सम्पदा यात्रा सम्पन्न


जेठ ३, २०८३, आइतबार | विहान ०७:१५ बजे | 150


सम्पदा यात्रा सम्पन्न

भक्तपुरको ऐतिहासिक कला, संस्कृति र रैथाने उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिद्वारा संयुक्त रूपमा सञ्चालित ‘गो लोकल अभियान र टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सन्ध्याकालीन सम्पदा यात्रा (Evening Heritage Walk) सम्पन्न भएको छ।

 भक्तपुर दरबार स्क्वायर बाट सुरु भएको उक्त सन्ध्याकालीन सम्पदा यात्रा प्रसिद्ध तलेजु भवानी मन्दिर, पाँचतले मन्दिर स्थित टौमढी क्षेत्र, दत्तात्रय, र नवदुर्गा पीठ हुँदै अगाडि बढेको थियो। यात्राका क्रममा सहभागीहरूलाई भक्तपुरको सांस्कृतिक र ऐतिहासिक महत्त्वका बारेमा जानकारी गराइएको थियो।

भक्तपुरका मठमन्दिर र ऐतिहासिक धरोहरहरू मात्र यहाँका सम्पदा होइनन्, यहाँका परम्परागत उद्योगहरू पनि जीवन्त सम्पदा हुन् भन्ने सन्देश दिने उद्देश्यले यो यात्राको आयोजना गरिएको हो। यी रैथाने उद्योगहरूलाई संरक्षण गर्दै दिगो पर्यटनसँग जोड्नु अभियानको मुख्य लक्ष्य रहेको छ।तसर्थ यस पटकको सम्पदा यात्रा केवल सांस्कृतिक स्थलहरूमा मात्र सीमित नरही भक्तपुरका रैथाने पहिचान र परम्परागत उद्योगहरूलाई जीवन्तता दिने उद्देश्यले यात्राको मार्गमा पर्ने भक्तपुरको पहिचान बोकेका झ्याल, ढोका र काठका बुट्टाहरू कुँद्ने परम्परागत काष्ठकला उद्योग, भादगाउँले कालो टोपी उत्पादन हुने उद्योग, चिउरा (बजि), चामल र पिठो उत्पादन गर्ने पुरानो उद्योग लगायत विभिन्न स्थानीय उद्योगहरूको समेत प्रत्यक्ष भ्रमण गराइएको थियो।

विभिन्न सम्पदा र उद्योगहरूको भ्रमण पश्चात् उक्त यात्रा 'ख्वप छेँ' मा पुगेर औपचारिक रूपमा समापन गरियो। सो अवसरमा सहभागीहरूले सम्पदा यात्राका दौरान आफूले सँगालेका रोचक र ज्ञानवर्धक अनुभवहरू समेत आपसमा साटासाट गरेका थिए। यस्ता रचनात्मक र चेतनामूलक सम्पदा यात्राले भक्तपुरको पर्यटनलाई नयाँ उचाइ दिने र आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि भक्तपुरलाई झनै आकर्षक गन्तव्य बनाई स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने र परम्परागत सीपलाई नयाँ पुस्तासँग जोड्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा सम्पदा यात्रा गराउनुको उद्देश्यबारे गो लोकल कार्यक्रमका सह सयोजक रामसुन्दर भेलेले जानकारी गराउनु भएको थियो भने सम्पदा यात्रा सहभागी सम्पुर्णमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहभागिताको लागि अनुरोध गर्नुभयो भने सम्पदा यात्राको सहजीकरण भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश राज शर्माले गर्नुभएको थियो ।

 

 

 

Comments