नैतिक शिक्षाको अर्थ र उद्देश्य
जेठ ५, २०८३, मङ्गलबार | राति ०७:५० बजे | 75
सागर गुरागाईं
नैतिक शिक्षा के हो भन्ने प्रश्नलाई केवल असल मान्छे बन्ने उपदेश मा सीमित गर्नु पर्याप्त हुँदैन । नैतिक शिक्षा स्पष्ट, सन्तुलित र प्राज्ञिक र सामाजिक हुनु पर्छ । नैतिक शिक्षा भनेको मानिसमा सही–गलत छुट्याउने विवेक, अरुको अस्तित्व र मर्यादाप्रति सम्मान तथा न्यायप्रति संवेदनशील व्यवहार विकास गराउने शैक्षिक प्रक्रिया हो । यसले अधिकार र कर्तव्यं परस्पर पूरक हुन् भन्ने बोध गराउँछ। वाक् स्वतन्त्रता र वाक् मर्यादाबिचको सन्तुलनलाई सभ्य नागरिकताको आधार मान्छ र सामाजिक उत्तरदायित्वको भावना विशेषतः वृद्ध, रोगी, बालबालिका, अशक्त तथा दुर्बल वर्गप्रति संवेदनशीलता अभिवृद्धि गर्छ ।
नैतिक शिक्षा कुनै स्थिर वा सार्वकालिक परिभाषामा सीमित हुँदैन.। यसको अर्थ समाज, समय र सन्दर्भ अनुसार परिवर्तनशील रहन्छ । स्वतन्त्रता, मर्यादा, कर्तव्य र अधिकार जस्ता, मूल्य पनि झापेक्षिक हुन्छन्, जसको व्याख्या ऐतिहासिक, सांस्कृतिक र सामाजिक परिवेशले निर्धारण गर्छ । नैतिक शिक्षा समयसापेक्ष ज्ञान, चेतना र मूल्यहरुको आलोचनात्मक बोधमार्फत व्यक्तिलाई जिम्मेवार, सहिष्णु र विवेकशील नागरिक बनाउने प्रक्रिया हो भनेर बुझ्न सकिन्छ । कस्ता सामग्री ग्राह्य हुन्छन् ? ः विविध समुदायको प्रतिनिधित्व गर्ने कथा र चित्र, लैगिंक समानता र समावेशितालाई प्रतिविम्बित गर्ने सामग्री र स्थानीय सन्दर्भ र वास्तविक अनुभवमा आधारित पाठ हुनु पर्छ । नैतिक शिक्षा भनेको किताबका पानामा सीमित सिद्धान्त मात्र हुनुहुँदैन । यसमा निम्नलिखित पक्ष समेटिनु पर्छ । व्यावहारिक र प्रयोगात्मक ः केवल साँचो बोल्नु पर्छ भनेर घोकाउनुभन्दा साँचो बोल्दा हुने लाभ र झुटको परिणामबारे प्रयोगात्मक छलफल गर्ने । मूल्यमा आधारित ः इमानदारी, करुणा, परोपकार र राष्ट्रप्रेम । समतामूलक समाज ः जातभात, उचनिचको भावना परित्याग गर्दै सहअस्तित्वमा आधारित मानवीय समाज निर्माणको अभ्यास गराउनु पर्छ । डिजिटल नैतिकता ः वर्तमान युगमा सामाजिक सञ्जालको सही प्रयोग र साइबर सुरक्षासम्बन्धी नैतिकता सिकाउनु अनिवार्य छ । पर्यावरणीय नैतिकता ः प्रकृति र प्राणी जगत्प्रति उत्तरदायी हुन सिकाउने शिक्षा । प्रोजेक्ट वर्क ः विद्यार्थीलाई कुनै वृद्धाश्रम वा अनाथालयमा लगेर सेवा गर्न लगाउने, जसले गर्दा उनीहरुमा करुणा माव जागोस् । किन आवश्यक छ ? ः
