विनयमुख (भाग ३) पुस्तकको संक्षिप्त चिनारी


जेठ ३, २०८३, आइतबार | साँझ ०४:४६ बजे | 45


विनयमुख (भाग ३) पुस्तकको संक्षिप्त चिनारी

संखारा अनिच्चा, विपरिणामधम्मा, सन्तति पटिबद्धा
संखारा दुक्खा, तं कुतेत्थ लब्भा,
संखारा अनत्ता, यथापच्चयं पवत्तति ।
अर्थात् संस्कारहरु (नाम र रुप) अनित्य हुन् । विपरिणाम धर्मी (परिवर्तनशील) हुन् । सन्ततिहरु जोडिएका हुन्छन् । संस्कारहरु दुःख हुन् । संसारमा तिनबाट के आशा लिनु ? संस्कारहरु अनात्मा हुन् । यी त प्रत्यप अनुसार चलिरहन्छन् ।
प्राक्कथन 
    श्री धम्र्म उत्तम महाविर मुनीविहार भक्तपुरका प्रमुख भिक्षु विपस्सी महास्थविरज्यूले नेपाली भाषामा अनुवाद गर्नुभएको विनयमुख नामको पहिलो भाग र दोस्रो भाग गरी दुईवटा पुस्तक बारे मैले लेखेका २ वटा रचना प्रकाशित भइसकेका छन् । अहिले उक्त पुस्तकको तेस्रो भागको बारे संक्षिप्त चिनारी यो लेखमार्फत प्रस्तुत गर्दैछु । यो पुस्तकको मूल लेखक थाइलैँडका भिक्खुवर समतेच बर–महा–समण–चाउ व्रmम–बरया वजिर–ञाण–वरोरस  हुनुहुन्छ । उक्त पुस्तकलाई नयाँ विहार उपोसथ मन्दिरहरुको सीमा स्थापना गर्ने, अधिकारी चयन गर्ने, विभिन्न प्रकारका विवादहरुलाई व्यवस्थापन गर्ने तरिका बारे चर्चा गरिएका छन् । बुद्ध धर्म विश्वभर फैलिरहेको छ । विभिन्न देशहरुमा विहार र संघहरु स्थापना भएका छन् र स्थापना गर्ने क्रम चलिरहेको छ । यसरी विहार संघ स्थापना गर्ने कार्यको लागि यो पुस्तककले मार्ग निर्देशन गरिने अपेक्षा गरिएको छ ।

यस पुस्तकमा रहेका खण्डहरु
यो तेस्रो भागको पुस्तकमा अध्याय २७ देखि अध्याय ३३ गरी जम्मा ७ वटा खण्डहरु छन् । यसमा थेर (वरिष्ठ) भिक्खुले जान्नुपर्ने विनयसँग सम्बन्धित परम्परा विधिहरु संग्रहित गरिएका छन् । यसमा रहेका खण्डहरुका नामहरु अध्याय २७ पब्बज्जा तथा उपसम्पदा, अध्याय २८ विवादाधिकरण (विवादका मुद्दाहरु सुल्झाउने तरिका), अध्याय २९ अनुवादाधिकारण (अभियोगका मुद्दाहरु सुल्झाउने तरिका), अध्याय ३० आपत्ताधिकरण (आपत्ति समाधान गर्ने तरिका), अध्याय ३१ किच्चधिकरण र निग्गह, अध्याय ३२ संघभेद र संघसामग्गी, अध्याय ३३ विविध (प्रब्रज्या विसर्जन चीवर छोड्नु), नासना (निष्कासन), दण्डकम्म (दण्डित गर्नु), पणाम (हटक दिनु)) छन् ।

