भोलिदेखि अँचा पोखरी मेला, आज सरसफाई


जेठ २, २०८३, शनिबार | विहान ०७:१७ बजे | 45


भोलिदेखि अँचा पोखरी मेला, आज सरसफाई


भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ६ महाकालीस्थित अँचा पोखरी (ख्यपुचा) मा तीन वर्षमा एकचोटी लाग्ने मेला यो वर्ष हुन लागेको छ । जेठ ३ गते आइतबारदेखि ऐतिहासिक पुरुषोत्तम मेला (मनमासको मेला) हुन लागेको हो 
महाकाली क्षेत्र संरक्षण समितिले शुक्रबार यहाँं पत्रकार सम्मेलन गरीे धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको मेलाले स्थानीय कला, संस्कृति, परम्परा तथा धार्मिक आस्थाको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष डा. हरिराम सुवालका अनुसार मेलाको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय व्यवसाय, कला र संस्कृतिलाई प्रोत्साहन गर्नु रहेको छ । मेलामा सहभागी हुने श्रद्धालु भक्तजनहरूको धार्मिक आस्था र परम्परालाई संरक्षण गर्दै मस्त्येनारायण भगवानप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
मेलामा विभिन्न धार्मिक पूजा–आजा, भजनकीर्तन, कथा वाचन, हामो दान तथा ढलं निर्माणजस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । मेलालाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारिएको समितिले जनाएको छ ।
मेला व्यवस्थापनका लागि कर्ण अवालको नेतृत्वमा व्यवस्थापन उपसमिति, भीमलाल सुवालको नेतृत्वमा आर्थिक संकलन उपसमिति, पुण्यराम सुवालको नेतृत्वमा भजन व्यवस्थापन उपसमिति तथा सुरेन्द्र दुवालको नेतृत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । त्यसैगरी गहना व्यवस्थापनको जिम्मेवारी जगनाथ सुजखुलाई दिइएको छ । कथा वाचन, हामो दान तथा ढलं निर्माणको कार्य सुराजन शर्माबाट हुने जनाइएको छ ।
मेलाको सुरक्षा र स्वास्थ्य व्यवस्थापनका लागि ख्वप अस्पताल तथा स्थानीय प्रहरी चौकीसँग समन्वय गरिएको छ । मेलामा श्रद्धालु व्यवस्थापनका लागि रमेश सितिखुको नेतृत्वमा स्काउटका स्वयंसेवक परिचालन गरिने बताइएको छ ।
समितिले विगतका मेलाबाट उठेको रकम पारदर्शी रूपमा सार्वजनिक गरिएको जानकारी गराइएको छ । अँचा पोखरी क्षेत्रमा निर्माण हुन लागेको ख्वप आदर निकेतन भवनका लागि भक्तपुर नगरपालिका लाई १७ लाख रुपैयाँ सहयोग गरिएको जनाएको पत्रकार सम्मेलनमा दिइयो । साथै महाकाली भोजस्थलमा ट्रस निर्माणका लागि करिब १७ लाख रुपैयाँ खर्च भइसकेको जानकारी पनि दिइएको छ ।
हाल महाकाली पीठ क्षेत्रमा धल्लु व्यवस्थापन, भोजस्थलमा स्टोर, मञ्च तथा दुईतले शौचालय निर्माणको प्रशासनिक प्रक्रिया अघि बढिरहेको समितिले जनाएको छ । साथै अँचा पोखरी जाने ओरालो सडक ढलानको काम समेत हाल जारी राखेको छ ।
समितिले पुरुषोत्तम मेलालाई सभ्य, भव्य र सफल बनाउन स्थानीयवासी, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरूको सक्रिय सहयोग र सहभागिताको अपेक्षा गरेको छ । भक्तपुर नगरमा मात्रै सानाठूला गरी ३४ पोखरीहरु छन् । तर यीमध्ये यो पोखरीमा मात्रै यस्तो मेला लाग्ने गरेको जनाइएको छ ।
 

फाेटाेमा हेर्नुहाेस्...

भोलिदेखि अँचा पोखरी मेला, आज सरसफाई

Comments