नैतिक शिक्षा किन आवश्यक छ भन्ने प्रश्न आजको तीव्र रुपान्तरणशील समाजसँग प्रत्यक्ष जोडिएको छ । प्रविधि, राजनीति र अर्थतन्त्र द्रुतगतिमा अघि बढिरहेका छन् तर मानवीय संवेदना, सहिष्णुता र उत्तरदायित्व त्यही अनुपातमा विकसित हुन सकेका छैनन् । यही सामाजिक खाडल र असन्तुलनले हिंसा, विभेद, असमानता र सामाजिक अविश्वासलाई बढावा दिन्छ । यस अर्थमा नैतिक शिक्षा केवल पूरक विषय होइन, सामाजिक सन्तुलन कायम गर्ने आधारभूत आवश्यकताको विषय हो । नैतिक शिक्षालाई परम्परागत उपदेश, अनुशासन र अन्ध–आज्ञाकारितामा सीमित राख्नु पर्याप्त हुँदैन । यस्तो दृष्टिकोणले स्वतन्त्र सोच, आलोचनात्मक चेतना र बहुलतामूलक समाजका जटिल प्रश्नलाई समेट्न सक्दैन । आजको सन्दर्भमा आवश्यक नैतिक शिक्षा भनेको प्रश्न गर्न सिकाउने, भिन्नतालाई स्विकार्ने र न्याय तथा समानताप्रति सचेत बनाउने प्रक्रिया हो। यसका लागि नैतिकताका आधारभूत मानदण्डबारे व्यापक सार्वजनिक तथा बौद्धिक बहस अनिवार्य छ । विभिन्न दृष्टिकोणको आलोचनात्मक मूल्याकंन गर्दै साझा, समावेशी र समयानुकूल नैतिक आधार निर्माण गर्न सकिन्छ । यस्तो बहसबिनाको नैतिक शिक्षा न त जीवित रहन्छ, न प्रभावकारी नै हुन्छ । साँचो नैतिक शिक्षा त्यही हो, जसले विभेद चिनाउँछ र हटाउन सिकाउँछ, समानता केवल शब्दमा होइन व्यवहारमा उतार्छ, विद्यालयलाई नैतिकताको अभ्यासस्थल बनाउँछ । नयाँ आयाम ः पहिलेको नैतिक शिक्षा बुबाआमाको आज्ञा मान, फुट नबोल, गुरुलाई सम्मान गर तर प्रश्न नगर, चोरी नगर जस्ता सरल निर्देशनमा आधारित थियो । आजको समाज जटिल छ । यहाँ लैगिंक समानता, जातीय सम्मान, समावेशिता, पहिचानको अधिकार जस्ता विषय केन्द्रमा छन् । गुरुलाई उचित प्रश्न गर्ने समय छ । बुबाआमा र आफूभन्दा ठुलाको अविवेकी वचन मान्नु पर्छ भन्ने मान्यता छैन। आवश्यक र उचित वचन जसको पनि मान्नुपर्ने र अनावश्यक कुराको प्रतिरोध र विरोध गर्ने शैलीको अपरिहार्यता देखिएको छ । गलत कुरा जसको भए पनि गलत हो भन्ने चेत निर्मित भएको समय छ । यहाँ एउटा विषय स्मरणीय छ। कसको प्रतिरोध कसरी गर्ने ? प्रतिरोधको पनि यथोचित र जिम्मेवार शैली र तरिका सिकाउनु पर्छ । आजको नैतिक शिक्षा यस्तो हुनु पर्छ भन्ने केही दृष्टान्त यहाँ प्रस्तुत छ ः बच्चाको आँखाबाट संसार बुझ्ने, महिलाको अनुभवबाट समानता सिक्ने, दलित, जनजाति, मुस्लिम र सीमान्तकृत र अन्य लैगिंक पहिचान भएकाहरुको दृष्टिकोणबाट न्यायको अर्थ पुनर्परिभाषित गर्ने, अपागंता भएका व्यक्तिको अनुभवबाट समावेशिता बुझ्ने, मधेशीको अनुभूतिबाट रंगीय विभेद पर्गेल्ने, ज्येष्ठ नागरिकको अनुभव र इतिहासलाई ग्रहण गर्ने जस्ता विविध आयाम र दृष्टिकोण समेटिएको नैतिक शिक्षा बालबालिकालाई दिनु अत्यावश्यक छ । नैतिकताको पहिलो अभ्यासस्थल ः जसले नैतिक शिक्षा पढाउने दाबी गर्छन्, त्यही विद्यालय विभेदको अभ्यासस्थल बनेका थुप्रै उदाहरण छन् । गुरुहरुद्वारा नै