दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सम्पन्न


जेठ १७, २०८३, आइतबार | दिउँसो १२:१८ बजे | 85


दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सम्पन्न

भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लामा सञ्चालित दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला शनिबार सम्पन्न भएको छ । 
‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर औद्योगिक क्षेत्र परिसरमा शुक्रबार र शनिबार व्यापार मेला सञ्चालन गरिएको हो । भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजक संघले जनाएको छ । 
निःशुल्क प्रवेश व्यवस्था रहेको मेलाको स्थानीयवासी, आन्तरिक एवं वाह्य पर्यटक गरी १० हजार जना भन्दा बढीले अवलोकन गरेको संघका कोषाध्यक्ष एवं मेला उपसमिति संयोजक रंजित मारिखूले बताए । प्रतिकूल मौसमका बीच आयोजना गरिएको मेला अनुमान गरेको भन्दा पनि उपलब्धिमूलक भएको संघका उपाध्यक्ष एवं मेला समितिका सल्लाहकार विश्वराम दुवालले जानकारी दिए । 
मेलामा भक्तपुरको मौलिक पहिचान भादगाउँले कालो टोपी, जुजु धौ, हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, चित्रकला, छाला तथा जुत्ताका सामानहरु, औद्योगिक उत्पादनका व्यापारिक स्टल, स्थानीय खानाका स्टल गरी ४० वटा स्टल रहेका थिए । यसैगरी, मेला सञ्चालनको समयमा स्वास्थ्य शिविर समेत राखिएको थियो । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यान राखिएको थियो भने शुक्रबार साँझ मङ्का ब्यान्डको उत्कृष्ट प्रस्तुतीकरणसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ सहयोगी निकाय रहेको उक्त मेलाको मुख्य प्रायोजकमा होटल दाची, मिडिया पार्टनरमा नमस्ते ख्वप टेलिभिजन र ङातापोल एक्सप्रेस दैनिक रहेका थिए । यसैगरी, अनलाइन पार्टनरमा ईटिकेटनेपाल डटकम रहेका थिए भने इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापन गर्ने जिम्मेवारी लिएको थियो । 
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले भक्तपुर उद्योग वाणिज्य संघले विगतदेखि स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुको बजारीकरणमा टेवा पु¥याउने तथा मौलिक कला, संस्कृतिको विकास गर्दै जिल्लाको आर्थिक, कृषि तथा दिगो पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेलाहरु सञ्चालन गर्दै आएको जानकारी दिँदै यसै वर्ष भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने तयारी गरिरहेको बताए । 
उक्त मेलाको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुकेश रंजित, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (जिल्ला÷नगर) दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठ, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, विभिन्न सरकारी निकायका प्रमुखहरु, जिल्लास्थित वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु लगायत अतिथिको रुपमा सहभागी थिए । 
 

फाेटाेमा हेर्नुहाेस्...

दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सम्पन्न

Comments