तीन पुस्तकहरूको एक सङ्क्षिप्त परिचर्चा
जेठ १७, २०८३, आइतबार | दिउँसो ०३:५० बजे | 55
डा. इन्दुल के.सी.
भ.न.पा. ४, भक्तपुर, नेपाल
(सम्पर्क ९८४१३३४११३)
शुभारम्भ
आफ्नो ८८ वर्षको महारथारोहण (जंको) को शुभउपलक्ष्यमा श्री पशुपतिमान प्रधानज्यूले एकै दिन ३ वटा धार्मिक कथाका पुस्तकहरू सार्वजनिकीकरण उहाँको ८८ वर्ष ८ महिना र ८ दिन ८ घडी ८ पलामा गरिने जंक्वको उपलक्ष्यमा भएको एक कार्यक्रममा विभिन्न साहित्यिक अग्रणीहरूबाट भएको थियो । यस पुस्तकको लोकार्पण भक्तपुर तलेजु बाङ्कोटमा भएको भव्य कार्यक्रममा म स्वयं पनि उपस्थित हुने मौका पाएको थिएँ । श्री प्रधानज्यूको साहित्यिक यात्रा (पुस्तक लेखनको समय आज भन्दा करिव ७३ वर्ष पहिले भएको कुरो उहाँ बताउनु हुन्छ । उहाँको परिचय नेपाली भाषा र नेपाल भाषा (नेवारी भाषा) का व्यक्तिहरूलाई मैले दिइरहनु आवश्यक नै छैन । सबैले चिनेका उहाँ बहुआयामिक व्यक्तित्वका ज्येष्ठ नागरिक हुनुहुन्छ ।
मेरो र प्रधानज्यूका बिच मित्रताको सम्बन्ध वि.सं. २०२० सालमा काठमाडांै फर्पिङ् स्थित श्री त्रिभुवन आदर्श मा.वि. मा भएको थियो । हामी दुवै उक्त विद्यालयमा सेवारत कर्मचारी थियौं । त्यस विद्यालयका तत्कालीन प्रधानाध्यापक श्री धरणीधर कोइरालाज्यू हुनुहुन्थ्यो । त्यस विद्यालयमा अर्का शिक्षक श्री फणीन्द्रराज खेतालाज्यू पनि हुनुहुन्थ्यो । त्यस बेला त्यहाँ हामीहरू मिलेर विभिन्न साहित्यिक कृयाकलाप गरेको कुरा मेरो मानसपटलमा अझै ताजा छ ।
नेपाल साहित्य मन्दिर, भक्तपुरका उहाँ पूर्व उपाध्यक्ष तथा आजीवन सदस्य हुनुहुन्छ । प्रधानज्यूले लेख्नुभएका झन्डै एक दर्जन पुस्तकहरूले नै उहाँको बारे धेरै कुराहरू दर्शाउनेछन् । हाल उहाँ योगाटोल जगाती, भक्तपुर न.पा. वडा नं. ७ मा बसोबास गर्दै आउनुभएको छ ।
तीन पुस्तकहरू
१. श्री सत्यनारायण व्रतया बाखं (ब्रतकथा) ३. श्री बैभव लक्ष्मी ब्रत बाखं (ब्रतकथा)
२. श्री सन्तोषी मांया ब्रत बाखं (ब्रतकथा)
श्री पशुपतिमान प्रधानज्यूले उक्त तीनवटा पुस्तकहरू मलाई उपहार दिनुभयो । साथै उक्त पुस्तकहरू तीन थान शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष श्री हरि मञ्जुश्रीलाई उपहारस्वरूप प्रदान गरेको पुस्तकहरू हरि मञ्जुश्रीलाई दिन मलाई नै माध्यम बनाउनुभयो । श्री हरि मञ्जुश्रीले उक्त पुस्तकहरूलाई आफ्नो फेसबुकमा राखी हजारांै व्यक्तिहरूमा पु¥याउनुभयो । उक्त फेसबुक पेजमा हरि मञ्जुश्रीले लेख्नुभएको भनाइ निम्न अनुसार उद्घृत गरेको छु ।
पशुपतिमान पःमा“को प्रयास
“पशुपतिमान पःमाँले ३ वटा कृति मलाई पठाइदिनुभयो — (१) सत्यनारायण व्रतकथा (पृष्ठ ३२), (२) सन्तोषीमाता व्रतकथा (पृष्ठ ३६), (३) वैभवलक्ष्मी व्रत (पृष्ठ ४०) । तीनैवटा कृतिमा उहाँले लेख्नुभएको छ — ‘आदरणीय मित्र श्री हरि मञ्जुश्रीज्यूलाई सप्रेम उपहार ।’ तीनैवटा कृति नेपाल भाषामा छापिएका छन् । तीनैवटा कृतिको प्रकाशक भक्तपुरको ‘कुतः पिकाक’ रहेको छ । तीनैवटा कृतिको मूल्य एक–एक सय रुपियाँ राखिएको छ । तीनैवटा कृतिको अन्तिम आवरणमा कृतिकार पशुपतिमान पःमाँको सङ्क्षिप्त परिचय र उहाँका ११ वटा कृतिका आवरणको तस्बिर राखिएको छ । तीनैवटा कृति डा. इन्दुल केसीले मकहाँ ल्याइदिनुभएको हो । समाजको नयाँ पुस्ता आफ्नो मौलिक संस्कृतिबाट बिस्तारै विमुख हुँदै गएको अनुभूति भइरहेको छ । यस्तो बेलामा सरल भाषामा यस्ता खालका तीन कृति एकसाथ प्रकाशन गराएर पशुपतिमान पःमाँले समाजको नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतितिर फर्काउने प्रयास गर्नुभएको बुझ्न सकिन्छ । यसका लागि उहाँप्रति आभार व्यक्त गर्नु हामी सबैको कर्तव्य हो ।”
क) श्री सत्यनारायण व्रतकथा
हाम्रो आध्यात्मिक व्रतकथाको महत्व के कति छन् र तिनको परिपालन कसरी गरि आएका छन् भन्ने विषय पनि बहुसङख्यक नेपालीहरूमा ज्ञान भएको कुरा हो । ब्रह्म, विष्णु र महेश्वर ३ ईश्वरहरूमध्ये विष्णुका सहस नामहरू छन्, ती मध्ये प्रचलित नाम श्री सत्यनारायण पनि हो । श्री सत्यनारायणको पूजा विधि त्यसका लागि आवश्यक सामग्रीका साथै संक्षिप्त रुपमा श्री सत्यनारायणको यो व्रत कथामा उल्लेख भएको छ । यस व्रतको उपासना, पूजा, प्रार्थना गरी आत्माशुद्ध गर्ने एउटा पवित्र पद्घती पनि मानिन्छ । यस कथामा कुन कुन युगका को को व्यक्तिले यो व्रत बस्दा त्यसको प्रभावले तिनीहरू उद्दार भएको विवरणहरू अति सरल र संक्षिप्त रूपमा यहाँ प्रस्तुत भएको पाइन्छ ।
ख) श्री वैभवलक्ष्मी व्रत कथा
प्रस्तुत पुस्तकमा लक्ष्मीका बारे विविध कुराहरूको वर्णन छन् । लक्ष्मी श्री नारायणका अर्धाङ्गिनी
हुनुहुन्छ । लक्ष्मी धनधान्य एवं ऐश्वर्यकी देवी मानिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको लक्ष्मी पूजाको दिन नेपालीहरूले दिपावली गरी लक्ष्मीको पूजाआरधणा गर्ने हाम्रो परम्परा रहि आएको छ । यसै पुस्तकमा लक्ष्मीका विभिन्न नामहरू मध्ये अष्ट लक्ष्मी (८ वटा), सोह्र लक्ष्मी (१६ वटा) र ३२ वटा लक्ष्मीका नामहरू यहाँ उल्लेख भएका छन् ।