जातीय रुपमा बालबालिका प्रताडनामा परेका छन् । विद्यालयले लैगिंक विभेद व्यवहारतः सिकाएको छ जस्तै ः बच्चालाई स्कुलमा ल्याउन लैजान, हेरचाह गर्न आमा सक्रिय हुन्छिन् तर फारममा अभिभावक भन्नासाथ बुवाको नाम मात्र लेखिन्छ । पाठ्यपुस्तकका चित्रमा बुवा पढिरहेका र आमा सिँगारिँदै गरेको देखाइन्छ । यी साना देखिने अभ्यासले बच्चामा गहिरो सन्देश दिन्छ, पुरुष प्रधान, महिला सहायक भन्ने । यहीँबाट विभेदको बिउ रोपिन्छ । सुधारको सुरुवात माथिबाट हुनु पर्छ, त्यसपछि मात्र विद्यार्थीले सिक्ने नैतिकता अर्थपूर्ण बन्छ । कसलाई नैतिक शिक्षा आवश्यक ? ः विद्यार्थीभन्दा पहिले शिक्षक, अभिभावक र नीति बनाउनेलाई नैतिक शिक्षा आवश्यक छ । किनभने पाठ्यक्रम बनाउनेले समावेशी सोच राखेन भने किताब विभेदी हुन्छ । शिक्षकले व्यवहारमा समानता नदेखाए पाठ बेअर्थ हुन्छ । अभिभावकले घरमै विभेद सिकाए विद्यालयले सुधार्न सक्दैन । त्यसैले नैतिक शिक्षा पढ्ने विषय मात्र होइन संस्कृति बन्नु पर्छ । कसले र कसरी पढाउने ? ः हाम्रो समाजको तितो सत्य के हो भने ? आजको समाजमा नैतिक शिक्षाको सबैभन्दा ठुलो अभाव विद्यार्थीमा होइन, विद्यार्थीलाई मार्गदर्शन गर्ने संरचनामा छ । त्यो संरचना बालबालिकाका लागि घर, विद्यालय र समाज हो। सुधारको सुरुवात माथिबाट हुनु पर्छ । त्यसपछि मात्र विद्यार्थीले सिक्ने नैतिकता अर्थपूर्ण बन्छ । विद्यालय तहमा नैतिक शिक्षा केवल एउटा विषय मात्र होइन, यो एउटा असल नागरिक निर्माण गर्ने मेरुदण्ड हो । नैतिक शिक्षा कुनै एउटा शिक्षकको मात्र जिम्मेवारी होइन, यो संयुक्त प्रयास हो । शिक्षक स्वयम् एक रोल मोडल हुनु पर्छ । शिक्षक आफैं अनुशासित छैन भने उसले दिने उपदेशको कुनै अर्थ रहँदैन । त्यसै गरी घर पहिलो पाठशाला भएकाले अभिभावकले आफ्ना नानीबाबुले विद्यालयमा सिकेका कुरालाई घरव्यवहारमा उतार्न अभिभावकको भूमिका ९० प्रतिशत हुन्छ । समाजका लब्धप्रतिष्ठित व्यक्ति र नेतृत्व तहले प्रदर्शन गर्ने आचरणले विद्यार्थीलाई प्रभाव पार्छ । नैतिक शिक्षा घोक्ने विषय होइन, अभ्यास गर्ने अनुभव गर्ने र अनुकरण गर्ने प्रक्रिया हो । त्यसैले कथामूलक सिकाइ, भूमिका खेल, वास्तविक जीवनका केस स्टडी, विवाद र छलफल जस्ता तरिका अपनाउनु पर्छ । निष्कर्ष ः नैतिक शिक्षा माक्र्स (अकं) ल्याउनका लागि होइन, मार्क (छाप) छोड्नका लागि हुनु पर्छ । शिक्षाको अन्तिम लक्ष्य भनेकै मानिसलाई विवेकशील बनाउनु हो । कुनै व्यक्ति शिक्षित छ तर उसमा नैतिकता छैन भने त्यो समाजका लागि अझ बढी खतरनाक हुन सक्छ । विद्यालयमा शिक्षाका लागि संस्कार भन्ने मूल मन्त्रका साथ नैतिक शिक्षालाई अनिवार्य र व्यावहारिक बनाइनु पर्छ ।
