खरानी बनेको अमरको त्यो गीत दियोमा परिणत हुँदै
जेठ १७, २०८३, आइतबार | विहान ०६:५७ बजे | 85
खरानी बनेको अमरको त्यो गीत दियोमा परिणत हुँदै लामो दूरीका यात्रुवाहक सवारी साधनहरुमा चर्को आवाजमा बजाइने झर्को लाग्दा गीतहरु सबैलाई मन पर्दैन, कसैकसैलाई मन पर्छ होला। अपांग तथा वृद्ध यात्रुहरुलाई त्यस्ता गीतहरुबाट वाक्कदिक्क लाग्छ नै। त्यही भएर गीतकार अमर कीर्तिमानीले पोहोर बसका चालक, सहचालक र यात्रुहरुलाई उपयुक्त हुनेखालको चेतनामूलक गीत रचे- ‘लालीगुराँस फुले झैँ वनवनमा, शुभयात्रा कल्पिनुस् मनमनमा।‘ सो गीत रेकर्ड भएको भए सायद सालाखाला आधाघन्टा समयको हुन्थ्यो होला। गीत रचेको केही दिनमा बग्गीखानास्थित ट्राफिक कार्यालयमा गएर गीतकार अमरले गीत रेकर्डिङ गराउन अनुरोध गर्दा बजेट नभएको जानकारी गराइएछ। त्यसपछि सो गीत लगेर यातायात व्यवस्था विभागमा गएछन् उनी। एकजना निर्देशकले “वाह! यो गीत साह्रै उत्कृष्ट र सुन्दर छ” भन्नुभएछ पनि। विभागका महानिर्देशकले गीत सहितको निवेदनमा तोक लगाइदिएपछि सम्बन्धित शाखाका अधिकृतको टेबुलमा पुग्यो त्यो गीत। ती अधिकृतले पनि गीतका एकएक पंक्ति पढे अनि गीत गजब राम्रो भएको जनाएपछि गन्तव्यतर्फ लागे गीतकार अमर। अमरले ती अधिकृतलाई बेलाबेलामा फोन गर्दा यसका लागि योजना बनाउनुपर्छ, बजेट छुट्याउनुपर्छ भनेपछि अमरले पछि पनि बेलाबेलामा फोन गरि नै रहे। गीत लेखिएको तीन पृष्ठको कागज ती अधिकृतको टेबुलको घर्रा अर्थात् ड्रयरमा महिनौँसम्म सीमित रहन गयो। जेन-जी बिद्रोहका कारण जलेका कैयन सरकारी भवनहरुमध्ये यातायात व्यवस्था विभाग पनि अछुतो रहेन र आखिरमा उनको त्यो गीत टेबुलको घर्राभित्र खरानीमा परिणत भयो। ‘नेपालको कानून दैवले जानुन्’ भन्ने उखान त्यहाँ चरितार्थ भयो। समयमै सो गीततर्फ सम्बन्धित निकायको ध्यान नजाँदा र सो गीतको पन्नामा ‘अग्राख’ पलाउँदा गीतकार निराश भए। त्यतिबेला अमरलाई लागेछ- ‘यहाँ राम्रो कामका लागि यहाँ स्थान छैन ।‘ जलेर खरानी भएको सो गीत हाल वरिष्ठ संगीतकार बुलु मुकारुङले संगीत भर्दै हुनुहुन्छ र त्यसमा गायिकाद्वय अञ्जु गौतम र रितु कँडेल तथा गायकद्वय सुशिल भट्टराई र विनोद दनुवारले स्वर दिँदैछन्। नेपालभरका सवारी साधनहरुमा र विशेषगरि लामो दूरीमा चल्ने सवारी साधनहरुमा सो गीत बज्ने आशा गरिएको छ। यसरी आठ महिनाअघि खरानी बनिसकेको अमरको चेतनामूलक गीत एक वर्षपछि दियो बनेर बजारमा आउँदैछ। रोल्पाको खुंग्रीमा २०२१ सालमा जन्मिएका अमर संस्थान सेवा १६ वर्ष र निजामती सेवा २३ वर्ष गरी करिब ३९ वर्ष सरकारी सेवामा बिताएका थिए। २०७९ असार २३ देखि अनिवार्य अवकाश लिएपछि उनका तत्काल दोस्रो कृतिको रुपमा आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ र तेस्रो कृतिको रुपमा ‘रापतीका अलग शब्दहरु’ (भाषिका) प्रकाशन भयो र सँगसँगै एउटा गीत रचे, जुन बजारमा आइसकेको छ। २०६१ मा उनको पहिलो कृतिको रुपमा बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ प्रकाशन भैसकेको छ। ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको अमरको चेतनामूलक लेख लोकप्रिय छ, जुन लेख इलामदेखि डडेलधुरासम्मका सञ्चार माध्यमहरुले साभार गरेर प्रकाशन गरिसकेका छन् भने सो लेख कुनै एक विद्यालयको सूचना पाटीमा समेत टाँसिएको छ। अमरका लेख-रचनाहरुमा देशभक्ति र प्रकृतिप्रेम ज्यादा देखिन्छ। साहित्य-लेखनका क्षेत्रमा तीन वर्षयता सबैभन्दा धेरै सक्रियता जनाउने अमर अधिकारी अर्थात् अमर कीर्तिमानी विभिन्न कीर्तिमानहरु रच्दै त्यस क्षेत्रमा धेरै समाचार बन्ने सर्जक पनि उनै हुन्। उनका कतिपय लेखले राष्ट्रियस्तरमा सुधारका कामहरु पनि भएका छन्। उनी भन्छन्- “कलमको शक्तिलाई सामान्य ठान्नुहुँदैन।“