वैभवलक्ष्मी व्रत कथाको सारासंमा लोकेश्वरी नामकी एउटी असाहय महिलाले उक्त लक्ष्मीको पुजा आराधनाबाट तिनी उधार भएको कथा अती सरलरुपमा प्रस्तुत भएको पाईन्छ ।
ग) श्री सन्तोषीमाता व्रतकथा
सन्तोषीमाताको परिचयका सन्दर्भमा जनविश्वास र बुढापाकाहरूको भनाइ अनुसार उहाँ विघ्न विद्याता श्री गणेशकी पुत्री हुनुहुन्छ । यसको व्रत बस्ने चलन वि.सं. २०२० सालतिर देखी नेपाली महिलाहरूमा व्यापक रूपमा चलेको मानिन्छ । यो व्रत बस्ने विधि अन्य व्रत विधिभन्दा ज्यादै सरल र संक्षिप्त रूपमा सुसम्पन्न गर्न सक्नेछ । उक्त कथामा अनुसार एक बुढी महिलाका सातजना छोराहरू थिए । त्यसमध्ये सबै भन्दा कान्छो छोरालाई अन्य बुहारीहरूले निकै हेला गरेको कारणले कान्छो छोरा परदेश गयो । घरमा भएकी उनकी पत्नीले दुःख भोग्नुपरेको अवस्थाबाट पार पाउन सन्तोषीमाताको व्रत बसेपछि दुःखबाट मुक्त भएको वर्णन छ ।
अन्तमा
केही सान्दर्भिक कुराहरूरू
१. यी तीनैवटा पुस्तकहरू नेपाल भाषामा लेख्नुको कारण प्रधानज्यूको आफ्नै घरमा आफ्ना श्रीमती र बुहारीहरू व्रत वस्दा बजारमा पाइने अनेक किसिमका पुस्तकहरू वाचन गर्नुभन्दा आफ्नै मातृभाषामा सरल रूपमा आफ्नै घर परिवेशमा मिल्ने गरी तयार गरी यो व्रतको कथा वाचन गरेको भन्ने प्रधानज्यूको भनाइ छ ।
२. यस रचनाका लेखक म स्वयं इन्दुल के.सी. को घरमा मेरा पिता श्री केदारनाथ झाज्यूले प्रत्येक महिनाको १ गते संग्रान्तीका दिन श्री सत्यनारायणको व्रतपूजा तथा कथा वाचन गर्नुहुने भएकाले म स्वयंलाई पनि सत्यनारायणको पुजा विधी कथाहरू जानकारी छ ।
३. वि.सं. २०८० सालमा भक्तपुर नगरपालिका लिवालिवी टोलकी श्रीमती कृष्णकुमारी लवजुले आफ्नो घरमा श्री सत्यनारायणको पूजा, व्रतकथा वाचन गराउन आफ्ना परिवार र ईष्टमित्रहरूलाई आमन्त्रत गर्नुभयो । तर पूजाको दुई दिन पहिले उहाँको पुरोहितको आफन्त देहावसान भै जुथो बार्न पर्ने भएकाले उक्त कार्य गर्न नमिल्ने हुन गयो । कृष्णकुमारीज्यूले यस अवस्थामा के गर्ने भनी मसँग सल्लाह लिनुभयो । मैले तिमी धन्दा नमान्नू यो सबै काम म आफै पण्डित भई गराइ दिन्छु भने । सोही अनुसार मैले उक्त कार्य शुसम्पन्न गर्दा १५ जना व्रतालुहरूले मलाई दिएका दक्षिणा, सिधाका सामानहरू सम्पूर्ण मलाई दिनु भयो । तर मैले उक्त सामान र प्राप्त नगद दक्षिणा कुनै धार्मिक कार्यमा प्रयोग गर्नु भनी उहाँहरूलाई नै जिम्मा लगाइदिएँ ।
