पर्सि भक्तपुरमा नवप्रवर्तन उद्यमी विकास सम्मेलन हुने
जेठ १, २०८३, शुक्रबार | राति १०:०९ बजे | 45
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गतको युवा उद्यमी उपसमितिको आयोजना एवं बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि, तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको सहयोगमा “स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३” सञ्चालन हुने भएको छ । सम्मेलन मिति ३ गते आइतबार भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकास्थित क्लब बागमतीमा सम्पन्न हुनेछ ।
संघले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा जनाइए अनुसार उक्त सम्मेलनमार्फत नेपालमा स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिको विकास, युवा उद्यमशीलतालाई प्रवद्र्धन, लगानी तथा बजार पहुँच विस्तार, नीति समन्वय तथा नवप्रवर्तनमैत्री वातावरण निर्माण गर्ने लक्ष्य छ । कार्यक्रममा करिब ३०० देखि ५०० जनासम्मको सहभागिता रहने अपेक्षा छ ।
सम्मेलनअन्तर्गत प्यानल डिस्कसन, फाउन्डर स्टोरी सेसन, स्टार्टअप प्रदर्शनी तथा पिच डेक सेसन आयोजना गरिने संघका अध्यक्ष कृष्णमुरारी न्यौपानले जनाए । कार्यक्रममा उद्यमी, लगानीकर्ता, नीति निर्माता तथा नवप्रवर्तन क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहनेछ । प्यानल डिस्कसनमा सुबास शर्मा, विनायक शाह, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल वक्ताको रुपमा रहनेछन् भने सुगारिका केसी मोडरेटरको रुपमा रहने छिन् । त्यसैगरी, फाउन्डर स्टोरी सेसनअन्तर्गत सफल उद्यमीहरुले आफ्नो उद्यम यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरु साझा गर्नेछन् । उक्त सेसनमा सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायष्थ, केश्मा थापा रहनेछन् ।
सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुहरूको प्रदर्शनीसमेत रहने मेला संयोजक कीर्तन अवालले जनाए । कार्यक्रममा भक्तपुर, काठमाडौं, ललितपुर तथा काभ्रे जिल्लाका स्टार्टअप, उद्यमी, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, निजी क्षेत्र, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्मेलनले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीको वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । कार्यक्रमलाई सफल बनाउन सञ्चारमाध्यमहरूको महत्वपूर्ण भूमिका रहने भएकाले सम्पूर्ण सञ्चारकर्मी, पत्रकार तथा सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरिएको छ ।
