४ जि.पि.ए ल्याउने छात्रालाई नगद रु १ लाख पुरस्कार
जेठ १०, २०८३, आइतबार | साँझ ०५:३२ बजे | 105
मध्यपुर ठिमी, भक्तपुर
शिक्षा खेलकुद र अतिरिक्त क्रियाकलापमा जोड गराउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिँदै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलकी एस.इ.इ. २०८२ मा ४ जि.पि.ए . सहित उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा कृषा प्रजापतिलाई नगद रु १ लाख पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरियो। २०८३ जेष्ठ ९ गते एस इ इ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनलाई उनी अध्ययनरत विद्यालय विनायक शिक्षा निकेतनले सम्मान गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम प्रजापतिको सभापतित्व तथा भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद मदन कृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा अभिभावक श्रीकृष्ण श्रेष्ठ, नगरपालिका शिक्षा शाखा प्रमुख सुनेश अधिकारी र विद्यालय व्यवस्थापन समितिका सदस्यहरू उक्त कार्यक्रममा अतिथिको रुपमा रहनुभएको थियो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले शब्दको माला पहिर्याएर स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा अतिथि वक्ताहरूले गुणस्तरीय शिक्षा, खेलकुद र अतिरिक्त क्रियाकलापको क्षेत्रमा विद्यालयले खेलेको अहम भूमिकाको प्रशंसा गर्नुभएको थियो भने प्लस टु संयोजक तुलसी हरि प्रजापति ले विनायकमै कक्षा ११ र १२ अध्ययन गरी उत्कृष्ट नतिजाका साथ उज्ज्वल भविष्य निर्माण गर्न सल्लाह दिनुभयो। उक्त कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयको विक्रम सम्वत् २०५९ सालदेखिको उत्कृष्ट शैक्षिक सफलताको विवरण प्रस्तुत गर्दै सो सफलताका लागि अहोरात्र खट्ने शिक्षक शिक्षिका, अभिभावक विद्यार्थी एवं सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै अझ उत्कृष्ट शैक्षिक गन्तव्यको गोरेटोमा विद्यालयलाई डाेहोर्याउने र गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने कुरा बताउनुभयो। कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले एस इ इ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए।
फाेटाेमा हेर्नुहाेस्...
