चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा सकियो सार्वजनिक सुनुवाई
जेठ १२, २०८३, मङ्गलबार | राति ०७:४१ बजे | 95
ताथली । रोपाईको मुखमा रासायनिक मल नपाएको गुनासो किसानहरुले गरेका छन् । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीले मंगलबार गरेको वडास्तरीय सार्वजनिक कार्यक्रममा सहभागी किसानहरुले रोपाईका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गरेका हुन् । खेतीपातीको मुख्य समयमा किसानहरूले रासायनिक मल पाउन सास्ती खेप्नुपरेको गुनासो उनीहरुले गरे । नेपालीको मुख्य बाली धान हो र अहिले धान रोप्ने सिजन सुरु हुने क्रममा छ ।
सार्वजनिक कार्यक्रममा सहभागी ८० वर्षीय स्थानीय किसान केशरबहादुर खड्काले कृषिप्रधान देशमा किसानहरु जहिले समस्यामा पर्ने गरेको भन्दै आक्रोश पोखे । अहिले धान रोप्ने सिजन सुरु हुँंदैछ तर धान रोप्नका लागि चाहिने पाँच किलो मल लिन पाँंच घण्टा लाइन बस्नुपरेको छ, उनले भने । उनका अनुसार वडामा रहेका सहकारी संस्थाहरुले वडाबासी किसानहरुलाई मल विक्रीवितरण गर्छ । उनका अनुसार एउटा परिवारलाई वढीमा पाँंच किलोसम्म मात्रै मल विक्रीवितरण गर्छ, त्यो पनि लाइन लाग्नुपर्छ । यो वर्ष मात्रै नभई प्रत्येक वर्ष मल अभाब हुने गरेको लामो इतिहास उनले सुनाए ।
किसानहरुका अनुसार बिहानैदेखि सहकारी तथा बिक्री केन्द्र अगाडि लाइन लागे पनि सबैले मल पाउने निश्चित हुँदैन । घण्टौँ पालो कुरेर पनि थोरै मात्रामा मल दिइने गरेको उनीहरूको भनाइ छ । “दिनभरि लाइन बस्दा पाँच किलो मल मात्रै पाइन्छ, त्यसले खेतमा के पुग्छ ?” उनीहरुको प्रश्न थियो । धान तथा तरकारी खेतीको समयमा मल अभाव भएपछि किसान चिन्तित छन् । समयमै मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने उनीहरूको भनाइ छ । कतिपय किसानले खेतको काम छोडेर मलका लागि लाइन बस्नुपरेको उनीहरुको दावी हो ।
स्थानीयले सरकार र सम्बन्धित निकायले मल आपूर्ति सहज बनाउन नसकेको आरोप लगाए । “हरेक वर्ष खेतीको समयमा यस्तै समस्या दोहोरिन्छ, तर समाधान हुँदैन,” उनीहरुले भने । किसानहरूले पर्याप्त मात्रामा मल उपलब्ध गराउन, सहज वितरण व्यवस्था मिलाउन तथा कालोबजारी नियन्त्रण गर्न माग गरे । समयमै मलको व्यवस्था नगरे कृषि उत्पादन घट्ने र किसान थप मारमा पर्ने उनीहरूको चेतावनी छ ।
सार्वजनिक सुनुवाईमा सहभागी अर्का भानुभक्त पराजुलीले वडाका कृषि सडक ग्राभेलसम्म नहुँदा खेतमा उत्पादन भएका तरकारी बजारसम्म मानिसले नै बोकेर ल्याउनुपरेको बाध्यता रहेको बताए । यसले लागत अत्याधिक वढ्ने उनको भनाई हो । ट्याक्टर वा अन्य साधनमा राखेर ल्याउन पाए लागत कम हुने उनको भनाई हो । तर कृषि सडक ग्राभेलसम्म हुँंदा सवारीसाधन नचल्ने उनले जनाए । त्यसकारण वडाका कृषि सडकहरुमा ग्राभेल गर्न उनले माग राखे ।
कार्यक्रममा वडा अध्यक्ष गणेश त्यातले कृषकका समस्याप्रति सहमति जनाए । किसानले समयमै मल नपाउनेलगायतका समस्यामा आफू पनि भुक्तभोगी भएको उनले बताए । त्यसकारण स्वदेशमै मल कारखाना खोलेर किसानलाई आवश्यक मात्रामा मल वितरण गर्नुपर्ने माग आफूहरुको रहेको उनले बताए । साथै उनले वडाबासीले उठाएका विभिद् समस्याहरुकाबारेमा सम्वोधन गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
