खानेपानी ट्यांकी र फिल्टर जडान योजनाको उद्घाटन
फाल्गुन २२, २०७७, शनिबार | दिउँसो ०२:२४ बजे | 30
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुर नपाको नगरस्तरीय बजेटअन्तर्गत निर्माण गरिएको खानेपानी ट्यांकी तथा फिल्टर जडान योजनाको उद्घाटन तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भयो ।
उक्त योजनाको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्र खानेपानीको स्रोत नभएको कारण खानेपानीको सहज आपूर्तिका लागि नगरका विभिन्न ठाउँहरुमा डीप बोरिं कार्यलाई अगाडि बढाइरहेको बताउनुभयो ।
मानव जीवन, कृषि, उद्योगलगायतका क्षेत्रमा पानीको महत्वबारे चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले पानीको स्रोत तथा मुहान बचाउन प्रकृतिको संरक्षण गर्नु अपरिहार्य भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरमा लिच्छविकालदेखि नै खानेपानी आपूर्तिको लागि विभिन्न ठाउँमा राजकुलो, ढुंगेधारा, इनार, पोखरी, कुँवालगायतका पानीको स्रोतको व्यवस्था रहेको बताउनुहुँदै विज्ञान र प्रविधिको विकासका कारण जमिनमुनिको पानीलाई पिउन योग्य बनाउन सफल भएको बताउनुभयो ।
भक्तपुर नपा खानेपानी समितिका संयोजक एवम् वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले भक्तपुरमा खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न खानेपानीको पाइपलाइनमा सुधार भइरहेको अवगत गराउनुहुँदै खानेपानी अभावको समस्या समाधानको लागि नगरपालिकाले विभिन्न प्रयासहरु अवलम्बन गरिरहेको बताउनुभयो ।