न्याय एक दिन सफल हुनेछ
बैशाख २६, २०८३, शनिबार | विहान ०९:१२ बजे | 70
कुमार लघु, भक्तपुर
ठूला–ठूला कमिशन खाने, घुस लिने र भ्रष्टाचार गर्नेहरूलाई एक दिन कानुनको कठघरामा उभिनै पर्ने समय आउँछ। देशलाई स्वार्थका लागि बेच्ने र जनताको विश्वासमाथि खेलबाड गर्नेहरू अन्ततः सजायबाट उम्कन सक्दैनन्। संसारका धेरै देशमा उच्च पदमा बसेकाहरू समेत कानुनी कारबाहीमा परेका उदाहरण छन्। त्यसैले अन्याय, अनियमितता र भ्रष्टाचार गर्ने जो–कोहीलाई निष्पक्ष रूपमा कारबाही हुनुपर्छ।
हामी सबैले कमी–कमजोरीबाट टाढा रहनुपर्छ। घुस नखाने, कमिशन नलिने र भ्रष्टाचार नगर्ने संस्कार विकास गर्नुपर्छ। कानुनअनुसार आफ्नो कर्तव्यमा इमानदारीपूर्वक लाग्नु नै असल नागरिकको पहिचान हो। लोभ, छल र बेइमानीले क्षणिक लाभ दिए पनि अन्ततः त्यसले जीवनभर पीडा र पश्चाताप मात्र दिन्छ। मानिस असल सेवा र सकारात्मक कर्मका लागि जन्मिएको हो, गलत बाटोमा हिँड्नका लागि होइन।
समाजमा राम्रो सोच, सत्कर्म र उदाहरणीय व्यवहार आवश्यक छ। मेहनतको कमाइ नै सबैभन्दा ठूलो सम्पत्ति हो। गलत कार्य गर्ने व्यक्ति एक दिन समय र कानुनको घेरामा अवश्य पर्छ। न्यायको व्यवस्था नै समाजलाई सभ्य र व्यवस्थित बनाउने आधार हो। कसैले अन्याय वा बेनियमित कार्य गरे ढिलो वा चाँडो त्यसको परिणाम भोग्नैपर्छ। जनताको आँखा र चेतना धेरै शक्तिशाली हुन्छन्, कुनै पनि अनियमितता सधैं लुकाएर राख्न सकिँदैन।
नेपाललाई सुन्दर र समृद्ध बनाउने जिम्मेवारी सबैको हो। राज्यका उच्च पदमा बसेका व्यक्ति, जनप्रतिनिधि, कर्मचारी वा जो–कोहीले आर्थिक अनियमितता गरेमा कानुनी दायरामा ल्याइनुपर्छ। कानुनलाई कमजोर बनाउने होइन, सबल र समान रूपमा लागू गरिनुपर्छ। कानुन साना–ठूला सबैका लागि बराबर हुन सके मात्र समाज सही दिशामा अघि बढ्छ।
गलत काम गर्नेहरूलाई कानुनले सचेत गराएर सही बाटोमा ल्याउनुपर्छ। नागरिकले पनि कुनै काम गर्नु अघि कानुनी जानकारी लिनु आवश्यक छ। समाजमा स्वार्थभन्दा निस्वार्थ भावनाले काम गर्ने संस्कार विकास हुनुपर्छ। धन र सुविधाको लोभमा गलत बाटो रोज्नेहरू अन्ततः कानुनी सजायका भागीदार बन्न सक्छन्।
कानुनको ज्ञान प्रत्येक नागरिकमा केही न केही हुनुपर्छ। गलत काम नगर्ने, सत्य र इमानदारीको बाटोमा हिँड्ने हो भने परिवार, समाज र देश सबै सुखी हुन्छन्। देशलाई भ्रष्टाचारमुक्त, न्यायपूर्ण र सभ्य बनाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका खेल्न आवश्यक छ।
देशलाई ऋण, भ्रष्टाचार र बेइमानीतर्फ धकेल्नेहरूलाई जनताले एक दिन अवश्य जवाफदेही बनाउनेछन्। यदि भ्रष्टाचार, घुसखोरी र विदेशी शक्तिसँग कमिशन खाने प्रवृत्तिमाथि कडा कानुन लागू गर्न सकियो भने देशले स्वच्छ र स्वस्थ भविष्य पाउनेछ। अहिलेको आवश्यकता भनेकै न्याय, सुशासन र इमानदार नेतृत्व हो।
धन्यवाद।
२०८३/०१/२६ गते, भक्तपुर
