३२ औँ राष्ट्रिय ज्ञानमाला दिवस समारोह भक्तपुरको मुनि विहारमा सम्पन्न


जेठ ३, २०८३, आइतबार | राति ०९:४४ बजे | 145


३२ औँ राष्ट्रिय ज्ञानमाला दिवस समारोह भक्तपुरको मुनि विहारमा सम्पन्न

भक्तपुर । राष्ट्रिय ज्ञानमाला संघ नेपालको प्रथम स्थापना दिवस तथा ३२ औँ राष्ट्रिय ज्ञानमाला दिवस समारोह भक्तपुरको मुनि विहार मा सम्पन्न भएको छ ।

राष्ट्रिय ज्ञानमाला संघ नेपालअन्तर्गत भक्तपुर जिल्ला उपसमितिको व्यवस्थापनमा आइतबार आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु विपस्सी धम्मारामो महास्थविर, बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्य तथा सुनिल प्रजापति को विशेष आतिथ्यता रहेको थियो ।

समारोहमा देशभरका १४६ वटा ज्ञानमाला भजन खलःका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कोशी प्रदेश, कीर्तिपुर–चन्द्रागिरि–दक्षिणकाली, काभ्रे तथा गण्डकी–लुम्बिनी प्रदेशका सात क्षेत्रीय उपसमितिबाट दुई–दुई वटा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि श्रद्धेय भिक्षु विपस्सी धम्मारामो महास्थविरले आफू पनि ज्ञानमालामार्फत भिक्षु बन्न सफल भएको उल्लेख गर्दै मुनि विहारमा विभिन्न जिल्लाबाट आएका भिक्षु श्रामणेरहरूलाई बुद्ध शिक्षा प्रदान गरिनुका साथै थाइल्याण्ड, म्यानमार, श्रीलंका र भारतमा उच्च शिक्षाका लागि व्यवस्था मिलाइँदै आएको बताउनुभयो । उहाँले मुनि विहार भिक्षुहरूको तालिम केन्द्रका रूपमा विकास भइरहेको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कला, संस्कृति तथा धार्मिक परम्पराको संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सल्लाहकार डा. पुष्परत्न शाक्यले ज्ञानमाला भजनको भावार्थ प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा व्यवस्थापनमा सहयोग पुर्‍याउने भक्तपुर जिल्ला उपसमिति तथा मुनि विहारलाई धन्यवादपत्र प्रदान गरिएको थियो भने भजन प्रस्तुत गर्ने सातवटै क्षेत्रीय उपसमितिलाई प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ । पञ्चशील प्रार्थनाबाट सुरु भएको समारोह पुन्यानुमोदनसहित सम्पन्न भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

३२ औँ राष्ट्रिय ज्ञानमाला दिवस समारोह भक्तपुरको मुनि विहारमा सम्पन्न

Comments