मिठाई बनाउने तालिम सम्पन्न; उत्पादित वस्तु गुणस्तरीय र स्वास्थ्यवर्द्धक हुनुपर्नेमा जोड


जेठ ११, २०८३, सोमबार | साँझ ०६:०३ बजे | 100


मिठाई बनाउने तालिम सम्पन्न; उत्पादित वस्तु गुणस्तरीय र स्वास्थ्यवर्द्धक हुनुपर्नेमा जोड

भक्तपुर, ११ जेठ

     उद्योग तथा वाणिज्य कार्यालयको आयोजना एवं भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा सञ्चालित ७ दिने मिठाई बनाउने तालिम सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य वीरेन्द्र जतिको प्रमुख आतिथ्यतामा भएको सो तालिममा सहभागीलाई हासिल गरेको सीपलाई व्यवसायमा बदल्न सुझाव दिनुभयो ।प्रमुख अतिथि वीरेन्द्र जतिले तालिममा सिकेका कुराहरूलाई सुरुमा घरमा अभ्यास गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। सामूहिक रूपमा तिहार, औंसी लगायतका चाडपर्व र विशेष अवसरहरूमा मिठाईका परिकार बनाई बिक्री-वितरण गरेर राम्रो आयआर्जन गर्न सकिने उहाँको भनाइ थियो।

     साथै उहाँले उत्पादित खाद्यन्नहरु स्वच्छकर हुनु जरुरी रहेको जानकारी गराउँदै जनस्वास्थ्यप्रति जिम्मेवार हुन आग्रह गर्दै भन्नुभयो:"पैसा कमाउने लोभमा अखाद्य सामग्रीहरूको प्रयोग नगर्न सचेत हुनुपर्छ। मानिसको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरीय परिकार उत्पादन गर्नु नै सफल उद्यमीको पहिचान हो।"

     भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले तालिमका सहभागीहरूलाई सीप हासिल गरेकोमा बधाई दिँदै सिकेको सीपलाई व्यवहारमा उतारी सफल उद्यमी बन्न शुभकामना व्यक्त गर्नुभयो।

उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेट अनुसार कार्यालयले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। कम स्रोत र साधनका बाबजुद पनि सहभागीहरूले उत्साहका साथ तालिम लिएकोमा प्रशंसा गर्दै उहाँले भन्नुभयो:"तालिमपछि उद्योग दर्ता गरी व्यवसाय सञ्चालन गरेमा उद्योग तथा वाणिज्य कार्यालय, प्रदेश सरकार तथा स्थानीय सरकारबाट उपलब्ध हुने विभिन्न सेवा, सुविधा र अनुदान प्राप्त गर्न सकिन्छ।"

     सात दिनसम्म चलेको उक्त तालिममा नेपाली बजारमा अत्यधिक माग हुने परम्परागत तथा आधुनिक मिठाईहरू बनाउन सिकाइएको थियो। तालिमका क्रममा सहभागीहरूलाई गुदपाक , पुष्टकारी, बर्फी, जेरी , लाखामरी ,अनारसा, पुरी , लड्डु, खजुरी, रोट, लालमोहन र रसबरी परिकार बनाउने प्रयोगात्मक ज्ञान दिइएको थियो:

     सहभागीहरूको तर्फबाट बोल्दै सानुमैयाँ बजिक्वले सिकेको सीपलाई आफ्नो समुदायमा समेत बाँड्ने र सामूहिक रूपमा व्यवसाय सुरु गर्ने योजना रहेको सुनाउनुभयो। सीपलाई अझ परिष्कृत बनाउनका लागि आयोजकले आगामी दिनमा थप (एड्भान्स) तालिमको व्यवस्था गरिदिए आभारी हुने उहाँले बताउनुभयो।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले स्वागत मन्तव्य राख्दै तालिमको औचित्य र महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।भने तालिम आशबहादुर सुवालले दिनुभएको थियो ।

Comments