भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न, उत्कृष्ट पाँच टोली सम्मानित
जेठ १६, २०८३, शनिबार | राति १०:०८ बजे | 45
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित “भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३” को समापन तथा पुरस्कार वितरण कार्यक्रमसहित सम्पन्न भयो । दुई दिनसम्म सञ्चालन भएको भक्तपुर नगरपालिकाद्वारा आयोजित दाफा प्रदर्शनीमा सहभागी हुन दर्ता भएका ४९ टोलीमध्ये ४६ टोलीले मात्र सहभागिता जनाएका थिए ।
समापन समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिब प्रेम सुवालले बेलायती विद्वान ई. ए. पावेलले “भक्तपुर नहेर्नेले आधा संसार नहेरेसरह हुन्छ” भन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्त्वबारे चर्चा गर्नुभयो।
उहाँले दाफा प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको भन्दै यस्ता कार्यक्रमहरूको अभिलेखीकरण गर्न सके नयाँ पुस्ताका लागि मार्गदर्शन र अध्ययन सामग्री बन्ने बताउनुभयो।
ख्वप कलाकारहरूको सहरका रूपमा परिचित रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई शिक्षित बनाउन कलेज स्थापना गरिनुका साथै कला–संस्कृतिमा अगाडि बढाउन सांस्कृतिक प्रशिक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो।
उहाँले खेलकुद क्षेत्रमा समेत सकारात्मक प्रगति भइरहेको उल्लेख गर्दै जनतालाई शैक्षिक, सांस्कृतिक, खेलकुद तथा राजनीतिक रूपमा सचेत र सक्षम बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो।
देशमा विभिन्न समयमा भएका आन्दोलन र राजनीतिक घटनाक्रमबारे चर्चा गर्दै उहाँले ती विषयहरूको गम्भीर अध्ययन र विश्लेषण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दाफा प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयाे।
उहाँले भक्तपुर नगरपालिकाले आफ्नो घोषणापत्रअनुसार हरेक वर्ष सांस्कृतिक प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पूरा गर्दै यस वर्ष दाफा प्रदर्शनी आयोजना गरेको बताउनुभयो।
एक दिन मात्र सञ्चालन गर्ने योजना रहे पनि ४९ वटा समूहको सहभागिता रहेकाले कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएकाे बताउदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र संवर्द्धनमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुरका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण विदेशी सहयोगबिना स्थानीय जनताको साथ र सहभागितामा सम्पन्न गरिएको जानकारी गराउनुभयो ।
“सम्पदा पुनर्निर्माणमा हामीले विदेशी सहयोग लिएका छैनौं, जनताको सहयोग र सहभागितामै काम गरेका छौं। यही नै भक्तपुरको पहिचान बनेको छ,” उहाँले भन्नुभयो।
नगर प्रमुख प्रजापतिका अनुसार हालसम्म भक्तपुर नगरपालिकाले १७८ वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको बताउदै उहाँले यस्ता सांस्कृतिक गतिविधिले परम्परा, संस्कृति र पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य बिमामा देखिएका विभिन्न समस्याबारे अवगत गराउँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिले सार्वजनिक सम्पत्ति संरक्षण र संवर्द्धन गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
त्यसैगरी बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले यो कार्यक्रम केवल दाफा प्रदर्शनी मात्र नभई दाफा सम्मेलनकै रूपमा सम्पन्न भएको बताउनुभयो।
उहाँले यस्ता सांस्कृतिक गतिविधिहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गर्दै सांस्कृतिक पक्ष नै मानव समाजको पहिचानको आधार भएको उल्लेख गर्नुभयो।
“संस्कृति मानिसको अस्तित्व र पहिचानसँग जोडिएको विषय हो,” उहाँले भन्नुभयो।
गोसाईले परम्परागत बाजागाजा, नाचगान तथा सांगीतिक गतिविधिले मानिसको मस्तिष्कलाई सक्रिय र सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै भक्तपुरवासीहरू सांस्कृतिक गतिविधिमा निरन्तर संलग्न रहेकाले यहाँको सामाजिक र सांस्कृतिक वातावरण सुदृढ बनेको बताउनुभयो।
उहाँले दाफा प्रदर्शनीले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र सम्पदाबारे सिकाउन महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै यस्ता कार्यक्रम पुस्तान्तरणका लागि अत्यन्त फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।
उहाले १०० वर्षपछिको भक्तपुरको सांस्कृतिक स्वरूप र पहिचानलाई मूर्त रूप दिन दाफा प्रदर्शनी महत्वपूर्ण रहेको बताउनुभयो।
निर्णायकको तर्फबाट प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नगरपालिकाले पहिलोपटक दाफा प्रदर्शनी आयोजना गरी सांस्कृतिककर्मीहरूलाई उत्साहित बनाएको बताउनुभयो।
ख्वप (भक्तपुर) लाई नेपालको सांस्कृतिक राजधानीका रूपमा चिनिने आधारमध्ये दाफा परम्परा पनि एक महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै प्रा.डा. श्रेष्ठले दाफा केवल भजन वा सांगीतिक परम्परा मात्र नभई नेवार समुदायको सांस्कृतिक जीवनशैली र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएको बताउनुभयो।
उहाँका अनुसार दुई दिनसम्म सञ्चालन गरिएको दाफा प्रदर्शनीले पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ र युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति बुझ्न तथा त्यसप्रति आकर्षित हुन प्रेरित गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
प्रमुख अतिथि सुवालले दाफा प्रदर्शनीको अवसरमा घोषणा भएका उत्कृष्ट पाँच दाफा टोलीलाई प्रमाणपत्र तथा विशेष प्रोत्साहन प्रदान गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले सहभागी सम्पूर्ण दाफा टोलीलाई प्रमाणपत्र तथा लालाखिङ मायाको चिनो र उपप्रमुख जोशीले निर्णायक मण्डललाई धन्यवादपत्र तथा मायाको चिनोसहित सम्मान गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित दाफा प्रदर्शनी तथा प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि सांस्कृतिक क्षेत्रका अग्रज व्यक्तित्वहरू आशबहादुर माक, पञ्चलाल लाछिमस्यु, प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, बुद्धलाल मानन्धर, राजकुमार मानन्धर, श्रीभक्त सुवाल, रभिम कपाली तथा प्रवीण लाखा निर्णायकको रूपमा रहनुभएको छ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित दाफा प्रदर्शनीमा पाँच दाफा खल उत्कृष्ट घोषित भएका छन्। कुथुछे दाफा भजन, खिँछे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाकोलाछें चपाल दाफा भजन तथा लाकोलाछें त्वाले दाफा भजन उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । उत्कृष्ट दाफा खललाई लालाखिङ, तँ, झ्यालिन्चा र प्रत्येक टोलीलाई नगद रु १५ हजार प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो ।