एक दिने कब/ब्राउनी स्काउट भेला सम्पन्न


बैशाख २७, २०८३, आइतबार | राति ०७:१८ बजे | 85


एक दिने कब/ब्राउनी स्काउट भेला सम्पन्न

स्थानिय स्काउट कार्यालय सूर्यविनायकको आयोजनामा एक दिने कब/ब्राउनी स्काउट भेला भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। बालबालिकामा अनुशासन, नेतृत्व, सेवा भावना तथा सहकार्यको विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ४ वटा स्काउट प्याकबाट ४४ जना कुब/ब्राउनी स्काउट तथा ८ जना स्काउटरहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश स्काउटका प्रमुख आयुक्त शिव कुमार त्वायनाले स्काउट भेलाले बालबालिकामा असल संस्कार, आत्मनिर्भरता र समाजसेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँले स्काउट गतिविधिले बालबालिकालाई व्यवहारिक शिक्षा प्रदान गर्दै जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उल्लेख गर्नुभयो। साथै, उहाँले कुब/ब्राउनी तहबाटै अनुशासन, सहयोग र “Do Your Best” को भावना विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष रबिन्द्र सापकोटा को विशेष आतिथ्यता रहेको थियो। उहाँले समुदायमा स्काउटको भूमिका प्रशंसनीय रहेको बताउँदै बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, स्थानीय तहले सकारात्मक तथा सिर्जनात्मक बाल गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय आयुक्त कृष्मा थोकरको सभापतित्वमा सम्पन्न कार्यक्रम कार्य समिति सदस्य जीवन सुवाल को संयोजकत्वमा सञ्चालन गरिएको थियो। कार्यक्रमलाई व्यवस्थित, शिक्षामूलक तथा मनोरञ्जनात्मक बनाउन विभिन्न सिर्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो। भेलामा सहभागी कुब/ब्राउनी स्काउटहरूलाई स्काउट आदर्श, नियम, प्रतिज्ञा, समूहगत कार्य, अनुशासन तथा नेतृत्व विकाससम्बन्धी अभ्यास गराइएको थियो। साथै, खेलकुद, गीत, साहसिक खेल, मनोरञ्जनात्मक अभ्यास, टोलीगत प्रतिस्पर्धा, Good Turn गतिविधि तथा सिर्जनात्मक प्रस्तुतिहरू सञ्चालन गरिएको थियो। बालबालिकाहरूले समूहमा काम गर्ने सीप, आत्मविश्वास तथा सहयोगी भावना विकास गर्ने अवसर प्राप्त गरेका थिए। कार्यक्रममा सहभागी स्काउटरहरूले पनि बालमैत्री सिकाइ, खेल विधिबाट नेतृत्व विकास तथा व्यवहारिक स्काउटिङ गतिविधिबारे अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रम अवधिभर उत्साह, अनुशासन तथा मित्रताको वातावरण देखिएको थियो। आयोजकका अनुसार यस्ता भेलाले बालबालिकामा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व, सेवा भावना तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा वृहत् रूपमा स्काउट गतिविधि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

एक दिने कब/ब्राउनी स्काउट भेला सम्पन्न
एक दिने कब/ब्राउनी स्काउट भेला सम्पन्न

Comments