मनोहरा साहित्य समाजको ११३ औं श्रृङखलामा वसन्त रिजालद्वारा प्रकाशित ‘वसन्त’ लोकार्पित


जेठ १०, २०८३, आइतबार | विहान ०८:१३ बजे | 35


मनोहरा साहित्य समाजको ११३ औं श्रृङखलामा वसन्त रिजालद्वारा प्रकाशित ‘वसन्त’ लोकार्पित

जयराम बिडारी

जेठ ९, काठमाडौँ

मनोहरा साहित्य समाजको ११३ औँ रचना वाचन शृङ्खला सम्पन्न गरिएको छ । सो समारोहमा समाजका आजीवन सदस्य तथा स्रष्टा पदयात्रा नेपालका कोषाध्यक्ष वसन्त रिजालद्वारा प्रकाशित एवं खोलाघरे साहिंलोद्वारा सम्पादित छन्दोवद्ध कृति ‘वसन्त’ पुस्तक विमोचन समेत गरिएको छ । कार्यक्रम समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा वरिष्ठ साहित्यकार प्रल्हाद पोखरेलको प्रमुख आतिथ्य, मधुसूदन लामिछानेको विशेष आतिथ्य विश्वज्ञान पाठशालाका प्राचार्य मातृका कार्की, मञ्जुश्री साहित्य समाजका अध्यक्ष डा. बमबहादुर थापा जिताली, आर. सी रिजाल , वसन्त रिजाल एवं पाँच दर्जनजति साहित्यानुरागीको समुपस्थितिमा सम्पन्न गरिएको थियो । विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार मधुसूदन लामिछानेले वसन्त रिजाललाई शान्त प्रकृतिका, साहित्य एवं समाजसेवाका निम्ति उदात्त मनले सहयोग गर्ने एक असल सामाजिक व्यक्तित्वका रूपमा चित्रण गरे । बहुमुखी प्रतिभाका धनी रिजाल आफैँ पनि गीत, कविता लगायत साहित्यका विविध विधामा सन्तुलित रुपमा कलम चलाउँछन् । छन्द संरक्षण र संवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले आफ्नै अग्रसरता र नेतृत्वमा 'वसन्ततिलका छन्द' मा लेखिएका कविताहरूको साझा दर्पणलाई एकै मालामा उन्ने उनको यो कार्यले धन र मन दुवैको सन्तुलित संयोजनलाई प्रमाणित गरेको छ । विभिन्न साहित्यिक संघ-संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै ती संस्थाको वृहत्तर उन्नतिमा अहम् योगदान पुर्‍याएका वसन्त आफैँमा एक उदाहरणीय व्यक्तित्व हुन् । यस्ता स्तुत्य कर्मले छन्द कविताको उन्नयन लगायत समग्र साहित्यिक क्षेत्रमा ठुलो योगदान पुग्ने चर्चा गर्दै लामिछानेले विमोचित कृतिमा 'नेपालीपनको प्राण' प्रतिबिम्बित भएको बताए र कृतिको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि प्रल्हाद पोखरेलले सधैँ काव्य साधना र शास्त्रको चिन्तनमा लागिरहने वसन्तको समाजसेवाप्रतिको लगाव लोभलाग्दो रहेको बताए । लेखक तथा साहित्यकारहरूको सामाजिक उत्तरदायित्वबारे चर्चा गर्दै पोखरेलले आफूले साहित्य सदन लगायत कतिपय संस्थाहरूमा काम गर्दा वसन्तसँग सहकार्य गरेको र सहयात्रीका रूपमा सँगै हिँडेको प्रसंग उल्लेख गरे । जुन संस्थाको नेतृत्व वसन्तले लिन्छन्, त्यस संस्थाको जग मजबुत हुने र बृहत्तर विकास भई छाड्ने दाबी गर्दै उनले विमोचित कृति र स्रष्टा दुवैलाई शुभकामना दिए । लोकार्पित कृतिका प्रकाशक वसन्त रिजालले आफ्नो प्रकाशन गर्भबारे प्रकाश पार्दै कृतिको जन्म हुनुमा अघिल्लो महिना सम्पन्न घुम्ती कविगोष्ठीको कार्यक्रमका अवसरमा आफूले श्रवण गरेका छन्दोवद्ध कविताहरुले मन छोएको र सो कविता हरुको संकलन सरंक्षण र सम्वरद्धनका निम्ति केही गर्नुपर्छ भन्नै हुटहुटीले आज वसन्त विमोचन गर्न सफलता प्राप्त भएको उल्लेख गरे । यसैगरी कार्यक्रमका अतिथि डा. बमबहादुर थापा जितालीले कृतिको प्रशंसा गर्दै आफूलाई एउटै बसाईमा सिङ्गो पुस्तक पढिसकेको अनुभूति भएको धारणा व्यक्त गरे । उनले उत्कृष्ट रचनाहरूको श्रवणबाट आफ्नो हृदय आल्हादित र अभिभूत भएको बताउँदै ती सिर्जनाहरूमा जीवनका गहिरा भोगाइहरूको सजीव प्रकटीकरण भेटिएको उल्लेख गर्दै आफ्ना रचना सुनाएका थिए । अर्का अतिथि आर. सी रिजालले आजको रचना वाचनको श्रवणबाट आफूले कुनै पवित्र भजन श्रवण गरे झैँ पारलौकिक आनन्द प्राप्त गरेको अनुभूत गरेको भन्दै वसन्त रिजालको उदारमनाको प्रसंशा गर्दै सुन्दर लघुकथा सुनाए । सोही अवसरमा कृतिका सम्पादक खोलाघरे साहिँलाले "वसन्त" कविता सङ्ग्रहलाई पुस्तकको रूप दिन सहयात्रीका रूपमा गुनिलो सहयोग पुर्‍याएको भन्दै डिल्लिराज अर्यालको सराहना गरे। यसका साथै उनले पुस्तक प्रकाशनको नालिबेली बारे पनि चर्चा गरे । कार्यक्रममा युगकवि सिद्धिचरण श्रेष्ठको ११४अ‍ौं जन्मजयन्तीको अवसर परेकोले कविलाई श्रद्धाञ्जलि अर्पण गर्दै उनका केही रचना पाठ गरिएको थियो । पश्चात् अध्यक्ष डिल्लीराज अर्यालद्वारा उपस्थित स्रष्टाहरूलाई शब्दपुष्पद्वारा स्वागत गर्दै रचना वाचनको आरम्भ गरिएको थियो । सोही क्रममा पदम दाहाल,टीका मिलन,सरिता तिमल्सिना ,रामचन्द्र घिमिरे ,छविलाल अधिकारी, मुकुन्दराज शिवाकोटी ,श्रीहरि फुँयाल,घनश्याम प्रसाईं , सुशील रिजाल,सूर्यप्रसाद डुम्रे , मधुसूदनप्रसाद घिमिरे , वासुदेव पौड्याल भद्र,भुवन शिवाकोटी चौघरे,केशव ज्ञवाली आगत,कविराज घिमिरे पुछारघरे,केशवराज खनाल टेकबहादुर लौडारी, राजेन्द्रकुमार वज्राचार्य ,मातृका कार्की,पोषराज भण्डारी ,अप्सरा ढकाल,सम्पत काफ्ले ,शान्ति सापकोटा , दुर्गा घिमिरे, एन बी जनकपुरी,जयराम विडारी,माधव घिमिरे अटल,दीपक श्रेष्ठ,अल्फीफोहेन फाक्लुप्पा,कृष्णप्रसाद पौडेल जस्ताघरे,सुमन पुडासैनी र अप्सरा पोखरेल लगायत स्रष्टाले आ-आफ्ना रचना वाचन गरेका थिए । संस्थाका सचिव एवं स्रष्टा भावकेशर बरालद्वारा कुशलतापूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रममा करिब पाँच दर्जन स्रष्टाहरूको समुपस्थितिमा करिव चार घण्टा निरन्तर साहित्यिक अनुष्ठान गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

मनोहरा साहित्य समाजको ११३ औं श्रृङखलामा वसन्त रिजालद्वारा प्रकाशित ‘वसन्त’ लोकार्पित

Comments