अनुवाद र अनुवादकहरु
    यो पुस्तकको मूल थाइ भाषामा लेखिएको छ । अंग्रेजी अनुवादको यो तेस्रो भाग भिक्खु जोतमनो (माइकल सी. शामेक्लिस) र श्री सुचिनले सुरु गर्नुभएको हो र त्यसपछि भिक्खु वरपञ्जो (बालक्रेटर)ले पूरा गर्नुभएको हो । उहाँले अनुवाद गरेकोलाई जाँच, प्रायः भिक्खु खन्तिपालोले गर्नुभएको हो । समतेच वर ञाणसंवर, निर्देशक महामकुट राज विद्यालय फाउन्डेशन वत् पवरनिवेस विहार बैंककले मन्तव्य दिनुभएको छ ।
    ५१० पृष्ठको यो महŒवपूर्ण पुस्तकमा मुनिविहार (श्री धम्र्मउत्तम महाविहार)को परिचयसमेत विस्तृत रुपमा राखिएको पाइन्छ । 
मुनि विहार (श्री धम्र्म उत्तम महाविहार) को परिचय
ऐतिहासक, धार्मिक, सांस्कृतिक तथा शैक्षिक आदि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिइआएको पवित्र धार्मिक स्थल यस मुनि विहारको स्थापना सन् १६५५ मा मुनि बुद्धाचार्यद्वारा भएको थियो र निजका पुत्र तिब्बतको शिगात्शे शहरस्थित टाशिल्हुम्पो गुम्बा वा विहारबाट धार्मिक शिक्षा र तालिम प्राप्त भिक्षु पद्मध्वजद्वारा संचालन भएको थियो । यसका निर्माताका स्थानीय सन्ततिहरुद्वारा निरन्तर रेखदेख भई आए तापनि कालान्तरमा धर्मगुरुको अभावका कारण जीर्ण भई भत्की बिग्रीरहेको यो विहार सन् १९५३ देखि यहाँ बसोबास गर्ने थेरवादी भिक्षु रत्नज्योति महास्थविरले हकवालाहरूबाट विहारको जग्गा मन्दिर तथा सबै मूर्तिहरु समेत दानपत्र प्राप्त गरी यसको उद्धारकार्य थालनी गरे तथा उनैबाट नेपालको आधुनिक युगमा नयाँ पुस्तालाई थेरवादी प्रब्रज्या दीक्षा दिने थालनी भएको विहार हुनुको सौभाग्य यसलाई प्राप्त छ । सन् १९७५ देखि उद्धारकार्यलाई उनका शिष्य भिक्षु महेन्द्र महास्थविरले निरन्तरता दिए तथा सन् १९९८ देखि यसको विकासको अगुवाई नयाँ पुस्ताका भिक्षुहरूबाट हुन थाल्यो । यहि सालमा थाइलैंडका १९ औं राजगुरु परमपूज्य संघराज भिक्षु समतेच बरञाणसंवर (सुवड्ढन महाथेर) बाट प्राप्त विशाल बुद्धमूर्ति र तदुपरान्त निरन्तर प्राप्त आर्थिक सहयोगले सन् २००१– २००८को अवधिमा विहारको उत्तरतिर उपोसथागार मन्दिर निर्माण भयो ।
अन्तमा, 
    यस पुस्तकमा रहेका ७ वटा खण्डहरुको शीर्षकहरुको नामले नै यसभित्र रहेका महŒवपूर्ण कुराहरुले पाठकहरुलाई आकर्षित गर्दछ । पुस्तकको आवरण आकर्षक चित्रमा भगवान् बुद्धको सुन्दर मूर्तिको साथमा चिवर वस्त्र पहिरणमा १४ जना भिक्खुहरु रहेका छन् । जुन त्यहाँ मुनिविहारमा थाइलैँडका १९ औं संघराजका सचिव भिक्षुवर बरदेवसारदेवी (पुञ्जयन्त पुञ्जावामो) को अगुवाइमा सीमा सम्मुतिविधि गर्नको लागि भिक्षु महानुभावहरु हुनुहुन्छ । उक्त तस्बिर भक्तपुरको मुनि विहार अन्तर्गत उपोसथागार मन्दिरमा भगवान बुद्धको सुन्दर मूर्ति रहेको छ । मुनि विहार (श्री धम्र्म उत्तम महाविहार)को परिचयात्मक विवरणले त्यस विहारको बारे राम्रो जानकारी पाठकहरुलाई दिनेछ ।
२०८३ वैशाख १८, बुद्ध पूर्णिमा
 

Comments