेर निस्कन्छे । विशाल चाँपको रुखमा गएर अडिन्छे । त्यही रुखबाट एउटा कालो जिउभरी रौँले भरिएको नर पिशाच जस्तो जन्तु निस्केर गाईको दूध चुस्न थाल्छ । दूध चुसेको देख्दै झन् उग्र आक्रोशित बन्छ । अनि, दाैिडदै गएर त्यो नर पिशाचलाई तरवारले च्वाट्ट गिँडिदिन्छ ।
शिर क्षेदन गरिएको त्यो पिशाचको शरीरबाट बिशाल कायामा चार बाहु भएका नारायण भगवान् उत्पन्न हुन्छन् । दृश्य देख्दै ब्राह्मणलाई भयावह लाग्छ । डरले लगलग काँप्न थाल्छ । सायद उसलाई आफूले जघन्य अपराघ गरँे भन्ने बोध हुन्छ । अनि चिच्याउँदै बोल्छ, ‘प्रभु ! मैले ठूलो अपराध गरे । मेरो अपराध क्षम्य छैन । मलाई मृत्युदण्ड दिनूहोस्’ भन्दै पाउमा पर्दछ ।
पाउमा परेका ब्रह््मणलाई स्नेहपूर्वक उठाउँदै भगवान् भन्नुहुन्छ, ‘हैन ब्राह्मण, तिमीले कुनै सजाय भोग्नु पर्दैन । तिमीले त उल्टो मलाई श्रापबाट मुक्त गरायौ । तिमीसँग म अत्यन्त प्रसन्न छु । यो स्थान अब मेरो लागि अत्यन्त प्रिय बनेको छ । यो स्थानले मलाई ऋषि श्रापबाट मुक्ति दिलायो । अब यो स्थानमा रहन चाहन्छु । तिमीले मेरो सेवा गरिरहनु ल, भन्दै अँगालो मार्नुहुन्छ । ब्राह्मण पनि खुसी हुँदै भगवान्लाई यही स्थानमा रहन अनुरोध गर्छ । आफूले जीवनभर सेवा गर्ने बिन्ती चढाउँछ । भगवान् मञ्जुरी दिनुहुन्छ । मन्दिर निर्माण गरेर भगवान्लाई स्थापना गरी पूजा गर्न थाल्छ । भगवन् भक्तिमा ब्राह्मणले शुरुगरेको पूजा आजसम्म पनि चलिरहेको छ, चलिरहने छ ।
भगवान् मुक्तिको यो कुरा युगौँ पहिलेको कुरासँग जोडिएको मानिन्छ । सुमित नाम गरेका ब्राह्मण असुर गुरु शुक्राचार्यबाट दीक्षित रहेछ । देवासुर सङ्ग्राम हुने निर्णय भएपछि सुमितलाई असुरहरूको सेनामा सामेल हुन आज्ञा दिन्छन् गुरु शुक्राचार्य । गुरुको आज्ञालाई अवज्ञा गर्न सक्दैन सुमित । अनि, असुरहरूको सेनामा सामेल भएर देवताहरू विरुध्द लड्न थाल्छ । युध्द घमासान हुँदै जाँदा बिष्णु भगवान्को हातबाट यो सुमित ब्राह्मण मारिन्छ । सुमित मारिएको दृष्य देखिरहेका शुक्राचार्य अत्यन्त क्रोधित हुँदै विष्णुलाई ब्रह्म हत्या लागोस् भनी श्राप दिन्छन् ।
गुरु शुक्राचार्यको श्राप सुनेका भगवान् विष्णु विचलित हुँदै श्राप मुक्तिको लागि अनुरोध गर्न गुरु शुक्राचार्य कहाँ पुग्दछन् । आफूले दिएको श्राप आफैले फिर्ता लिन अस्वीकार गर्छन् गुरु शुक्राचार्य । म श्राप मुक्त कहिले हुन्छु ? मुक्ति हुने उपाय के त ऋषिवर ? भन्दै भगवान् अनुनय विनय गरिरहनु हुन्छ । भगवान्को अनुनय विनय देखेर गुरु शुक्राचार्य भन्नुहुन्छ,‘ यो जुनीमा श्रापबाट मुक्ति सम्भव छैन । अर्को जुनीमा यदि सुमित ब्राह्मणका वंशका कसैले तिम्रो हत्या गरेछन् भने मात्र श्राप मुिक्तको सम्भावना रहनेछ ।’ यी सुदर्शन ब्राह्मण तिनै सुमित ब्राह्मणका वंशज हुन् भनिन्छ ।
यस्ता यहाँका कहानीका प्रसङ्गहरूका सरसयुक्त आनन्दमा रमाउँदा रमाउँदै ठाडो गरेर पर्न शुरुगरेका घामका किरणहरूले हाम्रा वरिपरि सलवलाउँदै हामीलाई सम्झाइरहेका थिए, ‘ए ! भोजन भोगको समय भयो ।’ किरणहरू हेर्दै हामी तीनै जना उठ्यौँ । यो महत्वपूर्ण जानकारी गराएकोमा अतुल कृतज्ञता जाहेर गर्दै धरानन्दजीसँग बिदा लियौँ । पुनः चाँगुनारायण भगवान्लाई ढोग चढाउँदै भगवान्को परिसरबाट श्रीयुक्त सुखको अनुभवगर्दै बाहिर निस्क्यौँ ।
यहाँ प्राप्त आत्मानन्दमा रमाइरहँदा यो स्थान छाड्ने मन त थिएन । यो स्थानबाट देखिने मनोरमतामा पनि रमाइरहन खोजेको थियो मन । समयले दिएन । यहाँबाट देखिने हिमाली सुन्दरता घुम्दै नजरमा भर्दै तल झ¥यौ । तिनै सुन्दर सिँढीहरूबाट तल झर्दै गर्दा इन्दुलजीको प्रश्न थियो, ’कस्तो लाग्यो ?’ यो स्थानको आध्यात्मिकता र सुन्दरता ? यसको बयानमा मभित्रका शब्द निस्कन सकेनन् । तर प्रसन्नता हाँस्न थाल्यो । नजरहरू झुकेर उत्तर दिइरहे ।
डा इन्दुल केसी धेरै भाषाका ज्ञाता पनि हुनुहुन्छ । नेपाल भाषामा पनि प्रथम भाषिका झै गरी बोल्नुहुँदो रहेछ । नेपाल भाषीहरूको क्षेत्रमा घुम्दा हामीहरू वहाँ मार्फत आत्मीयता साटासाट गथ्र्यौ । आत्मीयता साट्ने सजिलो माध्यम भाषा बाहेक अरू केही छ जस्तो लागेन । सिँढी झर्दै गर्दा सिँढीको तलतिर खानाका लागि होटलहरू रहेछन् । खाना कुन होटलमा खाने भनेर रोज्ने जिम्मा वहाँलाई नै दियौँ । वहाँ आजका हाम्रा अग्रदर्शी पनि हुनुहुन्थ्यो । होटलमा प्रवेश गर्दै वहाँले रोजेको होटल मालिकसँग वहाँ ख्यालठट्टा गर्न थाल्नुभयो । यसै बिचमा मैले झट्ट प्रश्न राखे,‘नेपाल भाषामा ठ्या मठ्या भनेको के हो ?’ वहाँ हाँस्न थाल्नुभयो ,होटलका साहु साहुनी पनि हाँस्न थाले । पदमजी र म वहाँहरूलाई हेर्दै मुस्कुराइरह्यौँ ।
खाना खाएर होटलबाट बाहिर निस्कँदा, अघि हामीलाई ठाडो झरेर भोजन भोगको समय भयो भनेर भनिरहने घामका किरण तेस्रो पर्न थालिसकेका रहेछन् । अनि, हामी हतारहतार गरेर बस चढ्यौँ । बसमा बसेर आपसमा चाँगुनारायणको विषयमा कुरा गरिरहँदा त्यो सुन्दर पहाडलाई फन्को मार्दामार्दै तल बेँसीमा झरिसकेछ बस । त्यसको केही समयमा नै हामी भक्तपुरको ब्याँसी पुगिसकेछौ । बस रोकियो । इन्दुलजीले इसारा गर्नु भयो, ‘यही झरौँ ।’
झर्दै भन्नुभया,े‘ चिया खाउँ है ?’ कति आत्मीयता ? क्षण क्षणमा खास खवरी लिइरहने । यो वहाँको आतिथ्य निपुणताको संकेत थियो होला । खाना भरर्खर मात्र खाएकोले पछि खाउँला हुँदैन ? भन्दै हामी महालक्ष्मी स्थानतिर बढिरह्यौँ । त्यो दिन सायद महालक्ष्मी र महाकालिको रथयात्रा थियो । हाकु पटासीमा सजिएका नारी र उमङ्गमा रङ्गिएका नरहरू बाजागाजा सहित हिडिरहेका । उनीहरू देख्दा लाग्थ्यो, ‘यिनीहरू भगवान् भेट्न हिडिरहेका होलान् ?’ हामीलाई पनि भगवान् भेटको लोभ जाग्यो । तिनीहरूकै हुलमा मिसियौँ । उनीहरूले दिएको पहेँलो टोपी पनि लगायौँ । अनि, सँगै हामीले पनि महालक्ष्मीको दर्शन ग¥यौँ । केहीवेर मात्र हुलमा मिसिदा उनीहरूसँग आत्मीयता साट्दै फोटो पनि खिचायौँ ।
त्यहाँबाट अगाडि बढ्दा गल्लीगल्लीमा भेट भएका नरनारीसँग इन्दुल जी हाम्रो परिचय खोलिदिनु हुन्थ्यो । बदलामा वहाँहरूबाट आत्मिक सम्बोधन सहित परिचय पाउँदा हामीलाई उत्सव झैँ पनि लाग्थ्यो । यो क्षण कहिल्यै बिर्सन नसकिने गरेर बसेको छ हामीमा । परिचयमा मात्रै कति गहिरो आत्मीयता बसेछ ? ‘हामीकहाँ बसेर खाजा खाएर जाऊँ है’ को यो वहाँहरूको अनुरोधलाई नकार्नै मन थिएन तर पनि हामीमाथि समय वाधक बनिरहेको थियो । यही बहाना देखाएर वहाँहरूसँग माफी माग्दै अगाडि बढ््याँै ।
(क्रमश...)
०००००
कवि पदम दाहाल डा. इन्दुल केसी
सहयात्री पथ प्रदर्शक
